नेवाःले नेवारलाई गाली गर्न थालेपछि
कतिपय नेवारलाई के लाग्छ भने, आफूहरू नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर नेवारले नेवाः नामलाई बिगारेर र हेपेर नेवार भनिदिएको हो । यसरी नै बिगारेर न्यार पनि भनिदिएको हो । यसै सन्दर्भमा एक नेवारले त यतिसम्म पनि भन्न भ्याए, ‘‘आफैले आफैलाई नेवार भनी नेवाः समुदायको बेइज्जत गर्ने नेवारहरुलाई धिक्कार । हामी त नेवाः । खयँचाहरुले हेपेर भन्नु शब्द हो नेवार न्यार ।’’
विश्वमा भएका र चलनचल्तीबाट हराइसकेका सबै भाषाहरूको स्वभाव एउटै हुनुपर्छ भन्ने अनिवार्य छैन । भाषाको स्वभाव सँधै एउटै रहँदैन पनि । यो परिवर्तनशील हुन्छ । नेवारको नेपालभाषा पनि यसको अपवाद होइन । यत्ति कुरा मनमा राख्न सक्ने हो भने नेवाः र नेवारको सकस हुँदैनथ्यो ।
नेवारलाई जसरी नेवाः भनिन्छ, त्यसरी नै पसललाई पसः भनिएको हो । यसरी नै झ्याललाई झ्याः, ल्हातलाई ल्हाः, कपाललाई कपाः, आदि । यहाँ विसर्ग चिन्हको प्रयोग भएको छ । यस्तो प्रयोग हिजोआज मात्रै हुन थालेको हो । यसको प्रयोग गर्ने कि नगर्ने भन्ने प्रश्न वा विवाद आफ्नो ठाउँमा छ । म विसर्ग चिन्ह प्रयोग गर्नुपर्छ भन्ने पक्षमा छु । विसर्गप्रति आपत्ती हो भने यसको सट्टा कुनै अर्को चिन्ह प्रयोग गर्नुपर्दछ । होइन भने लेख्य परम्परामा अलमल पार्ने हुन्छ । यो चिन्हले गर्ने संकेत हो, बोलचालमा त्यो शब्द प्रयोग गरेपनि त्यही पूर्ण शब्द होइन, एउटा अक्षर लुकेर रहेको छ । उदाहरणका लागि पसः शब्दमा विसर्ग हुनुको अर्थ हो, ल अक्षर लुकेको छ र त्यसको पूर्ण शब्द पसल हो । अन्य शब्दहरू पनि यस्तै हाे । नेपालभाषा ह्रस्वमय भाषा हो तर बोलिचालीमा दीर्घ देखिए पनि ह्रस्व नै प्रयोग भइरहेको हुन्छ ।
पसः शब्दकै प्रयोगलाई उदाहरणको रुपमा लिऔं । सामान कहाँ छ ? भन्ने अर्थमा "गन दु ?" भनेर सोध्दा "सामान पसलय् दु" भन्नु पर्ने हुन्छ । यसरी नै सामान कहाँबाट ल्याएको भन्ने अर्थमा "गनं हयागु ?" भनेर सोध्दा "पसलं हयागु" भन्नु पर्ने हुन्छ । व्याकरणअनुसार तृतीया विभक्तिका रुपमा "पसलं" भनेर पसलको "ल"माथि शीरबिन्दूको प्रयोग भएको छ र सप्तमी विभक्तिका रुपमा पसलको लपछि "य्" प्रयाेग भएको छ । विभक्तिका रूपमा प्रयोगमा आएका शीरबिन्दू र हलन्तसहितको य् दुई चिन्ह हटाएपछि बाँकी रहन्छ, पसल, पसः होइन । यही क्रम झ्यालं र झ्यालय् हुन्छ, चिन्ह हटाएपछि झ्याल रहन्छ । बाँकी रहेको झ्याल नेपालभाषाको मूल शब्द हो भने बोलिचालीको क्रममा छोट्याएर झ्या भनेको मात्रै हो, प्रयोगको क्रममा झ्याल नै प्रयोग हुन्छ ।
‘नेवाः’ पनि पूर्ण शब्द होइन । यसको पूर्ण रूप ‘नेवाल’ हो । ‘ल’ र ‘र’मा भेद छैन । त्यसैले ‘नेवार’ पनि हुन्छ । नेवाः, नेवाल र नेवार उही एउटै शब्दको तीन रूप मात्रै हो । यसलाइ अझ राम्रोसँग प्रष्ट्याउन "नेपाल" शब्दलाई उदाहरणका रूपमा लिन सकिन्छ । नेपाललाई नेवारहरू ‘नेपाः’ मात्रै भन्छन् । पसलबाट र पसलमा भनेजस्तै नेपाललाई चलाउँदा "नेपालं" र ‘नेपालय्’ प्रयोग हुन्छ । यसमा प्रयुक्त शीरबिन्दू र हलन्त य झिक्दा बाँकी रहन्छ, नेपाल । अर्थात् ‘नेपाल’ पूर्ण शब्द हो । नेपाः भन्नु र नेपाल भन्नु उही हो । कतिपय नेवार "नेवाः" र "नेवार"मा अलमलिएजस्तै नेपाः र नेपालमा अलमलिएको पाइन्छ । जसरी "ल" र "र" मा भेद छैन, त्यसरी नै "प" र "व"मा भेद छैन अर्थात् "नेवाल" र "नेवार"मा भेद नभएजस्तै ‘नेवार’ र ‘नेपाल’ मा भेद छैन । नेपाल शब्दले भाैगोलिक क्षेत्रलाई मात्र जनाउँदैन, नेपाली भनेजस्तै जनसमुदायलाई पनि जनाउँछ । प्राचीन शिलालेखहरुमा ‘स्वस्ति नैपालभ्यः’ भनेर नेपालहरूको कुशल मंगलको कामना गरेको छ । ती नेपालहरु भनेका नेवारहरु, हिजोआजको भाषामा नेवाःहरु हुन् ।
नेवार होइन, नेवाः भन्नुपर्छ भन्ने आग्रह राखी टिप्पणी गर्ने ‘नेवाः’को बुझाईअनुसार नेवारलाई नेवाः भनेर नेवाः समुदायको बेइज्जत गरेको मान्नु भ्रमवश अनाहकमा गरेको हिनताबोध मात्रै हो । उनै टिप्पणीकर्ताका अनुसार नेवार भन्ने गैरनेवाःहरु खयँचाहरु हुन् । खयँचा शब्दको शुद्ध हिज्जे ‘खय्चा’ हुन्छ । खश वा खस समुदायलाई नेवारकरण गरेर बोल्दा वा लेख्दा ‘खय्’ हुन्छ (खय् को पूर्ण शब्द खस वा खश नै हुन्छ । य् प्रयोगमा पनि अक्षर लुकेको हुन्छ) । ‘चा’ को प्रयोग बडो अनौठो छ, हेपेर बोल्ने वा अत्यन्तै माया र आत्मियता दर्साएर बोल्ने बेलामा ‘चा’ प्रयोग हुनेगरेको पाइन्छ, आसय र सन्दर्भ बुझ्न सकिएन भने उल्टो पनि पर्नसक्छ । यहाँ हेपेको भनेर आक्रोश व्यक्त गर्ने क्रममा प्रयोग भएको छ । तर नेवार भनेर हेपेको होइन, नेवाः र नेवार उही हो भनेर बुझ्नु पर्दछ ।
Comments (1)
Write a Comment