राजदूत नियुक्तिमा खुल्ला प्रतिस्पर्धा: निर्णयप्रति कमल थापाको आपत्ति
काठमाडौँ, जेठ १५ । परराष्ट्र मन्त्रालयले पहिलो पटक खुला प्रतिस्पर्धाका आधारमा विभिन्न मुलुकका लागि नेपालको राजदूत पदमा आवेदन आह्वान गरेपछि त्यसबारे राजनीतिक प्रतिक्रिया आउन थालेको छ।
मन्त्रालयले योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन र सिफारिस आह्वान गर्दै नेपालको परराष्ट्र नीति र कूटनीतिलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रक्रिया अघि बढाएको जनाएको छ। मन्त्रालयले आगामी जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले राजदूत नियुक्तिलाई खुला प्रतिस्पर्धामार्फत गर्ने अवधारणाप्रति असहमति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले राजदूत पद व्यावसायिक संस्था वा बैंकिङ क्षेत्रको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जस्तो पद नभएको उल्लेख गरेका छन्।
थापाले योग्य र सक्षम व्यक्तिहरूको ‘रोस्टर’ तयार गरी पूर्वाग्रहविना नियुक्ति गरिनुपर्ने धारणा राखेका छन्। विशेषगरी भारत, चीन र अमेरिका जस्ता रणनीतिक महत्त्वका मुलुकमा खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्नु त्रुटीपूर्ण हुने उनको भनाइ छ।
परराष्ट्र मन्त्रालयले भने योग्य व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हितका लागि योगदान गर्न अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment