भोटेकोशीमा बाढीको बहाव बढेको आवाज सुनिएको सूचना, रसुवा–नुवाकोट–धादिङमा सतर्कता
काठमाडौं, भदौ १४। रसुवास्थित भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको सूचना प्राप्त भएपछि नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का कार्यकारी प्रमुख धर्मराज उप्रेतीले सामाजिक सञ्जालमार्फत भदौ १४ गते बिहान ४ः३१ बजे जिल्ला प्रहरी कार्यालय रसुवाबाट भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएको जानकारी दिएका छन्।
उक्त सूचनालाई आधार मानी हाललाई रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ।
प्राधिकरणले घटनाबारे थप पुष्टि हुनासाथ आवश्यक सूचना तथा अपडेट सार्वजनिक गर्दै जाने जनाएको छ।
यसैबीच, सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार, तटीय बस्ती तथा नदी आसपासका क्षेत्रमा रहेका नागरिकलाई अनावश्यक रूपमा नदीतर्फ नजान, सुरक्षित स्थानमा रहन र आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरिएको छ।
सूचना एनडीआरआरएमए, बाढी पूर्वानुमान महाशाखा, नेपाल प्रहरी तथा नेपाली सेनालगायत सम्बन्धित निकायको समन्वयमा जारी गरिएको हो।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment