भुईं मान्छेका सुखदुःख


अ
अ+
अ-

सूर्यप्रसाद लाकोजू भन्ने बित्तिकै धेरैको स्मृतिमा एउटा भद्र, गम्भीर र कल्पनाशील अनुहार प्रकट हुन्छ ! उनी के हुन् भन्दा पनि के होइनन् भन्ने सवालको जवाफ खोज्नु पर्ने हुन्छ पहिले ! उनले मुक्तक लेखे, उनी मुक्तककार हुन् ! उनले साह्रै स्वादिला कविता लेखे, उनी कवि हुन् ! साहित्यिक पत्रिका प्रकाशन गरेर सयौं नव लेखकहरुलाई पाठक माझ पुर्याउँछन्, उनी कुशल सम्पादक हुन् ! आफ्ना कलमहरुलाई हाइकुमा कुदाए, उनी हाइजिन हुन् ! यात्रा संस्मरण लेखेर आफ्ना तमाम पाठकलाई आफूसँगै यात्रा गराए, उनी यात्रा संस्मरणकार हुन् ! संस्कृतिको जगेर्ना खातिर सांस्कृतिक लेख लेख्छन्, गतिविधि गर्छन्, संस्कृतिका संरक्षक हुन् ! साहित्यका ठूलाठूला कार्यक्रम आयोजना गर्छन्, साहित्यका अभियन्ता पनि हुन् ! विद्यालय सञ्चालन गरेर धेरै छात्रछात्राको जीवनमा शिक्षा र चेतनाको प्रकाश छर्दै आएका छन्, उनी प्राचार्य हुन् ! आखिर के होइनन् सूर्य ? एउटा व्यक्तिभित्र यतिका प्रतिभा र व्यक्तित्व विद्यमान रहनु चानचुने कुरा होइन !

काठमाडौं भन्दा केही पर संस्कृति र सभ्यताको संरक्षणमा रमाएको शुन्दर नगर पनौतीमा बसेर साहित्य सिर्जना मार्फत अग्लो उचाइ हासिल गरेका छन् उनलेे ! त्यसैले त उनलाई काठमाडौंबाट मात्रै होइन, सारा देशबाट मात्रै पनि होइन, परदेशबाट पनि प्रष्ट देख्न सकिन्छ ! उनलाई सजिलोसँग चिनिन्छ ! उनको यो पहिचान साहित्यले दिलाएको हो ! सम्पादन कला र सांस्कृतिक चेतनाले दिलाएको हो !

 सूर्यप्रसाद लाकोजुको अव अर्को पनि परिचय स्थापित भएको छ ! कथाकार परिचय ! कथाकार व्यक्तित्व ! उनलेे लेखेका ११ वटा कथाहरु एकै ठाउँ सङ्ग्रहित भएर आएका छन् " सत्याग्रह " मा ! यो उनको प्रथम सङ्ग्रह हो कथाको ! किताब पढिरहँदा कतै पनि प्रथम सङ्ग्रह जस्तो लाग्दैन ! कथाहरु अभ्यस्त कथाकारले लेखेका जस्ता छन् ! परिपाक पुगेका जस्ता ! पाठकलाई लठ्याउन सक्ने खालका ! पाठकलाई च्वास्स छुन्छन् कथाले ! कतै सोचमग्न बनाउँछन् पाठकलाई ! कतै द्रविभूत बनाउँछन ! त्यसैले यी कथाहरु कथाकारको भर्खरको सिकारु लेखाइका उपज हुन् जस्ता लाग्दैनन् !

यस सङ्ग्रहभित्रका कथाका शीर्षकहरु पनि सरल नै छन् ! जनजीवनमा भिजिसकेका शव्दहरु ! शव्दका अर्थ नबुझेर पाठकलाई कतै पनि शव्दकोश पल्टाइरहनु पर्दैन ! सरलताभित्र गम्भीर सन्देश र सन्दर्भहरु छन् ! सत्याग्रह, कमाल, अव्यक्त प्रेम, घडेरी, लाले, आमा, स्मृतिका, उद्धार, उपहार, बुनू र छबिलाल काका ! कथाकारले आफू वरिपरिका घटना र पात्रहरुलाई टपक्क टिपेर यथार्थपरक कथाहरू सिर्जना गरेका छन् ! सामाजिक यथार्थको सुनमा अलिअलि कल्पनाको जर्ति मिसाएर पठनीय कथाहरु लेखेका छन् !

सङ्ग्रहभित्रको पहिलो कथा हो - सत्याग्रह ! यसकी प्रमुख पात्र हुन् नसना ! प्रथम पुरुषवाचक शैलीमा कथा बुनिएको छ ! नसनाको आत्मकथन स्वरुप कथा अगाडि बढेको छ ! विद्यार्थी सङ्गठनमा आवद्ध बीस बर्षिया नारीमा स्वतन्त्रता र प्रजातन्त्रप्रति अगाध प्रेम छ ! उनका बाबु आमा छोरीको विहेका लागि आतुर छन् ! उनको विवाहको लागि केटाको कुरा लिएर आउने लमी पात्र हुन् राजकृष्ण काका ! सरिता नसनाकी मिल्ने साथी हुन् ! स्वार्थको कोट पहिरेको केटासँग उनको विवाहको कुरा अगाडि बढ्छ ! विवाहपछि पनि नसनाको अभियानमा सघाउँछु भनेर उनलाई आफूतिर आकर्षित गर्छ ! नसना पनि सुमनसँग विवाह गर्न राजी मात्रै हुन्नन्, जिन्दगीका मीठा मीठा सपना बुन्न थाल्छिन् ! सत्याग्रहको आन्दोलनमा होमिएकी नसना पक्राउ परी तीन महिनाका लागि थुनिएपछि केटापक्षले नसनासँगको विवाह रद्द गर्छन् ! अन्तमा विवाह तोडेको सुमनसँग नसनाको भेट हुँदा केटाले नजर उठाएर हेर्न नसकेको घटनाबाट कथा अन्त्य भएको छ ! यस कथामा छोरीको विवाह गरिदिन पाए ढुक्क हुन्थ्यो, बाबु आमाको कर्तव्य पुरा हुन्थ्यो भन्ने पुरातन सोचका बाबु आमा पात्र, स्वतन्त्रताप्रति समर्पित नारी पात्र नसना  र विवाहपछि सघाउँछु भनेर ठीक्क पार्ने, दु:ख पर्दा भाग्ने स्वार्थी पात्रको रुपमा सुमनलाई खडा गरेर कथाकारले शुन्दर कथा सिर्जना गरेका छन् !

सङ्ग्रहभित्रको दोस्रो कथा हो कमाल ! यस कथाको मुख्य पात्र कमाल हो ! कमालको चरित्र चित्रण राम्रो छ कथामा ! सानैमा बाबु आमा गुमाएको कमाल गाउँबाट बजारमा आएर साहुको रिक्सा चलाउँछ र भाइलाई पढाउँछ ! यदाकदा आफ्नो रिक्सामा म पात्रको सामान पुर्याउने काम गर्छ ! ज्यालामा मोलमोलाइ नगरी जति दियो त्यति हात थाप्छ ! उसको सङ्घर्षशील जीवन, उसको सरलता र उसलाई साहुले दिएको दु:ख थाहा पाएपछि ऊप्रति प्रभावित भएका म पात्रले उसलाई रिक्सा उपहार दिएको कथानक निर्माण गरेर कथाकारले कमालको सङ्घर्ष र म पात्रको मानवता देखाएर कथालाई नवीन र पठनीय बनाएका छन् !

तेस्रो कथा हो अव्यक्त प्रेम ! यो निकै उत्कृष्ट कथा हो ! बाल्यकालीन साथीहरू सुमन र तिमिला बालसुलभ मित्रतामा रमाउँदा रमाउँदै तिमीलाले सुमनलाई प्रेम गर्न थाल्छिन् ! दुबैले व्यक्त नगरेपनि दुबैको मनमा प्रेमको टुसा पलाउन थाल्छ ! विद्यालयको पढाइ पुरा गरी उच्च शिक्षाको लागि छुट्टिनु पर्दा भने बल्ल दुबैले प्रेमको अनुभूति गर्छन् ! सुमनलाई छाड्ने मन नभइनभइ तिमिला पढ्न शहर गएकी ! यता गाउँमा वाध्यतामा परेर सुमनले अर्कैसँग विवाह गरेको ! त्यो सुनेपछि तिमिला अगाडिको संसार नै अन्धकारमय भएको घटनाले पाठकको मनमा गहिरो छाप छोडेको छ ! कथाकारले पूर्णरुपमा नखुलाए पनि काजीबाले छोरीलाई पढाउन शहरमा राख्नु, यता गाउँमा सुमनको विवाह गराइदिने कपटपूर्ण कार्यले उनलेे छोरीलाई सुमनबाट छुट्याएको प्रष्ट हुन्छ ! दशैंमा घर जाने र सुमनलाई भेटेर मनभरिको प्रेम पोख्ने तिमीलाको सपना सुमनको पत्रले चकनाचुर बनाइदिएको छ कथामा !

अर्को कथा हो घडेरी ! यसमा पनि एउटा गरीब परिवारको मीठो कल्पना भत्केको कथा छ ! दु:खजिलो गरी किनेको घडेरीमा घर बनाएर सुखी जीवन बाँच्ने रामदास र उसकी श्रीमतीको सपना बाटो बिस्तार भएर पुरै घडेरी बाटोमा पर्न लागेको घटनाले दुवैलाई रातभर निद्रा लाग्दैन ! कसैले सहयोग गरे भने घडेरी बाँकी रहन्छ कि भन्ने आशा र घडेरी सकिन लागेको निराशाको अन्तर्द्वन्दले गर्दा एउटा गरीब परिवारमा कस्तो मानसिक घात पर्छ भन्ने कुरा देखाएका कारण यो सामाजिक यथार्थवादी कथा हो र यसले धेरै नेपाली परिवारको प्रतिनिधित्व गर्दछ !

लाले कथामा रामलाल अर्थात लालेको चरित्र चित्रणमा कथाकारले प्रशस्त ध्यान दिएको देखिन्छ ! घर घरमा काम सघाउँदै हिँड्ने लालेको जीवन संघर्षमय छ ! बलियो हुँदासम्म गाउँलेहरुले लालेलाई काममा दलाउनु दलाए ! बिरामी परेर उसको पाटीमा बास हुँदा उसलाई कसैले वास्ता गर्दैनन् ! एकदिन अचानक बेपत्ता भएको लालेलाई नजिकै बग्ने रोशीले आफ्नो अँगालोमा बेरेको कथा कारुणिक छ ! यो पनि जीबन्त कथा हो !

दुई भाइ छोराहरु हुँदा पनि कसैको हेरचाह नपाएकी लक्ष्मीको कथा हो आमा ! उपचार नपाएर घरमै मृत्युुवरण गरेको कारुणिक दृश्यले पाठकलाई भित्रसम्म छुन पुग्छ !

प्रेम र धोकाको कथा हो स्मृतिका ! यसमा पनि शुरुमा प्रेमभाव जगाएर अन्तमा चिठी लेख्दै प्रेमी पात्र गाउँ फर्केको कथाले पाठकलाई एकपटक सोचमग्न बनाउँछ !

बेरोजगारी समस्याको हल गर्न बैदेशिक रोजगारीका लागि मलेसिया पुगेको सुधिरले पाएको दुःखको कथा हो उद्धार ! यो कथाले पनि सामयिक समस्यालाई नै उजागर गरेको छ ! कतैबाट उद्धार नभएपछि समुद्रमा हेलिएको सुधिरको अवस्था अज्ञात रहेको देखाएर कथाको अन्त्य भएको छ !

जीवनमा बाबुको महत्त्व दर्शाएको भावनाप्रधान कथा हो उपहार ! परदेश गएका बाबुको घर फिर्तीको घटनाले सबै परिवारमा खुसी फर्किएको देखाएर एउटा मीठो कथाको सिर्जना भएको छ ! यस कथाले पाठकलाई दु:ख भए पनि परिवारमा सँगै बस्नुपर्छ भन्ने सन्देश दिएको छ !

बुनु शुन्दर कथानक भएको पारिवारिक कथा हो ! बनितालाई प्यारले बुनु भनिएको ! उनको वरिपरि कथानक घुमेका कारण कथा पठनीय छ ! प्रजातान्त्रिक आन्दोलनका मिहेनती अगुवा छविलाल काकाको चरित्र चित्रण पनि दमदार रहेको छ ! प्रजातन्त्र ल्याउन शहर गएका छविलाल काका देशमा प्रजातन्त्र आए पनि उनी गाउँ फर्केर नआएको घटनाक्रमबाट कथा समाप्त भएको छ ! यो पनि सफल कथाको सुचिमा पर्न सक्ने कथा हो !

 सूर्यप्रसाद लाकोजूको कथा सङ्ग्रह " सत्याग्रह " अहिले चलिरहेको कथा लेखनको धारभन्दा केही फरक रहेको सहजै महसुस गर्न सकिन्छ ! सामान्य र बौद्धिक दुबै प्रकारका पाठकलाई उत्तिकै छुन सक्ने कथाहरू हुन् यी ! सामान्य भन्दा सामान्य बिषयलाई पनि शुन्दर ढङ्गले कथामा खिपेका छन् उनलेे ! हुन त यी बिषयहरु नयाँ होइनन् तर पनि कथाकारको लेखन शिल्पका कारण हरेक कथाहरु पृथक र स्वादिला बनेका छन् ! कथाकारले सामयिक चेत र सामाजिक यथार्थवादी धरातललाई बलियोसँग पक्डेका छन् ! अनि कथाहरु कथाजस्ता लाग्छन् !

यति भन्दै गर्दा मनको एउटा भागबाट स्वभाविक रुपमा प्रश्न उठ्न सक्छ ! के यी कथाहरु सर्वगुण सम्पन्न छन् त ? के यी कथाहरुमा कुनै कमजोरी नै छैनन् त ? स्तरीयताको तुलोमा तौलँदा कति प्रतिशत सफल होलान् यी कथाहरु ? त्यसो त सूर्य मुलत: कवि नै हुन् ! जतिसुकै राम्रो लेख्ने प्रयास गरे पनि उनको यो कथा सङ्ग्रह पहिलो नै हो ! त्यसो हुँदा उनका कमजोरी पनि छन् ! नभएका होइनन् ! उनको पहिलो कमजोरी हो - उनका अधिकांश कथाहरु बर्णनात्मक शैलीका छन् ! कथामा अधिकाधिक सम्वादात्मक शैली प्रयोग गर्नु राम्रो हो ! कथाकारले महत्त्वपूर्ण कुरा जे भन्नु पर्ने हो, त्यो आफैंले नभनेर पात्र मार्फत भन्न लगाउनु कथाकारको सफलता हुन जान्छ ! हरेक कथाहरुमा कथाकारले गहन र प्रभावकारी अभिव्यक्तिहरु व्यक्त गरेको अवस्था छ ! ती पात्रमार्फत भनाइएको भए कति राम्रो हुने थियोे !

कथाकारको दोस्रो कमजोरी भनेको वर्ण विन्यास र शुद्धाशुद्धीमा हो ! कतिपय ठाउँमा पद सङ्गति मिलेको पाइँदैन ! पेज नम्बर २३ मा " उनीहरू टुहुरो भए ", पेज नम्बर ३३ मा " पोको मारेर ", पेज नम्बर ३५ मा "  जाति हुनुहुन्छ " का सट्टामा " उनीहरू टुहुरा भए ", " पोको पारेर ",  " जाती हुनुहुन्छ " लेख्न पाएको भए पक्कै पनि पाठकको दाँतमा ढुङ्गा लाग्ने थिएन ! दुईभन्दा बढी पात्रहरुका भनाइहरुलाई पनि एउटै अनुच्छेदमा राख्नाले अलिअलि खल्लो बनाएको अवश्य छ कथालाई !

यी र यस्ता कमजोरीहरु सामान्य नै हुन् ! पाठकले लेखकलाई माफै गर्न नसक्ने खालका कमजोरी होइनन् ! आगामी संस्करणमा यस्ता कमजोरीहरु हट्नेछन् भन्ने बिश्वास गर्न सकिन्छ ! यस्ता सानातिना कमजोरीमा आँखा चिम्लँदा " सत्याग्रह "  पठनीय छ ! स्तरीय छ !

वागमती ११, कर्मैया, सर्लाही

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Lilaraj Dahal

More from Lilaraj Dahal

Explore more articles by this author
गजल

गजल

नबोली नबोली तिमी छेउ आयौ / र ढोकै नखोली तिमी छेउ आयौ !...

तीन मुक्तक

तीन मुक्तक

तीन मुक्तक...

गजल

गजल

पिरतीको डोरी बाट्न सिकाएकै तिमीले हो / दिल चोर्ने काम आँट्न सिकाएकै तिमीले हो !...

सुत्रात्मक सुक्ष्मकथा

सुत्रात्मक सुक्ष्मकथा

बि.स. २०१९ साल पुस १० गते म्यान्मारको राधापुरमा जन्मेका इन्द्रकुमार......

गजल

गजल

बिना कसूर सभा छली भाग्नु हुन्न भाइ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्