हरेक वर्ष जमल किन डुब्छ ?
काठमाडौं, साउन १६ । काठमाडौंको व्यस्त व्यापारिक तथा शैक्षिक क्षेत्र जमलमा वर्षा हुनासाथ सडक डुबान हुनुको मुख्य कारण ढल निकास प्रणालीको क्षमता नै अपर्याप्त रहेको प्रारम्भिक प्राविधिक निरीक्षणबाट खुलेको छ। चार दिशाबाट जम्मा हुने ठूलो परिमाणको वर्षाको पानी र ढललाई सानो क्षमताको पाइपबाट निकास दिने व्यवस्था भएकाले जमल वर्षेनी डुबानको चपेटामा पर्ने गरेको देखिएको हो।
शुक्रबार गरिएको स्थलगत प्राविधिक निरीक्षणपछि डिभिजन सडक कार्यालय काठमाडौंले तयार गरिरहेको प्रारम्भिक विश्लेषणअनुसार जमल क्षेत्रमा ज्याठातर्फबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, येल्लो प्यागोडातर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर व्यासका ढल प्रणालीमार्फत पानी आइपुग्छ। यी चारैतर्फबाट आउने बहावको संयुक्त क्षमता करिब २१५ सेन्टिमिटर व्यास बराबर भए पनि त्यसको निकास भने ६० सेन्टिमिटर व्यासको एउटै पाइपबाट हुने व्यवस्था छ।
डिभिजन सडक कार्यालय काठमाडौंकी इञ्जिनियर श्रीयंका रौनियारका अनुसार सतही वर्षाको पानीसहित ठूलो परिमाणमा जम्मा हुने पानी ६० सेन्टिमिटर व्यासको पाइपबाट एकैपटक बाहिर जान सम्भव छैन। पानीको आगमन र निकास क्षमताबीच ठूलो अन्तर रहेकाले तीव्र वर्षा हुँदा केही मिनेटमै सडकमा पानी जम्ने र जमल क्षेत्र डुबानमा पर्ने अवस्था सिर्जना हुने गरेको उनले बताइन्।
प्राविधिकहरूका अनुसार समस्या ढल जाम हुनु मात्र होइन, निकास प्रणालीको डिजाइन र क्षमतासँग पनि जोडिएको छ। माथिल्लो क्षेत्रबाट आउने पानीको मात्रा बढ्दै गएको अवस्थामा पुरानै क्षमताको ढल प्रणाली प्रयोग भइरहेकाले वर्षायाममा डुबान दोहोरिने गरेको हो। काठमाडौंमा पछिल्ला वर्षहरूमा छोटो समयमा अत्यधिक वर्षा हुने क्रम बढ्दै जाँदा पुराना ढल संरचनाले त्यसको चाप थेग्न नसकेको देखिन्छ।
जमल राजधानीकै सबैभन्दा व्यस्त क्षेत्रमध्ये एक हो। यहाँ व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, सरकारी कार्यालय र दैनिक हजारौं सर्वसाधारणको आवतजावत हुने भएकाले सामान्य वर्षामै हुने डुबानले सवारी आवागमन, व्यवसाय तथा पैदलयात्रीलाई ठूलो सास्ती दिने गरेको छ। पानी जम्दा सडकमा ट्राफिक जाम हुने, पसलमा पानी पस्ने र पैदल हिँड्नसमेत कठिन हुने समस्या प्रत्येक मनसुनमा दोहोरिने गरेको छ।
प्राविधिक टोलीले अहिले ढल सञ्जाल, पानीको बहाव र निकास संरचनाको विस्तृत अध्ययन गरिरहेको छ। अध्ययनपछि तयार हुने प्राविधिक प्रतिवेदनका आधारमा निकास प्रणालीको क्षमता विस्तार, नयाँ ढल संरचना निर्माण वा वैकल्पिक निकास मार्ग विकासलगायतका दीर्घकालीन समाधानका उपाय सिफारिस गरिने जनाइएको छ।
प्राविधिकहरूको भनाइमा, जमलको डुबान समस्या समाधानका लागि केवल ढल सफाइ पर्याप्त हुँदैन। माथिल्लो क्षेत्रबाट आउने पानीको मात्रा, निकास संरचनाको क्षमता र शहरी वर्षा व्यवस्थापनलाई समग्र रूपमा पुनः डिजाइन नगरेसम्म हरेक मनसुनमा जमल डुब्ने समस्या दोहोरिइरहने सम्भावना रहनेछ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment