ट्रेसिङ दि हिमालय’ कला प्रदर्शनी काठमाडौंमा सुरू
काठमाडौँ, मंसिर ५ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य र चोसर आर्ट्स मुस्ताङको आयोजनामा ‘ट्रेसिङ दि हिमालय’ कला प्रदर्शनी शुक्रबारबाट प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गरेका थिए ।
उद्घाटनसमारोहमा कुलपति हार्तम्छालीले नेपालीपन झल्कने कलाको मूल स्रोत लोकपरम्परा, आदर्श र जन्मभूमिबाट जन्मिएका सिद्धान्त तथा दर्शन भएको बताउँदै चार युवा कलाकारले प्रस्तुत गरेका हिमाली लोकसंस्कृति–आधारित कलाकृतिले मौलिक पहिचानलाई उजागर गरेको टिप्पणी गरेका थिए । उनकाे कथन थियाे, “हिमवत्खण्डको इथ्नोकग्निटिभ ज्ञान र आफ्नै भूतलदर्शनमा आधारित स्वकला अहिले आझेलमा परेको छ । यस्ता कार्यक्रमहरू नमुना उदाहरण बन्छन्।”
प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले हिमाली जनजीवनका अभ्यासमा आधारित परम्परागत ज्ञान प्रणालीको कला सिर्जना नै मौलिक पहिचान जोगाउने माध्यम भएको भन्दै विद्यालय तथा कलेजका पाठ्यक्रममा यस विषयलाई समावेश गर्नु आवश्यक रहेको बताए।
चोसर आर्ट्स मुस्ताङका निर्देशक छिरिङ फोन्जो गुरुङका अनुसार काठमाडौंमा आयोजना हुने अधिकांश प्रदर्शनीमा हिमाली कला पर्याप्त रूपमा नदेखिएको कारण जनचेतना अभिवृद्धिका लागि यो प्रदर्शनी आयोजना गरिएको हो। “चार कलाकारको सहभागितामा सुरु गरिएको यो प्रदर्शनी आगामी वर्षहरूमा अझ विस्तृत रूपमा गर्ने योजना छ,” गुरुङले जानकारी दिए।
क्युरेटर मिना लामाले प्रदर्शनीमा मुगु, डोल्पा, सिन्धुपाल्चोक र मुस्ताङका जनजीवन, आध्यात्मिक अभ्यास र दैनन्दिन सङ्घर्षलाई दृश्य–चित्रमार्फत प्रस्तुत गरिएको बताइन् ।
प्रदर्शनीमा हिमाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकार छिरिङ फोन्जो गुरुङ (मुस्ताङ) का २०, तेन्जिङ आङ्डाक गुरुङ (डोल्पा) का १७, धोर्जे गुरुङ लामा (मुगु) का १८ र पेम्बा शेर्पा (सिन्धुपाल्चोक) का ९ सहित कुल ६४ कलाकृति प्रदर्शित छन्। मिना लामा क्युरेटर रहेको प्रदर्शनीमा विशेष रूपमा ल्यान्डस्केप र थाङ्का विधाका कृतिहरू समावेश गरिएको छ।
उद्घाटन कार्यक्रममा हिमाली क्षेत्र प्रतिनिधित्व गर्ने स्याब्रु नाचलगायत सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। प्रदर्शनी मंसिर ९ गतेसम्म चल्नेछ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment