सङ्गीत, गजल र ललितकलाको संगम
काठमाडौं, भदौ १४ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा अनाममण्डली, अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनको आयोजनामा १६० औँ मोतीजयन्तीका अवसरमा शनिवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा ‘गजल, सङ्गीत र ललितकला उत्सव २०८२’ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सिर्जनाको आफ्नै वैचारिकता हुने तथा ललितकलाको सौन्दर्यमा सङ्गीत एवं गजल जोडिनु सकारात्मक रहेको बताए । हाम्रा सङ्गीत, गीत, गजल, चित्रकलाको जग माटो हुनुपर्ने बताउँदै उनले शब्द, चित्र र गायनमा सामञ्जस्य हुनुपर्ने बताए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा पहिलोपल्ट भएको गजल, सङ्गीत र ललितकलाको उत्सवको त्रिवेणीले साहित्य, सङ्गीत र ललितकलालाई जोड्ने बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले साहित्य, संगीत र ललितकलाको संयोजन गरी गरिएको कार्यक्रम ऐतिहासिक भएको बताए । उनले नेपालीपनलाई समेटेर गजल तयार पारिएको र त्यसमा संगीत र चित्रकलाको संयोजनले राम्रो सन्देश दिएको बताए ।
कार्यक्रमका सभाध्यक्ष एवं अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले केन्द्रका तीनवटै प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भएको यस कार्यक्रममा राष्ट्रप्रेमका भाव ओतप्रोत भएका गजल गायन गरिएको र गजललाई चित्रमा समेत प्रत्यक्ष अवलोकन गर्न पाएको बताए । मोती जयन्तीका सन्दर्भमा भएको यस कार्यक्रमले सङ्गीत, गजल र ललितकलाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले कार्यक्रमको औचित्य प्रस्ट पार्दै केन्द्रका तीनवटै प्रतिष्ठानको सहकार्यमा सङ्गीत, गजल र ललितकलालाई एकै मञ्च प्रस्तुत गरिएको बताए । उनले देशका सातै प्रदेशका गजलकारका देशप्रेमको भाव मुखरित भएको गजललाई गायन गरिएको र त्यस गजलमाथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरुबाट चित्र सिर्जना गरिएको बताए । सङ्गीत, गजल र ललितकलालाई जोडेर देशका सातै प्रदेशमा यस किसिमका कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने कार्यक्रममा जानकारी गराइयो ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment