८ मंसिर २०८३, मंगलबार

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी


अ
अ+
अ-

काठमाडौं, मंसिर ८ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता भाषण र घोषणामा मात्र सीमित नभई पीडितले वास्तविक रूपमा सुरक्षा, न्याय र सम्मान पाउने अवस्थाबाट प्रमाणित हुनुपर्ने बताएकी छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले हिंसा व्यक्तिगत वा पारिवारिक समस्या मात्र नभई मानव अधिकार, सामाजिक न्याय, समानता र संविधानप्रदत्त सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग जोडिएको राष्ट्रिय सरोकारको विषय भएको बताइन्।
हिंसा गर्ने व्यक्तिको पद, प्रतिष्ठा, आर्थिक हैसियत वा राजनीतिक पहुँचका आधारमा कानुन फरक हुन नसक्ने स्पष्ट पार्दै मन्त्री बादीले पीडितको अधिकारलाई हिंसा गर्ने व्यक्तिको पहुँचभन्दा माथि राख्नुपर्नेमा जोड दिइन्। न्याय खोज्ने क्रममा पीडितले विभिन्न कार्यालय धाउनुपर्ने, पटकपटक आफ्नो पीडा सुनाउनुपर्ने र वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
उनले महिला तथा बालिकामाथि घर, कार्यस्थल, सार्वजनिक स्थान, विद्यालय, वैदेशिक रोजगारी र डिजिटल माध्यमबाट समेत हिंसा भइरहेको उल्लेख गर्दै दलित महिला, अपाङ्गता भएका महिला, दुर्गम क्षेत्रका महिला, एकल महिला तथा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका समुदायका महिला बढी जोखिममा रहेको बताइन्। हिंसाप्रभावित व्यक्तिलाई दोषीका रूपमा नभई साहसपूर्वक न्याय खोज्ने नागरिकका रूपमा सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
सरकारले लैङ्गिक हिंसा निवारण, पीडित संरक्षण, मनोसामाजिक परामर्श, सुरक्षित आवास, दीर्घकालीन पुनर्स्थापना, आर्थिक सशक्तीकरण, मानव बेचबिखन नियन्त्रण तथा जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारलगायतका कार्यक्रम अघि बढाइरहेको उनले जानकारी दिइन्।
सुरक्षित आवास गृहको प्रभावकारिता अध्ययन, समुदायस्तरमा मनोसामाजिक सेवा विस्तार तथा प्रहरी, स्वास्थ्य संस्था, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र र पुनर्स्थापना केन्द्रबीचको समन्वय सुदृढ गर्ने काम भइरहेको पनि उनले बताइन्। दुर्गम क्षेत्रमा जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रमले सयौँ आमाको जीवन बचाउन सफल भएको उनको भनाइ थियो।
महिला आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म लैङ्गिक हिंसा अन्त्यको लक्ष्य पूर्ण रूपमा हासिल गर्न नसकिने उल्लेख गर्दै मन्त्री बादीले महिला उद्यमशीलता, सीप विकास, वित्तीय पहुँच, जीविकोपार्जन र स्वरोजगारलाई प्राथमिकतामा राखिएको बताइन्।
बालविवाह, दाइजो, छाउपडी, बोक्सी आरोप, जातीय विभेद, घरेलु तथा यौन हिंसा र साइबर हिंसा सामाजिक सोच र संरचनासँग जोडिएका समस्या भएको उनको भनाइ थियो। हिंसाविरुद्धको अभियान मन्त्रालय वा महिला आयोगको मात्र नभई विद्यालय, सञ्चारमाध्यम, सामाजिक अगुवा, परिवार र प्रत्येक नागरिकको साझा अभियान हुनुपर्ने उनले बताइन्।
राष्ट्रिय महिला आयोगको संवैधानिक भूमिकाको प्रशंसा गर्दै उनले आयोगको ११४५ हेल्पलाइन तथा बाल हेल्पलाइन १०९८ लगायतका सेवाको पहुँच देशका दुर्गम गाउँसम्म विस्तार गर्न सबै तहका सरकारसँग सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरिन्।
हिंसासम्बन्धी उजुरीको प्रभावकारी व्यवस्थापन, अनुगमन, सम्बन्धित निकायको जवाफदेहिता र पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगले आफ्नो संवैधानिक भूमिका थप सशक्त बनाउनुपर्नेमा पनि उनले जोड दिइन्। प्रदेश तथा स्थानीय सरकारले हिंसाप्रभावित व्यक्तिको पहिचान, तत्काल सहयोग, सुरक्षित आवास र पुनर्स्थापनाका सेवा प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
यस वर्षको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ लाई साझा राष्ट्रिय संकल्पका रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै मन्त्री बादीले १६ दिने अभियान औपचारिक कार्यक्रम, र्‍याली र नारामा मात्र सीमित हुन नहुने बताइन्।
‘हाम्रो सफलता कति कार्यक्रम गर्‍यौँ भन्नेबाट होइन, कति महिलाले सुरक्षा पाए, कति पीडितले न्याय पाए र कति बालिकाले निर्भय भएर विद्यालय जान सके भन्नेबाट मापन हुनुपर्छ,’ उनले भनिन्।
हिंसाप्रति शून्य सहनशीलता, पीडितप्रति पूर्ण संवेदनशीलता र न्यायप्रति अटल प्रतिबद्धतालाई साझा राष्ट्रिय संकल्प बनाउन सके मात्र सुरक्षित, समान, विभेदमुक्त र हिंसामुक्त नेपाल निर्माण गर्न सकिने उनको भनाइ थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह...

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न...

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय...

प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा

प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा

प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा...

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी...

विपद् सञ्चारमा सन्त्रास फैलाउने प्रवृत्ति त्याग्न विज्ञको सुझाव

विपद् सञ्चारमा सन्त्रास फैलाउने प्रवृत्ति त्याग्न विज्ञको सुझाव

विपद् सञ्चारमा सन्त्रास फैलाउने प्रवृत्ति त्याग्न विज्ञको सुझाव...