विश्व मानवतावादी दिवसमा राउटे समुदायलाई राहत, मानवतावादी अभियन्ता सम्मानित
सुर्खेत, ३ भदौ। विश्व मानवतावादी दिवस २०२६ को अवसरमा नेपालमा एक मात्र घुमन्ते तथा संकटापन्न आदिवासी समुदायका रूपमा रहेको राउटे समुदायलाई राहत सामग्री वितरण गरिएको छ।
डीपीनेट नेपाल, एईआईएन र सोसेक नेपालको संयुक्त आयोजनामा बुधबार सुर्खेतमा आयोजित कार्यक्रममा राउटे समुदायलाई राहत सामग्री वितरण गर्नुका साथै उनीहरूको अधिकार, स्वास्थ्य, सुरक्षा तथा जीवन रक्षाका लागि निरन्तर काम गर्दै आएका मानवतावादी अभियन्तालाई सम्मान गरिएको हो।
जलवायु परिवर्तन, प्राकृतिक स्रोतसाधनमा घट्दो पहुँच तथा समुदायको निरन्तर घटिरहेको जनसंख्याका कारण राउटे समुदाय थप जोखिममा पर्दै गएको आयोजकले बताएका छन्। कार्यक्रममा समुदायको संरक्षण, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन तथा सामाजिक सुरक्षाका लागि दीर्घकालीन र प्रभावकारी सहयोग आवश्यक रहेकोमा जोड दिइएको थियो।
सोसेक नेपालका कार्यकारी निर्देशक हीरा थापाले संस्थाले लामो समयदेखि राउटे समुदायको संरक्षण, विकास र अधिकारका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताए। उनले समुदायको विशिष्ट संस्कृति, पहिचान र परम्परागत जीवनशैलीको सम्मान गर्दै स्वास्थ्य, शिक्षा, पोषण र सुरक्षाको अवस्था सुधारका प्रयास अघि बढाउनुपर्ने बताए।
कार्यक्रममा डीपीनेट नेपालका पूर्वअध्यक्ष डा. राजु थापाले राउटे बालबालिकाका लागि ३० वटा एलईडी लेखन प्याड वितरण गरे। उनले राउटे बालबालिकालाई उनीहरूको संस्कृति र जीवनशैलीको सम्मान गर्दै क्रमशः शिक्षासँग जोड्न सके समुदायभित्रैबाट चेतना अभिवृद्धि गर्न सकिने बताए।
शिक्षा र चेतनाको विस्तारले समयक्रममा समुदायमा रहेका केही हानिकारक अन्धविश्वास तथा अभ्यास न्यूनीकरणमा समेत सहयोग पुग्ने उनको भनाइ थियो।
डा. थापाले एकपटकको राहत सहयोगले मात्रै राउटे समुदायको दीर्घकालीन समस्या समाधान नहुने बताए। समुदायको दीर्घकालीन संरक्षण, सम्मान, अधिकार र कल्याण सुनिश्चित गर्न सरकारी निकाय, मानवतावादी संस्था र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।
आयोजकका अनुसार विश्व मानवतावादी दिवसलाई औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नगरी उच्च जोखिममा रहेको समुदायलाई प्रत्यक्ष सहयोग गर्ने र उनीहरूको संरक्षणमा निरन्तर खटिरहेका मानवतावादी अभियन्ताको योगदानलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment