पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, कार्तिक १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सुनसरी र मोरङ जिल्लामा रियाज क्यानिङ एन्ड कम्पनी प्रालिलाई जग्गाको हदबन्दीभन्दा बढी जग्गा राख्न पाउने गरी छुट दिइएको तथा सर्तविपरीत निजी प्रयोजनमा प्रयोग गरिएको र विभिन्न व्यक्तिका नाममा खरिद बिक्रीसमेत गरी भ्रष्टाचार गरिएको आरोप छ।
मुद्दामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री, मन्त्रिपरिषद्का सदस्य तथा सामाजिक समितिका संयोजक डा. मिनिन्द्रप्रसाद रिजालसहित २७ जनालाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर कायम गरी ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।
साथै, उक्त बिगो असुलउपर गर्न, बिगो बराबरको जरिवाना गर्न तथा सोही ऐनको दफा १९ को उपदफा (२) र दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी गरिएको आयोगले जनाएको छ।
आयोगले मुद्दा विशेष अदालतमा दायर गरेको जानकारी सार्वजनिक गर्दै आरोपपत्रसम्बन्धी विस्तृत विवरण पहिलो कमेन्टमा राखेको जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment