एनडिआरआरएमएकाे कार्यकारी प्रमुखमा डा. धरमराज उप्रेती नियुक्त
काठमाडौं, साउन ८ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ( एनडिआरआरएमए ) को कार्यकारी प्रमुखमा डा. धरमराज उप्रेती नियुक्त भएका छन्।
विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशीलता (क्लाइमेट रेसिलेन्स ) तथा विपद् व्यवस्थापनको क्षेत्रमा लामो अनुभव हासिल गरेका उप्रेतीको नियुक्तिलाई प्राधिकरणमा व्यावसायिक र अनुभवी नेतृत्वको आगमनका रूपमा हेरिएको छ।
प्राधिकरणका अनुसार नवनियुक्त कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले आज कार्यभार सम्हालेका छन् ।
जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १ सय ८८ घरधुरीको पुनर्निर्माण प्रक्रिया शुरु गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गर्दै डा. उप्रेतीले आज पदभार ग्रहण गरेका छन् ।
२०८३ साउन ६ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. उप्रेतीलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो।
उप्रेती यसअघि प्राक्टिकल एक्शनकाे दक्षिण एशिया क्षेत्रीय कार्यालयमा एसिया लिड–क्लाइमेट रेजिलिएन्स एन्ड डिजास्टर रिस्क रिडक्सन (Asia Lead – Climate Resilience and Disaster Risk Reduction) का रूपमा कार्यरत थिए। उनले नेपालसहित दक्षिण एशियाका विभिन्न देशमा जलवायु परिवर्तनका असर न्यूनीकरण, समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन, नीति निर्माण तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
दुई दशकभन्दा बढी समयदेखि विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनका क्षेत्रमा सक्रिय उप्रेतीले सरकारी निकाय, अन्तर्राष्ट्रिय विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय तथा गैरसरकारी संस्थासँग सहकार्य गर्दै नीति निर्माण, कार्यक्रम कार्यान्वयन र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका छन्।
उनलाई विपद् जोखिम न्यूनीकरणलाई दिगो विकाससँग जोड्ने, समुदायको उत्थानशीलता बढाउने, पूर्वसूचना प्रणाली सुदृढ गर्ने, जलवायु अनुकूलनलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीय समन्वयलाई प्रभावकारी बनाउने विज्ञका रूपमा चिनिन्छ। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालका अनुभव प्रस्तुत गर्दै विपद् व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धी नीति बहसमा सक्रिय भूमिका खेल्दै आएका छन्।
नेपालमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, डढेलो लगायतका विपद्का जोखिम बढिरहेका बेला उप्रेतीको नेतृत्वले प्राधिकरणलाई अझ प्रभावकारी, वैज्ञानिक र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ। विशेषगरी जोखिम न्यूनीकरण, पूर्वतयारी, विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई थप सुदृढ बनाउन उनको अनुभव उपयोगी हुने विश्वास गरिएको छ।
विपद् व्यवस्थापन क्षेत्रका जानकारहरूले उप्रेतीको नियुक्तिले विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमबीच समन्वय बढाउने, संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने तथा प्राधिकरणको संस्थागत क्षमता सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार स्थापित प्राधिकरणले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यको समन्वय र नेतृत्व गर्दै आएको छ। नयाँ कार्यकारी प्रमुखका रूपमा उप्रेतीले प्राधिकरणलाई थप प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment