जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो
काठमाडौं, भदाै ८ । नेपाल सरकारको निर्णयअनुसार हालै स्थापना भएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र (सीएचडब्लूआरआर) ले औपचारिक रूपमा आफ्नो कार्य प्रारम्भ गरेको छ। केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक तथा उप–कार्यकारी निर्देशकलाई जिम्मेवारी प्रदान गर्दै केन्द्रले जलविज्ञान तथा जलस्रोत अनुसन्धान र सेवाको नयाँ यात्राको शुभारम्भ गरेको हो।
नेपालको जलसम्पदा, जलविज्ञान, जलजन्य विपद् जोखिम, पूर्वानुमान तथा पूर्वसूचना प्रणाली र जलवायु परिवर्तनबाट सिर्जित चुनौतीलाई वैज्ञानिक, तथ्यमा आधारित र एकीकृत रूपमा सम्बोधन गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो।
केन्द्रलाई आगामी दिनमा जलविज्ञान तथा जलस्रोत अनुसन्धान तथा सेवाका क्षेत्रमा उत्कृष्ट केन्द्र (Centre of Excellence) का रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। यसका लागि वैज्ञानिक अनुसन्धान, तथ्य तथा प्रमाणमा आधारित अध्ययन र जलस्रोतसम्बन्धी सेवाको विस्तारलाई प्राथमिकतामा राखिने जनाइएको छ।
नेपालमा बाढी, पहिरो, डुबानलगायत जलजन्य विपद्को जोखिम बढ्दै गएको तथा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र व्यवस्थापनमा नयाँ चुनौती थपिँदै गएको अवस्थामा केन्द्रको स्थापनालाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
केन्द्रले आगामी दिनमा सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था, विकास साझेदार, स्थानीय समुदाय, मित्रराष्ट्र तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने जनाएको छ। सहकार्य र साझेदारीमार्फत जलविज्ञान तथा जलस्रोतसम्बन्धी अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै त्यसबाट प्राप्त ज्ञान र तथ्यलाई नीति निर्माण तथा व्यवहारमा उपयोग गर्ने लक्ष्य केन्द्रको रहेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment