९ असोज २०८३, शुक्रबार

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी


अ
अ+
अ-

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूमाथि एक समय खुबै गमियो, यी हुन् के ? हिन्दू धर्मावलम्बीहरू पुराणलाई साँच्चै भएको घटनाको रुपमा लिन्छन् तर इतिहासको दर्जा पाउँदैन । पुराणले मात्रै होइन, रामायण र महाभारतले पनि इतिहासको दर्जा पाउँदैन । बल्ल चित्त बुझाएँ, इतिहासलाई रमाइलो र लोकप्रिय बनाउन तथा उद्देश्यपूर्तिका लागि आफू खुसी प्रयोग गर्न थाल्यो भने बिस्तारै त्यसले आफ्नो अर्थ बदल्न थाल्छ र मिथक बन्दै जान्छ । आफू त परियो, इतिहासको अध्येता अनि पुरातत्व विज्ञानको अनुशासनमा पनि हिड्नुपर्ने । मलाई आख्यान तथा मिथकमा रुमल्लिने छूट छैन । इतिहासको परिधि नाघ्ने अनुमति पनि छैन । मिथक तथा किम्बदन्तीभित्र सीता खोजेझैं इतिहास खोज्नलाई भने छूट छ, अझ प्रोत्साहन नै गरिन्छ ।   

यँयाः (इन्द्रजात्रा) को समय । संस्कृतिका अनेकौं अवयवहरू सलबलाएर यो समयमा सडकमा पोखिन आउँछ मात्रै होइन, मेरो परिवेश अरू बेलाभन्दा बढी यसै बेला रमाउन थाल्छ पनि । संस्कृतिको हाट लागेजस्तै पनि हुन्छ । इतिहास र संस्कृतिको अध्येताका लागि यो राम्रो अवसर हो । यसै बेला जानकारी पाउँछु, असोज ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा ‘कथा डबली–१’ अन्तर्गत ऐतिहासिक तथा साँस्कृतिक पर्व ‘इन्द्रजात्रा’को सन्दर्भमा ‘इन्द्रजात्राः शारदीय पर्व’ शीर्षकमा कथा सुनाउने कार्यक्रम । कथा वाचक हुन्, मल्ल के. सुन्दर । काठमाडौंमा कथा सुनाउनेहरू थुप्रै हुन्छन्, काठमाडौं कथा नै कथाको सागर हो । लामो इतिहास भएको ठाउँमा कथा पनि धेरै हुनु कुन ताज्जुबको कुरा भयो र ? तर इतिहास र वर्तमान सुनाउन खप्पीस मल्लबाट कथा सुन्न पाउनु मेरा लागि के खोज्छन् भनेर सोधेको प्रश्नजस्तै भयो ।

⠿ drag
कथा वाचनअघि प्रदर्शित लाखे नृत्य । तस्वीरः बसन्त महर्जन

कथा सुरु हुन्छ, जंगबहादुरको बेलायत यात्राबाट । कथा यसरी बढ्दै जान्छ ‘‘... महासागरको बीचैबीच अगाडि बढिरहेको पानी जहाज हल्लिए । बेस्सरी हल्लिए । चर्को समुद्री आँधीको चपेटामा फसे । कयौं मानिस थिए, जहाजमा । नेपालको प्रधानमन्त्री जङ्गे, उनका भाईहरू जगत शम्सेर, धीर शम्सेर अनि चौध जना अन्य उच्च पदस्थ भारदारहरू, एघार जना सुसारेहरू पनि । सबैको होस उडे । वेलायत पुग्ने सपना महासागरकै पानीमा विलिन हुने भयो । ज्यानको आस मारे, सबैले । कसैले केही गर्न सक्ने अवस्था थिएन । अन्तिम क्षणको कल्पनामा स्तब्ध थिए, नेपालीहरू । त्यसै यात्रामा सम्मिलित थिए एक जना काठमाडौंको रैथाने नेवार । सुब्बा सिद्धिमान राजभण्डारी । त्यतिकैमा उनले सलार्इं कोरेर धूप बाले, चारैतिर अक्षेता छरे । अनि दुई हात जोडदै आँखा चिम्ले । केही बेर आफ्नै सुरमा, आफ्नै तालमा, आफ्नै भाषामा पुकारे– हे आजु ! रक्षा यानाबिज्याहुँ ! –(हे प्रभु ! रक्षा गरिदेउ ! ) तत्क्षण नै जहाजमा सबैले सुनिने गरिकन घंघला(घुंघरु) बज्न थाले । यसबाट अरु त झन तर्सिए । जहाँ जो बसेका थिए, त्यहिं खुम्चिन पुगे । मानौं सबैको स्वास रोकिसके । तर सिद्धिमान धुक्क भए, आत्मविश्वासपूर्वक उनले उदघोष गरे – ‘लौ अब डराउनु पर्दैन, केही हुन्न । निर्धक्क भए हुन्छ ।’ नभन्दै बेढङ्गले हल्लिरहेको पानी जहाज आफ्नै लयमा फर्किन थाले । सुस्तरी आफ्नै गति र चालमा अगाडि बढन थाले । सबै जना निश्चिन्त बने । ती मध्ये अत्यधिक खुसि हुनेमा परे, जङ्गबहादुर । सुब्बा सिद्धिमानले आस्थापूर्वक उद्धारका लागि सात समुद्र पारीबाट अराधना गरेका ती अराध्यदेव थिए– मजिपाः लाखे ! ऊ आफै जैसिदेवल, लाखे ननि चोकभित्र बस्थे । उनको निवाससंगै छन् मजिपाः लाखेको मन्दिर÷देवस्थल । ... ।’’  

परदेशमा आपतविपत पर्दा नेवारहरू जो कोही देवतालाई पुकार्दैनन् । नेवारहरू प्रायः एउटा न एउटा सांस्कृतिक भूगोलमा आवद्ध हुन्छन् । जस्तो, कीर्तिपुर क्षेत्रकाहरू बाघभैरवलाई पुकार्छन् भने खोकनाकाहरू सिकाली मां । र, यो मजिपाः लाखे को हुन् त ? कथामा आउँछ, उनको प्रेम कहानीसहित अनेक आनीबानी र उनको प्रभाव । मजिपाः लाखेको कथामा मात्रै सीमित छैन, यस्ता अन्य लाखेहरूको कथा पनि काठमाडौंमा प्रसस्त मात्रामा सुन्न पाइन्छ । 

भन्ने मात्र इन्द्रजात्रा हो, प्रमुख आकर्षण त कुमारीको रथयात्रा हुन्छ । कुमारीको प्रसङ्ग छुटाएर इन्द्रजात्राको कथा कसरी बन्छ ? यँयाःका अनेक सांस्कृतिक अवयवहरू कुमारी रथयात्रा काठमाडौंको हनुमानढोका राजदरवार परिसरको बसन्तपुरस्थित कुमारीघरबाट मात्रै निकालिन्छ, यो चलन अन्यत्र छैन । यो रथयात्रा यति धेरै प्रचार भयो कि, इन्द्रजात्राको पर्याय नै बन्न पुग्यो । र, नेपालबाहिर आप्रवासी नेपालीहरूले इन्द्रजात्रा भनेर कुमारीको रथयात्रा एउटा मात्रै चलाएको पाइन्छ । 

कुमारीको कथा सुनाउने क्रममा मल्ल के. सुन्दर एउटा अर्को राक्षसको प्रसङ्ग ल्याउँछन् । ती राक्षसको र एक युवतीको प्रेम हुन्छ । युवती अष्टमातृका गणकी छोरी हुन्छिन् । आमाको कुरा सुनेर देशको रक्षार्थ छोरीले आफ्नै प्रेमी लाखेको हत्या गरिदिन्छिन् र आजीवन विवाह नगर्ने प्रण गरेर बस्छिन्, र आराध्य देवी कुमारीका रुपमा प्रसिद्ध रहिन् । बसन्तपुरकी यही कुमारीलाई कोही अन्य कथावाचकहरू अष्टमातृका गणको कौमारीसँग आत्मसात गराउँछन् । यी कुमारीको सांस्कृतिक ऐतिहासिकता खोतल्ने हो भने न कौमारी हुन्, न त कौमारीकी छोरी नै । कथाहरू यसरी जुध्छन् कि, अलमल्ल नै पारिदिन्छन् । बसन्तपुरकी कुमारीकै सदृष्य काठमाडौं तथा काठमाडौं वरिपरिका अन्य कुमारीहरूलाई के भन्ने त ? वास्तवमा यिनीहरू टोलटोलको रक्षा गर्ने स्त्रीशक्ति वा अजिमाहरू हुन् । बसन्तपुरकी कुमारी पनि यस्तै एक अजिमा हुन् । स्थानीयहरू द्यःमां पनि भन्दछन् । नयाँ नयाँ कथा जोड्न ल्याएपछि नयाँ नयाँ कथाकहानी बन्नु स्वाभाविक भइहाल्यो । 

यँयाः कसरी मनाउने भन्ने कुनै निश्चित विधिविधान पाइँदैन । ठाउँअनुसार फरक फरक पाइन्छ । काठमाडौंकै कुरा गरौं, कसले के जिम्मा लिने वा दिने भन्ने कसैले तय गर्नुपर्दैन, निश्चित समय र स्थानबाट विभिन्न अवयवहरू स्वतःस्फूर्त चलायमान हुन्छन् । जीवन्त संस्कृति भनेको यही त हो । यी सबै सांस्कृतिक अवयवहरू एकै समयमा एकै पल्ट डिजायनिङ गरिएका होइनन् । कम्तीमा पनि तीन हजार वर्षको काठमाडौंको सांस्कृतिक इतिहासमा यँयाःको विकास भयो र विकासका क्रममा कतिपय नयाँ अवयव थपियो भने कतिपय बन्द पनि भयो । प्रत्येक अवयवहरूका आआफ्नै कथा हुन्छन् । कथा वाचकपिच्छे कथा फरक परेका पनि हुन्छन् । यी अवयव व अवयवका अवशेषहरूलाई पर्गेल्ने क्रममा ती कथाहरूमा डुबुल्की मार्दै इतिहास खोज्ने हो । कथा नै इतिहास होइन । 

‘कथा डबली–१’ मा सुनाइको इन्द्रजात्राको कथा सम्पूर्ण वृत्तान्त होइन । बरु यसो भन्न सकिन्छ, धेरैमध्ये थोरै र समयले भ्याएसम्म मल्ल के. सुन्दरले सुनाएका हुन् । कथा वाचकपिच्छे फरक फरक कथा हुने अवस्थामा कथावाचकले सुनाएका कथाहरू मात्रै हुन् । यसरी सुनाइने कथा यस्तै हुनुपर्छ भन्ने अनिवार्य पनि हुन्न । सुन्नेले अलिकति चित्त नबुझेको कुरा फेरि सुनाउने बेलामा काट्न सक्छ । सुनेको कथालाई अझ रोचक बनाउन केही कुरा थप्न पनि सक्छ । एवं रीतले यहाँ कथाहरूको निर्माण हुँदै आइरहेको पाइन्छ र यसरी गरिने थपघट नै पनि इतिहास अध्ययनको विषय हुन्छ । कथा डबलीमा सुनेका कथाहरूले इतिहास नै इतिहास मात्र बोल्दैन, किनभने कथा वाचक कथा सुनाउनलाई आएका हुन्, सुन्नेहरू कथा सुन्नलाई आएका हुन्, इतिहास सुन्न र सुनाउनलाई होइन । कथावाचक स्पष्टिकरण दिन्छन्, ‘‘येँयाः (इन्द्रजात्रा) अध्ययेताहरूका लागि एक अमूर्त सम्पदा हुन । तर सरोकारवाला रैथाने समुदायका लागि जीवन्त संस्कृति र सामाजिक आस्था हुन ।’’

नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य, संस्कृति तथा डिजिटलाइजेसन विभागको आयोजनामा भएको यो कथा वाचन कार्यक्रम भावी पुस्ताका लागि डिजिटल अर्काइभ गर्ने उद्देश्यले पनि गरेको छ । यो पहिलो श्रृङ्खला हो, नेवार समाजबाट मात्रै ल्याउने हो भने पनि यस्तो श्रृङ्खला हजारौं हजार बन्छ । नेपालमा नेवार मात्रै छैन, नेपाल भरिबाट ल्याउने हो भने लाखौं श्रृङ्खला बन्छ, बनाउनु मात्रैपर्छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
नेवाःले नेवारलाई गाली गर्न थालेपछि

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर......

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः......

होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्