२६ असोज २०८३, सोमबार

बुढीगण्डकी बाढीले दुई झोलुङ्गे पुलसहित घर र सडकमा क्षति, पाँच जना सम्पर्कविहीन


अ
अ+
अ-

काठमाडौं, असोज २५। गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदीमा आएको बाढीले दुई झोलुङ्गे पुलसहित घर, सडक र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उर्लुङका दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान आएको बाढीले नदी किनारका बस्तीमा क्षति पुर्‍याएको हो। घटनापछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै खोज तथा उद्धार कार्य अघि बढाइएको छ।
प्राधिकरणका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र बाढी पूर्वानुमान महाशाखाबाट बिहान ६ बजे बाढीको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनका
बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो। प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई पनि परिचालनका लागि सूचना दिएको छ।
प्राधिकरणमा बिहान ६ः३० बजेदेखि कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेर बाढीको अवस्था विश्लेषण, सूचना सम्प्रेषण र उद्धारका लागि सम्बन्धित निकायबीच समन्वय गरिएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित छन्। नेपाली सेनाका चारवटा हेलिकोप्टर खोज तथा उद्धारका लागि परिचालन गरिएको र हालसम्म सेनाको हेलिकोप्टरबाट ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको प्राधिकरणले जनाएको छ। सडक तथा हेलिबाट अत्यावश्यक राहत सामग्री ढुवानी गरिएको छ।
घटनाको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको तीन जनाको टोली परिचालन गरिएको छ। सडक सञ्चालन र बेलिब्रिज निर्माणको
सम्भाव्यता अध्ययनका लागि सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका टोली पनि खटिएका छन्। गोरखा, लमजुङ र तनहुँका जिल्ला द्रुत प्रतिकार्य टोली तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ।
बाढीले पुल, घर र सडकमा क्षति
प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ।
गोरखा धार्चे गाउँपालिका–४ माछिखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचना र वरपर रहेका सातदेखि आठवटा घर बगाएको विवरणमा उल्लेख छ।
आरुघाट गाउँपालिका–१ नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुलको तीन भागमध्ये गोरखातर्फको एक भागमा क्षति पुगेको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा २० देखि २२ घर जोखिममा परेका छन्।
आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सीमामा फलामे पक्की पुल बनाइएको छ। बुढीगण्डकीको मुख्य क्याम्प क्षेत्रमा रहेका केही निर्माण उपकरणमा पनि क्षति पुगेको छ। यसका साथै दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत् पोलमा क्षति भएको प्राधिकरणले जनाएको छ।
बुढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल र सडकबाट आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पालना गर्न प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले आइतबार सार्वजनिक गरेको प्रेस नोटमा क्षतिको विवरण प्रारम्भिक रहेको जनाइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री सम्मान प्रदान

वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री सम्मान प्रदान

वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री सम्मान प्रदान...

बुढीगण्डकी बाढीबाट ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौं ल्याइयो

बुढीगण्डकी बाढीबाट ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौं ल्याइयो

बुढीगण्डकी बाढीबाट ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौं ल्याइयो...

बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान

बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान

बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान...

बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान

बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान

बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान...

बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो

बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो

बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो...

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्