‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौं, कात्तिक ९ । नेपाल मौसम विज्ञान विभागबाट जारी मनसुनसम्बन्धी विशेष बुलेटिनअनुसार बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना छ। उक्त चक्रवात आगामी कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्ने सम्भावना रहेको र त्यसको प्रभावले नेपालमा पनि मौसम प्रभावित हुन सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बंगालको खाडीमा विकसित भइरहेको शक्तिशाली चक्रवातका कारण नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागबाट जारी मनसुनसम्बन्धी विशेष बुलेटिनअनुसार बंगालको खाडीमा रहेको ‘अनर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना छ। उक्त चक्रवात आगामी कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्ने सम्भावना रहेको र त्यसको प्रभावले नेपालमा पनि मौसम प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार कात्तिक १२ गते बिहीबार रातिदेखि सुरु हुने वर्षाको प्रभाव विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार बढी देखिन सक्छ। कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन तथा पूर्वतयारीका काम गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
यसैबीच, केन्द्रीय विपद् प्रतिकार्य कमाण्ड पोष्ट र ७७ वटै जिल्लाका जिल्ला विपद् प्रतिकार्य कमाण्ड पोष्टबीच बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीले नेपालमा पार्ने प्रभाव, रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रियाको प्रगतिलगायतका विषयमा छलफल भएको छ।
भर्चुअल माध्यमबाट भएको छलफलका अध्यक्ष डा. उप्रेतीले उच्च सतर्कता अपनाउनका लागि प्राधिकरण र सम्बन्धित निकायबाट जारी भएका पूर्वानुमान/पूर्वसूचना/चेतावनीलाई कडाइपूर्वक पालना गर्ने, गराउने विषयमा सबै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।
प्राधिकरणले जोखिमबाट बच्न निम्न सावधानी अपनाउन आग्रह गरेको छ।
कृषि कार्य रोक्न आग्रह: धानबाली काट्ने, भित्र्याउनेलगायतका कृषि कार्य कात्तिक १२ गते बिहीबारदेखि अगावै सक्न र सम्भव नभए वर्षाको समयमा नगर्न अनुरोध गरिएको छ।
पर्यटकलाई सतर्कता: उच्च पहाडी तथा हिमाली क्षेत्रमा नगई, गइसकेका पर्यटक सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
यात्रा स्थगित गर्न सुझाव: आवश्यक परेमा बाहेक सवारी आवागमन बन्द गर्न तथा सम्भव भएसम्म यात्रा नगर्न अनुरोध गरिएको छ। सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।
पूर्वतयारीमा रहन निर्देशन: संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलगायत सबै सरोकारवाला निकायलाई आम नागरिकलाई जोखिमबारे जानकारी गराउन र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न आग्रह: जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई पूर्वसूचना र चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अनुरोध गरिएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment