कार्बन कटौती बापत विश्व बैंकबाट नेपाललाई ९.४ मिलियन डलर भुक्तानी
काठमाडौं, मंसिर १ । नेपालले जंगल विनाश र वन क्षय नियन्त्रण गर्दै करिब १.८८ मिलियन टन कार्बन डाइअक्साइड कटौती गर्न सफल भएपछि विश्व बैंकको फरेस्ट कार्बन पार्टनरशिप फ्यासिलिटी (एफसिपिएफ) बाट ९.४ मिलियन अमेरिकी डलर प्राप्त गरेको छ। रेड प्लस इमिशन रिडक्सन प्रोग्राम अन्तर्गत नेपालले पहिलोपटक यस्तो परिणाम–आधारित भुक्तानी प्राप्त गरेको हो।
यो भुक्तानी इमिशन रिडक्सन पेमेंट एग्रिमेन्ट (इआरपिए) अन्तर्गतको पहिलो किस्ता हो, जसले नेपालले जंगल संरक्षण, कार्बन उत्सर्जन घटाउने प्रविधि, र समावेशी वन व्यवस्थापनतर्फ गरेको प्रगति अन्तर्राष्ट्रियतर्फ औपचारिक रूपमा मान्यता पाएको संकेत गर्दछ।
समुदाय–आधारित वन व्यवस्थापनको सफलता
तराई आर्क ल्यान्डस्केपमा लागू गरिएको रेड प्लस कार्यक्रम नेपालकै विशेषताको रूपमा समुदाय–आधारित वन संरक्षणमा केन्द्रित छ। जैविक विविधताले भरिपूर्ण तर मानव बसोबास घना रहेको यस क्षेत्रमा स्थानीय समुदाय, आदिवासी जनजाति तथा नागरिक समाजसँग सहकार्य गर्दै वन संरक्षण, पुनर्स्थापना र ग्रामीण जीविकोपार्जनमा सुधार ल्याइएको छ।
“नेपालले वन विनाश रोकथाम, वन शासन सुदृढीकरण, जैविक विविधता संरक्षण र स्थानीय समुदायको जीवनस्तर उकास्न गरेका प्रयासको यो महत्त्वपूर्ण प्रमाण हो,”— डेभिड सिस्लेन, विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन निर्देशकले भने।
भुक्तानी कसरी बाँडिनेछ?
प्राप्त रकम नेपालको बेनिफिट सेयरिङ प्लान अनुसार वितरण गरिनेछ। यो योजना स्थानीय समुदाय, आदिवासी जनजाति र सरोकारवालासँगको विस्तृत परामर्शपछि तयार गरिएको हो, जसले वनमा निर्भर समुदायले प्रत्यक्ष लाभ पाउने सुनिश्चित गरेको छ।
उक्त लगानीले वन पुनर्स्थापना, समुदाय–आधारित व्यवसाय, हरित रोजगार, र दिगो जीविकोपार्जनलाई सुदृढ बनाउनेछ। यसले नेपाललाई समुदाय–आधारित वन व्यवस्थापनका क्षेत्रीय तथा वैश्विक अग्रणी देशका रूपमा थप सुदृढ बनाउने विश्व बैंकको विश्वास छ।
“यो परिणाम–आधारित भुक्तानीले हाम्रो वनमा निर्भर समुदाय, आदिवासी जनजाति र सरकारको साझा प्रयासलाई झल्काउँछ। नेपाल समावेशी र समुदाय–नेतृत्व वन व्यवस्थापनमार्फत जलवायु कार्यलाई निरन्तर अघि बढाउन प्रतिबद्ध छ,”— डा. राजेन्द्र प्रसाद मिश्र, वन तथा वातावरण मन्त्रालयका सचिवले उल्लेख गरे।
फरेस्ट कार्बन पार्टनरशिप फ्यासिलिटी ( एफसिपिएफ) बारे
एफसिपिएफ विश्वव्यापी साझेदारी हो, जसले विभिन्न देशलाई जंगल विनाश नियन्त्रण, वन व्यवस्थापन दिगो बनाउने र कार्बन उत्सर्जन घटाउन सहयोग गर्छ। नोभेम्बर २०२५ सम्म एफसिपिएफ कार्यक्रममार्फत १३१ मिलियन टन CO₂ घटाइएको, ६३.७ मिलियन क्रेडिट जारी र ४६.५ मिलियन क्रेडिटको भुक्तानी, करिब २३२ मिलियन अमेरिकी डलर, वितरण भइसकेको छ।
नेपाललाई प्राप्त ९.४ मिलियन डलरको भुक्तानीले रेड प्लस कार्यक्रमले देखाएको प्रभावकारी परिणाम, पारदर्शिता र समावेशीताको पुनः प्रमाणित गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment