आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण
काठमाडौँ, वैशाख ८ । आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज "लु" लाग्नेदेखि हिमपातसम्मकाे माैसमी प्रक्षेपण रहेकाे छ ।
मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यकामा तापक्रम वृद्धि भई तातो दिनको अनुभूति हुने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर "लु" (हिटवेभ) चल्न सक्ने चेतावनीसमेत दिइएको छ।
विभागले तातो मौसमका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा हिमाली क्षेत्रमा हुने सम्भावित वर्षा/हिमपातबाट बच्न सम्बन्धित क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
यस्तै, आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने कोशी प्रदेशसहित पहाडी तथा तराईका केही भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने सम्भावना छ।
आज दिउँसो हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम खालको वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। यसले उच्च हिमाली भेगमा बसोबास गर्ने तथा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भू-भागमा मौसम प्रायः सफा रहने विभागले जनाएको छ। यद्यपि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment