मोहनी नखःको नःलास्वां
नेवारका प्रमुख चाडमा एउटा मोहनी पनि हो । गैर नेवारमा प्रचलित दशैं र मोहनीबीचको भिन्नता छुट्याउन नसकेर कतिपय यी दुई एउटै भएको र भाषा मात्रै फरक भनेर बुझ्छन् तर यसले सांस्कृतिक ज्ञानको अभाव जनाउँछ । जसरी मोहनी र दशैं एउटै होइन, त्यसरी नै दशैंको जमरा र मोहनीको नःलास्वां पनि उस्तोउस्तै देखिएपनि उही होइन । दशैंका लागि कौलाथ्व पारु (असोज शक्ल प्रतिपदा) दिन घटस्थापना गरिनुकासाथै जमरा रोप्ने गरिन्छ भने ठिक यही दिन नेवारहरु नःला स्वनेगु कार्य गर्दछन् । नेवारमा घटस्थापना गर्ने चलन छैन र मौलिक रुपमा नेवारको धार्मिक तथा सांस्कृतिक अभ्यासमा यसको प्रयोजन पनि हुन्न तर हिजोआज देखासिकीमा यसको प्रचलन सुरु भएको पाइन्छ ।
नःला र जमरा उही होइन भने के हो त ? यसका लागि प्रयोग हुने बीज एउटै हो तर अर्थमा पाइने भिन्नताले नःलास्वां र जमराको विशिष्टता जनाउँछ । यस लेखमा नःलासम्बन्धी चर्चा गरिन्छ ।
नेवार समुदायको मोहनी नखःको नःलास्वांको परम्परा, प्रयोग दशैंको जमरासँग झट्ट हेर्दा समानता देखिन्छ र त्यही भएर मान्छेहरु धेरै जसो झुक्किने हो । शूक्ष्म रुपमा हेर्दा भने महत्वपूर्ण भिन्नता भेटिन्छ । विशेषतः नेवार समुदायको ‘नःला स्वां’ लाई सामान्य जमराको रुपमा मात्र बुझ्दा यसको विशिष्ट धार्मिक, सांस्कृतिक तथा तान्त्रिक पक्ष ओझेलमा पर्न सक्छ ।
नःला स्वां र जमरा वनस्पतिका दृष्टिले एउटै प्रकृतिका वस्तु हुन् । तर तिनलाई रोप्ने विधि, पूजा गर्ने परम्परा, धार्मिक अर्थ र सामाजिक प्रयोगका आधारमा तुलना गर्दा केही भिन्नता देखिएको हो । दशैंमा मुख्यतः देवी दुर्गाको पूजाआराधना हुख्छ । यही भएर दशैंलाई हिन्दू चाडपर्व भन्ने गरिएको हो । तर नेवारको मोहनीमा देवी दुर्गाको नभई अजिमाको साधना गरिन्छ । देवी दुर्गा र अजिमा उही होइन । अझ बज्रयानी बौद्धहरुले त अजिमाका साथै चक्रसम्बरलगायतको पनि पूजा गर्ने गर्दछन् । यस अर्थमा नेवारका लागि मोहनी कुनै धर्मविशेषको चाड नभएर एउटा परम्परागत संस्कृति हो, तन्त्रमा आधारित हुन्छ र नेवारहरुले परम्परागत रुपमा साझा पर्वको रुपमा लिन्छ । यस अवस्थामा नःला स्वांको प्रयोजन जमराभन्दा फरक पर्न स्वाभाविक हो ।
पारुको दिन विहान नदीबाट बालुवा लाई त्यसमा रातो माटो मिसाएर आगं कोठामा राखिन्छ । र, त्यसैमा नःला स्वनेगु कार्य गरिन्छ । ‘नःला स्वनेगु’को अर्थ नःलाको लागि तछ्व (जौ) र कःनि (मकै)लाई बालुवा तथा माटोमा रोप्ने हो । झट्ट हेर्दा दशैंको जमरा रोप्ने कार्यसँग सदृष्य राख्छ तर विधिविधान फरक हुन्छ । दशैंमा जमरा राख्ने परम्परा र नेवार समुदायको मोहनी नखःमा जमरा राखिने विधि तथा त्यसको सांस्कृतिक अर्थबीच समानता पनि छ र महत्त्वपूर्ण भिन्नता पनि छन् । विशेषतः नेवार समुदायको नःला स्वाँ (नःला स्वां) लाई सामान्य जमराको अर्को नाम मात्र मानेर बुझ्दा यसको विशिष्ट धार्मिक, सांस्कृतिक तथा तान्त्रिक पक्ष ओझेलमा पर्न सक्छ । ‘नःला’ वा जमरा फूल नै त होइन तर नेवारमा ‘नःला स्वां’ भनेर स्पष्ट शब्दमा फूल नै भएको पाइन्छ ।
नेवार समुदायमा मोहनीका लागि नःला स्वां रोप्दा कुलदेवता वा अजिमाको आह्वान गरी तान्त्रिक विधिअनुसार पूजा गरिन्छ । यस क्रममा कलश स्थापना, सुकुन्दा बाल्ने, धूपदीप तथा समयबजी चढाउनेजस्ता अभ्यास पनि पाइन्छन् । यो नितान्त रुपमा तान्त्रिक पूजाविधि हो । यी विधि सबै नेवार परिवारमा ठ्याक्कै एउटै हुन्छन् भन्ने होइन । परिवारको धार्मिक परम्परा, कुलाचार, स्थान र सम्प्रदायअनुसार फरक पर्न सक्छन् ।
हिन्दू दशैंको प्रचलित व्याख्यामा जमरालाई देवी दुर्गाको प्रसाद तथा विजयको प्रतीकका रूपमा लिइन्छ । नेवार समुदायमा भने ‘नःला स्वां’लाई मोहनी नखःको समग्र धार्मिक संस्कारभित्र राखेर बुझ्नुपर्छ । यसमा कुलदेवता वा अजिमाको आराधना, तान्त्रिक पूजाविधि र परिवारको परम्पराअनुसार गरिने अनुष्ठानको भूमिका हुन्छ ।
सामान्य हिन्दू दशैंमा विजयादशमीको दिन ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा महत्त्वपूर्ण हुन्छ । नेवार समुदायको मोहनी नखःमा पनि परिवारका सदस्यहरूबीच आशीर्वाद आदानप्रदान हुन्छ । तर यसलाई टीका र जमरामा मात्र सीमित गरेर बुझ्न मिल्दैन । मोहनी नखःमा कुलपरम्परा, परिवारको धार्मिक संरचना, विभिन्न दिनमा गरिने पूजा र सामुदायिक संस्कारको पनि महत्व हुन्छ । त्यसैले जमरा र नःला स्वाँको सामाजिक प्रयोगमा समानता भए पनि तिनको स्थान पर्वको फराकिलो संरचनाभित्र फरक हुन सक्छ ।
सांस्कृतिक दृष्टिले जमरा नेपालका विभिन्न समुदायले आआफ्नो परम्पराअनुसार ग्रहण गरेको सांस्कृतिक प्रतीक हो । तर नःला स्वां भने नेवार समुदायको नेपालभाषा, धार्मिक शब्दावली, कुलाचार र मोहनी नखःसँग गाँसिएको परम्परागत अभ्यास हो । यस अर्थमा नःला स्वाँलाई सामान्य जमराको स्थानीय नाम मात्र भन्नु अपूरो हुन्छ । वनस्पतिका रूपमा समानता भए पनि सांस्कृतिक अर्थ बुझ्न त्यसलाई रोप्ने, पूजा गर्ने र सामाजिक जीवनमा प्रयोग गर्ने समग्र परम्परा अध्ययन गर्नुपर्छ ।
जमराको प्रयोजन घरपरिवारमा मात्रै नभएर टिका लगाउन आउने आफन्त तथा साथीभाईका लागि पनि हुन्छ । तर नेवारमा नःलास्वां घर परिवारमा मात्रै सीमित हुन्छ । दशैंमा टिका लगाउने र मोहनीमा चालं क्वकायेगु दुई फरक कार्य हो । दशैंका अवसरमा दुर्गाको पूजा गरी प्रसादका रुपमा जमरा दिइन्छ । टिका थाप्न आउने सबैलाई टिका लगाएर यही जमरा दिने गरिन्छ । तर मोहनीमा दुर्गाको पूजा हुँदैन बरु शक्ति साधनाको अन्य अभ्यास गरिन्छ । यो पूजा नवमीको विहान सुरु हुन्छ भने दशमीको दिन ‘चालं क्वकायेगु’ भनी त्यसको विसर्जन गरिन्छ । ‘चालं क्वचायेगु’ गर्दा मुख्यतः ध्वाँसोबाट बनाइएको कालो टिकालाई बाहिर ल्याउने हो र टिका भनेर निधारमा त्यही टिका लगाउने हो । हिजोआज अबीरसहितको अक्षताको टिका पनि लगाउने गरिन्छ । रातो र सेतो क्वखा पनि गलामा लगाइन्छ । यही बेला फूलको रुपमा नःलास्वां दिइने हो । यति भएपछि समेबजि खानुका साथै मोहनीको अनुभव गर्ने हो । यति बेला घरबाहिरका सदस्यहरु सम्मिलित हुँदैन । नेवारमा टिका थाप्न आउने भन्ने हुँदैन तर छोरीबेटी तथा नाताकुटुम्बलाई पाहाँ ब्वनेगु भनेर बोलाएर भोज खुवाउने चलन भने छ । आमन्त्रण नगरी कोही पाहाँ (पाहुना) बन्न आउँदैन । यसरी पाहाँ बन्न आउनेहरुलाई टिका लगाइदिने चलन नेवार समाजमा नभएपनि हिजोआज वाह्य प्रभावमा टिका लगाइदिने तथा दक्षिणा दिने चलन भने सुरु भएको पाइन्छ । यति फरकपनाले पनि नःलास्वां र जमराबीचको तात्विक भिन्नता छुटिन्छ । यही भएर नेवार घरमा धेरै मात्रामा नःला स्वां रोप्नुपर्ने आवश्यकता हुँदैन ।
मोहनी सकिएपछि नःलास्वां उमारिएको बालुवा तथा माटो घरको पिखालखुमा राख्न लैजान्छ । यसरी पिखालखुमा काटिसकेको नःलास्वांसहित बालुवा र माटो राख्नुको अर्थ हो, मोहनी सकियो । तर मोहनीको सम्बन्ध तिहारमा लक्ष्मीपूजाको बिसर्जनसम्म रहिनै रहन्छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment