छ राजनीतिक दलका घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक, सुझाव आह्वान
काठमाडौं, वैशाख २ । सरकारले प्रतिनिधिसभा निर्वाचन २०८२ मा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतापत्रका आधारमा तयार गरिएको “राष्ट्रिय प्रतिबद्धता”को मस्यौदा सार्वजनिक गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले आफ्नो वेबसाइटमार्फत उक्त मस्यौदा सार्वजनिक गर्दै सम्बन्धित राजनीतिक दलहरूबाट २०८३ बैशाख १० गतेभित्र राय तथा सुझाव माग गरेको हो।
सरकारले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलहरूको चुनावी प्रतिबद्धतामा आधारित भई साझा राष्ट्रिय एजेन्डा निर्माण गर्ने उद्देश्यले उक्त मस्यौदा तयार पारेको जनाएको छ।
मस्यौदामा समावेश “राष्ट्रिय प्रतिबद्धता” करिब १८ बुँदामा तयार गरिएको छ, जसमा आर्थिक स्थायित्व, कृषि आत्मनिर्भरता, ऊर्जा विकास, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय, जलवायु परिवर्तन, विपद, प्रविधि तथा कूटनीति लगायतका विषय समेटिएका छन्।
सरकारका अनुसार निर्वाचनमार्फत अभिव्यक्त जनमतलाई संस्थागत गर्दै सबै दलको साझा स्वामित्वमा कार्यान्वयनयोग्य नीति तयार पार्ने उद्देश्यले यस्तो “राष्ट्रिय प्रतिबद्धता” अवधारणा अघि सारिएको हो।
२०८२ को निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दलले राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका थिए।
सरकारले उक्त मस्यौदालाई आगामी नीति तथा कार्यक्रम, बजेट र सुधार एजेन्डासँग आबद्ध गरी कार्यान्वयन गर्ने तयारीसमेत गरेको जनाएको छ।
सम्बन्धित राजनीतिक दलहरूले दिएको सुझावका आधारमा मस्यौदालाई परिमार्जन गरी अन्तिम रूप दिइने बताइएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment