गृहमन्त्रीको सवारीबाटै कालो स्टिकर हटाइयो, देशभर अभियान प्रभावकारी बनाइने
काठमाडौं, असार १५ । सरकारले सवारी साधनमा जडान गरिएका गैरकानुनी कालो स्टिकर (टिन्टेड ग्लास) हटाउने अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न थालेको छ। अभियानको सुरुआतस्वरूप गृहमन्त्री र गृहसचिवले प्रयोग गर्ने सरकारी सवारीबाट कालो स्टिकर हटाइएको छ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार विद्यमान कानुनी व्यवस्थाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य कुनै पनि विशिष्ट व्यक्ति तथा सर्वसाधारणले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ बमोजिम तोकिएका सर्त पूरा गरी नियमानुसार धरौटी राखेर अधिकतम २० प्रतिशतसम्म मात्र टिन्टेड ग्लास प्रयोग गर्न पाउने व्यवस्था छ।
यही कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि गृहमन्त्रीको अग्रसरतामा कालो स्टिकर हटाउने अभियान सुरु गरिएको र त्यसअन्तर्गत गृहमन्त्री तथा गृहसचिवको सवारी साधनमा जडान गरिएको कालो स्टिकर हटाइएको ट्राफिक महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अभियानको मुख्य उद्देश्य कालो शिसा तथा कालो स्टिकरको दुरुपयोगबाट हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्नु हो। कालो स्टिकरका कारण अवैध कारोबार, फरार अपराधीको आवागमन, हतियार ओसारपसार तथा शङ्कास्पद व्यक्तिको पहिचान गर्न कठिन हुने भएकाले यस्ता जोखिम न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको जनाएको छ।
महानगरीय ट्राफिक महाशाखाले सबै सवारीधनीलाई कानुनबमोजिमको मापदण्ड पालना गर्न तथा गैरकानुनी रूपमा जडान गरिएका कालो स्टिकर हटाउन आग्रह गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment