बैठक नीति तथा कार्यक्रमकाे, कुरा प्रधानमन्त्री बालेनकाे
काठमाडौं, वैशाख २९ । भदौको जेनजेड आन्दोलन, फागुनको चुनावपछि आएको बालेन सरकारबाट प्रस्तुत पहिलो नीति तथा कार्यक्रमले इतिहासको क्रमभंग गर्ने अपेक्षा धेरैको थियो ।यद्यपि, नीति तथा कार्यक्रममा भएका अधिकांश कुरालाई पनि प्रधानमन्त्री बालेन शाहकाे हिजोको संसदमा देखिएका गतिविधिले छाेप्याे ।
हिजोको संसदमा नीति तथा कार्यक्रम त सर्वसम्मत रूपमा पारित भयाे तर अधिकांशलाई प्रधानमन्त्रीले संसद छाेडेर हिडेकाे तथा आैपचारिक पाेसाक नलगाएकाे कुराले पछ्याई रह्याे । राष्ट्रपति रामचन्द्र पाैडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेकै अवस्थामा प्रधानमन्त्री संसद हलबाट बाहिरिएपछि धेरै अवाक भएका थिए ।
अर्काे, संसदमा प्रधानमन्त्रीहरू उपस्थित हुँदा अनिवार्य रूपमा आैपचारिक पाेसाक लगाउने चलन संसदकाे मर्यादा तथा परम्परा मानिन्छ । लुगा लवाइमा बेवास्ता गर्ने खालका देखिंदैन प्रधानमन्त्री बालेन तर उनकाे हिजाेकाे पाेसाकले धेरैकाे आँखालाई बिझायाे ।
निर्वाचनको घोषणापत्रदेखि नै १०० बुँदाप्रति मोह देखाएको सरकारले नीति तथा कार्यक्रम पनि १०० बुँदे नै ल्याएकाे छ, जसको विषयवस्तुमा सुधारका कुनै ठूला एजेन्डा देखिएनन् । तर, राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गर्दै गर्दा प्रधानमन्त्रीले देखाएको व्यवहार भने इतिहासमा अरु कसैले देखाउने भन्दा भिन्न थियो ।
उनी बीचमै संसदको बैठक छोडेर हिँड्दा संसद र राष्ट्रपतिको मात्रै होइन, सरकारकै सबैभन्दा ठूलो नीतिगत दस्तावेज ‘नीति तथा कार्यक्रम’कै अपमान भएको जानकार तथा विश्लेषकहरु बताउँछन् । हुनत याे घटनालाई छाेप्न प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार असिम शाहकाे प्रधानमन्त्रीलाई स्वास्थ्य समस्या भएकाे फेसबुक स्टाटस आयाे तर त्याे स्टाटस पनि धेरै समय नटिकेपछि उक्त घटनालाई आआफ्नो तरीकाले बुझ्ने र ब्याख्या गर्ने क्रम छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पहिलो बुँदामा ‘संविधान संशोधन बहस पत्र’ तयार गरिने घोषणा गरिएको छ । सरकारले चालु आर्थिक वर्षमा नै संविधान संशोधनको बहसपत्र तयार गर्नका लागि एउटा कार्यदल बनाएर काम गरिरहेको छ ।
सुशासनलाई समृद्ध नेपालको आधारशीलाका रुपमा ग्रहण गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने घोषणा पनि पहिलो बुँदामा गरिएको छ । यस्तै, आर्थिक सुशासन, उद्यमशीलता, पर्यटनलगायतका थुप्रै विषयवस्तु समेटिएको नीति तथा कार्यक्रमका बारेमा भाेलि ३० गते प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सांसदहरूकाे प्रश्नको जवाफ दिने बताइएको छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment