२५ कार्तिक २०८३, बुधबार

एकै दिनमा सकिन्न नेवारको लक्ष्मी पूजा


अ
अ+
अ-

प्रत्येक तिहारमा एउटा आकर्षण लक्ष्मी पूजा हुन्छ । यसलाई यमपञ्चक पनि भनिन्छ र पाँच दिनको तिहार भनिन्छ । तर नेवार संस्कृतिमा यमपञ्चकबारे खासै चासो हुँदैन र तीन दिन मात्र मनाइन्छ । यी तीन दिनको सांस्कृतिक पर्वलाई स्वन्ति भनिन्छ । स्वन्तिमा पहिलो दिन लक्ष्मीपूजा, दोस्रो दिन म्ह पूजा र चौधा दिन किजापूजा । अन्य समुदायमा लक्ष्मी पूजा सोही दिन सम्पन्न हुन्छ तर नेवारमा भने त्यही दिन सम्पन्न हुँदैन, अलि लम्बिन्छ । लक्ष्मी पूजाको दिन थापना गरेर चौथो दिन मात्रै विसर्जन गरिन्छ । तसर्थ अन्य समुदायको भन्दा नेवार समुदायको लक्ष्मी पूजा अलि फरक हुन्छ । लक्ष्मीपूजा मात्रै नभएर तिहार र स्वन्तिलाई एउटै आँखाले हेर्ने तथा सतहमा केही समानता देखेकै भरमा उही हो भनेर व्याख्या दिन हतार गर्नु हुँदैन । 

भारतमा त्यौहार र नेपालको पहाडी भेगमा तिहार नामबाट प्रचलित पर्व नै नेवारको स्वन्ति भनेर बुझ्नु आफूमात्रै झुक्किने होइन कि त्यसरी बुझाउनु अरुलाई पनि झुक्याउनु हो । जसरी दशैं वा दशहराको समयमा नेवारहरू बेग्लै पाराले मोहनी नखः मनाइरहेका हुन्छन् त्यसरी नै दिवाली वा तिहारको बेला पनि नेवारहरू बेग्लै पाराले स्वन्ति नखः मनाइरहेका हुन्छन् । 

लक्ष्मी भनेर जसलाई पूजा गरिन्छ, त्यस लक्ष्मीका सम्बन्धमा बहुआयामिक दृष्टिकोण अपनाउन सकिएन भने कुरा अलमलिने संभावना अधिक हुन्छ । लक्ष्मी एउटै छैनन् । नेवारले स्वन्तिमा पूजा गर्ने लक्ष्मीको नाम धनलक्ष्मी र महालक्ष्मी हो । तान्त्रिक पद्दतिबाट लक्ष्मीको पूजा गर्नुपर्ने नेवारहरूले महालक्ष्मीको पूजा गर्ने हुन् । यसरी नै बौद्धहरू धनलक्ष्मीको पूजा गर्दछन् । धनलक्ष्मी बसुन्धराको स्वरूप हो । यसलाई अझ सरल रूपमा बुझाउनु पर्दा नेवारहरूले बसुन्धरादेवीसित सम्बन्धित तीन वटा पर्व मनाउँछन् । बसुन्धरादेवी को हुन् ? भन्ने प्रश्न पनि उठ्छ । बसुन्धरा रत्नसम्भव कुलबाट आएकी देवी हुन् र यिनको तीन वटा स्वरूप रहेको पाइन्छ । यिनलाई धन, धान्य र भूमिकी बोधिसत्वका रूपमा लिने गरिन्छ । धन, धान्य र भूमि प्रदायकका रूपमा लिइने यी देवीलाई विभिन्न अवसर विशेषमा पूजा गर्ने चलन छ । यसअनुसार स्वन्ति नखःको सुरुवात धनलक्ष्मीको पूजाबाट हुन्छ । यो आश्विन कृष्ण औंसीका दिन पर्दछ । यसरी नै मार्ग शुक्ल पूर्णिमाका दिन बसुन्धराकै अर्को रूप धान्यलक्ष्मीको पूजा गरिन्छ । तेस्रो पल्ट गुँलाको समाप्तीपछि वसुन्धराको पूजा गरेर गातिला व्रत बसिन्छ । यो वसुन्धरा देवीकै व्रत हो । प्राचीन नेवार समाजमा बर्षभरिमा बेग्लाबेग्लै १६ लक्ष्मीको पूजा गर्ने चलन थियो । प्रत्येक महिना दुई जना लक्ष्मीको पूजा गर्ने उक्त चलन अहिले हराएको छ । 

लक्ष्मीलाई बहुआयामिक रूपमा बुझ्नुपर्ने हुन्छ । लक्ष्मीको पूजा बौद्ध तथा नेवार दुबै धर्मावलम्बी नेवारका लागि अत्यन्तै महत्वपूर्ण देवी हुन् । स्वन्तिमा नेवार समाजमा पुजिने लक्ष्मी (धनलक्ष्मी) तथा महालक्ष्मी अन्य हिन्दू समाजमा पुजिने लक्ष्मीभन्दा धेरै मात्रामा फरक रहेको पाइन्छ । एउटै होइनन् । तसर्थ एउटै लक्ष्मी भनेर बुझ्न भ्रममा पर्नु हो । हिन्दु परम्परामा देवी लक्ष्मी विष्णु भगवानकी धर्मपत्नी हुन् । उनको प्रतिमा लक्षण नै फरक पाइन्छ । यी लक्ष्मी माथिल्ला दुई हातले पुष्प समाइ रहेकी र तल्ला दुई हातमध्ये दायाँ हात अभयमुद्रा वा वरदमुद्रामा हुन्छिन् । यसरी नै बाँया हातले धनको वर्षा गरिरहेको चित्रण गरिन्छ । कुनै चित्रमा दायाँ बायाँ हात्तीले जलाभिषेक गरिरहेको हुन्छ र हात्तीद्वारा जलाभिषेक गराइरहेकी लक्ष्मीलाई गजलक्ष्मी भनिन्छ । हात्तीले जलाभिषेक गराइरहेको दृष्य नभएको लक्ष्मीको पनि प्रयोग हुने गरेको पाइन्छ । तसर्थ नेवारबाहेकका हिन्दूहरूले यस दिन आफूअनुकुल फरक फरक लक्ष्मीको पूजा गर्ने हुन् भन्न सकिन्छ । तर यो स्पष्ट छ, यी लक्ष्मी सात्विक हुन्छिन् र माछामासुजस्ता खाद्यवस्तुले पूजा गरिन्न । तर नेवार समाजमा स्वन्ति पर्वमा पूजा गरिने धनलक्ष्मीको प्रतिमा लक्षण बेग्लै हुन्छन् । यिनको पनि चार हात त हुन्छ तर सिंहासनमा अर्धपर्यङ्काशनमा विराजमान हुन्छिन् । यो वसुन्धराको आशन हो । यो आर्यताराको पनि आशन हो । माथिल्ला दुई हातमध्ये दायाँ हातले सामान्यतः ‘ज्वला न्हायकं’  (नेवार समाजमा प्रचलित ऐन) समाइ रहेकी हुन्छिन भने बाँया हातले ‘सिन्हःमू’ (टिका थाली) समाइरहेकी हुन्छिन् । यसरी नै तल्ला दुई हातमध्ये दायाँ हात वरद मुद्रामा र बाँया हात अभयमुद्रामा हुन्छिन् । साथै, लक्ष्मीको चित्रसँगै कुबेर, ख्याः, आदिको पनि चित्रण गरिएको हुन्छ । वसुन्धरालाई महालक्ष्मीका रूपमा कारण्डव्यूह वा गुणकारण्डव्यूहमा उल्लेख गरिएको पाइन्छ । उक्त सुत्रअनुसार वसुन्धरालाई बोधिसत्व आर्यावलोकितेश्वरले ‘तपाई लक्ष्मी, श्री महादेवी, माहेश्वरी र वसुन्धरा हुनुहुन्छ । तपाईं सबै सम्पद सुख र उत्साह दिइरहने हुनुहुन्छ । सदा जगतलाई धर्मदान गरेर धर्ममा प्रतिस्थापति गरेर पालन गरिरहनुहोस्’’ भनेको पाइन्छ । 

लक्ष्मी पूजाको दिन नेवार समाजमा विहानै घर अगाडि पिखालखुमा लिपपोट गरेर रातो मातोले मण्डप बनाई घरको धुकुतिसम्म तानिन्छ । पिखालखुमा मण्डप बनाउनुको अर्थ लक्ष्मीलाई स्वागत गर्न हो भने धुकितिसम्म सोही रातो माटोले तान्नुको अर्थ आदरसम्मानका साथ बाटो बनाउनु हो । धुकुतिमा धनलक्ष्मीको तस्वीर राखी त्यस अगाडि फलफूल तथा अन्य पूजा सामग्री राखिन्छ । 

नेवार समाजमा लक्ष्मी पूजाको सम्बन्ध दशैंसँग जोडिएको पाइन्छ । दशैंको बेला जुन पशु वा पंक्षीको बली चढाइन्छ, त्यसको एक टुक्रा मासु लक्ष्मीका लागि भनेर छुट्याइएको हुन्छ । अर्थात् लक्ष्मी पूजामा दशैंको मासु पनि राखिन्छ । दशैंमा पशुबली नचढ्ने घरमा भने यो हुँदैन । घरमा रहेका पुराना सिक्काहरू पनि यसै अवसरमा पूजा गर्न लक्ष्मीको तस्वीरसँगै राखिन्छन् । लक्ष्मी पूजा एकै दिनमा सम्पन्न हुँदैन । नेवारहरू भोलिपल्ट म्हपूजा गर्दछन् । सोही अनुसार लक्ष्मीको पनि म्हपूजा गरिदिन्छन् । तेस्रो दिनमा किजापूजा भनेर अर्को पूजा सम्पन्न हुन्छ भने चौथो दिन विहान मात्र लक्ष्मी पूजाको विसर्जन गरिन्छ । 

लक्ष्मीपूजाको विसर्जनलाई ‘लक्ष्मीद्यः क्वकायेगु’ भनिन्छ । ‘लक्ष्मीद्यः क्वकायेगु’ भनेर विसर्जन गरी चढाइएका फलफूल तथा खाद्य सामग्रीहरू प्रसादको रूपमा ग्रहण गरिन्छन् । यो प्रसाद ग्रहण गर्नका लागि विवाह गरी गइसकेका छोरीबेटीहरूलाई पाहुना डाक्नुपर्ने चलन रहेको छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

मेगु पोस्त: बसन्त महर्जन

छिं लेखकाः मेगु लेख
देशकै पहिचान नेपाल संवत्

देशकै पहिचान नेपाल संवत्

राष्ट्रिय मान्यताप्राप्त नेपाल संवत् विश्वमा प्रचलनमा रहेका......

संयुक्त राष्ट्र संघमा नेपाल सम्बत

संयुक्त राष्ट्र संघमा नेपाल सम्बत

संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा नेपाल सम्बत ? नेपाल सम्बतअनुसार......

लक्ष्मी पूजाकी लक्ष्मी मायादेवी होइनन्

लक्ष्मी पूजाकी लक्ष्मी मायादेवी होइनन्

लक्ष्मी हिन्दू धर्ममा एक देवी हुन् र समाजमा उनको महत्व ठूलै रहेको मानिन्छ ।......

अहिंसाको कुरा र बुद्धको शिक्षा

अहिंसाको कुरा र बुद्धको शिक्षा

बुद्ध जन्मेको देश हुँदैमा देशवासीको मनमस्तिष्कमा बुद्ध शिक्षा स्वतः घुसेको हुँदैन । बुद्ध अनेक विधि उपाय अपनाएर मान्छेको...

मोहनी नखःको नःलास्वां 

मोहनी नखःको नःलास्वां 

जसरी मोहनी र दशैं एउटै होइन, त्यसरी नै दशैंको जमरा र मोहनीको नःलास्वां पनि उस्तोउस्तै देखिएपनि उही होइन  ।...

नेवार, नेपाल र नेपालमण्डल

नेवार, नेपाल र नेपालमण्डल

‘नेवार’का सम्बन्धमा कुरा गर्दा ‘नेपाल’ को कुरा स्वभावतः आउँछ नै । साथसाथै ‘नेपालमण्डल’ को सन्दर्भ पनि आइरहेको हुन्छ । कत...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्