एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
काठमाडौं, असार ३२ । जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण आगामी एक सातासम्म नेपालका अधिकांश क्षेत्रमा वर्षा सक्रिय रहने पूर्वानुमान गरेको छ।
महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम बुलेटिनअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्व क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले वर्षाको क्रम अझ बढ्ने सम्भावना रहेको जनाएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
मौसमविद् धर्मराज उप्रेतीका अनुसार अहिले विकसित प्रणालीको मुख्य प्रभाव साउन २ गते शनिबार साँझदेखि ५ गते मंगलबारसम्म बढी देखिनेछ। यस अवधिमा विशेषगरी मध्य पहाडी क्षेत्रमा राम्रो वर्षा हुने सम्भावना छ भने मधेस प्रदेशको जनकपुर आसपासका क्षेत्रमा तुलनात्मक रूपमा हल्का वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाले कोशी र बागमती प्रदेशका हिमाली भूभाग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यसबाट गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागका पछिल्ला सूचनाहरू नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।
कृषि क्षेत्रका लागि भने आगामी एक साताको वर्षा अनुकूल हुने देखिएको छ। हालसम्म देशभर करिब ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको अवस्थामा बाँकी रोपाइँका लागि यो अवधि उपयुक्त हुने मौसमविद् उप्रेतीले बताएका छन्।
यसैबीच, बिहीबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा तीन घण्टामा ४९ मिलिमिटर वर्षा हुँदा क्षेत्र जलमग्न भएको छ। कार्यालय छुट्ने समय, डुबानमा परेकाे बाटाेका कारण पैदल यात्रु तथा दुई पाङ्ग्रे सवारी साधनमा सवार व्यक्तिहरूले निकै असहजपूर्ण यात्रा गरेका थिए । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा सोही अवधिमा ७० मिलिमिटर वर्षा मापन भएको छ, जुन भारी वर्षाको नजिकको अवस्था हो। लमजुङको लुम्ले क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी साताभर वर्षाको गतिविधि निरन्तर रहने भएकाले विशेषगरी विपद्को उच्च जोखिम भएका क्षेत्रमा पूर्वतयारी, सतर्कता र आवश्यक सावधानी अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।
फाेटाे: धरमराज उप्रेतीकाे फेसबुकबाट
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment