नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य
काठमाडौं, साउन २२ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा पूर्वाधार सम्पर्कको प्रभावकारी सेतुका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।
नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) र फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रले संयुक्त रूपमा आयोजना गरेको ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले सरकारको मुख्य जोड आर्थिक कूटनीतिलाई सुदृढ बनाउने र सीमापार सम्पर्क विस्तारमार्फत क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने रहेको बताए।
उनले नेपालको भौगोलिक अवस्थाले चीन र दक्षिण एसियाबीच व्यापार, लगानी, यातायात, ऊर्जा तथा पूर्वाधार विकासमा महत्वपूर्ण पुलको भूमिका खेल्न सक्ने उल्लेख गरे। यही सम्भावनालाई उपयोग गर्दै नेपालले क्षेत्रीय सहकार्य, दिगो विकास र साझा समृद्धिलाई अघि बढाउने नीति अवलम्बन गरेको उनको भनाइ थियो।
मन्त्री खनालले बहुध्रुवीय विश्व व्यवस्थामा परम्परागत कूटनीतिभन्दा आर्थिक सहकार्य, सम्पर्क सञ्जाल विस्तार र पारस्परिक हितमा आधारित साझेदारीको महत्व बढ्दै गएको उल्लेख गर्दै नेपाल त्यस दिशामा सक्रियतापूर्वक अघि बढिरहेको बताए।
उनले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका लागि नेपालले सन्तुलित, सहयोगमुखी र आर्थिक कूटनीतिमा आधारित परराष्ट्र नीतिलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment