१३ देशमा राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
काठमाडौं, २ असोज। मन्त्रिपरिषद्को आज बसेको बैठकले १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्दै संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको छ।
सरकारले भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा र बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणालाई राजदूत नियुक्त गर्न सिफारिस गरेको छ।
त्यस्तै जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरि बहादुर सुनारलाई राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ।
राजदूत नियुक्तिको सिफारिस संसदीय सुनुवाइपछि कार्यान्वयनको प्रक्रियामा जानेछ।
मन्त्रिपरिषद्ले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
यसैगरी साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णय गरिएको छ।
बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment