२८ जेठ २०८३, बिहिबार

भाषाको चासो


अ+
अ-

नेवार समाजबारे जानकार वा यसको जल्दोबल्दो समस्याका बारेमा चासो राख्नेहरू ‘भाषा म्वाःसा जाति म्वाइ’ नाराबाट अनभिज्ञ हुँदैनन् । यस नाराको अनुवाद हुन्छ, भाषा जीवित रहे जाति रहन्छ । भाषा, साहित्य र संस्कृति विषयक कार्यक्रमहरूमा यो नारा प्रायः सुनिन्छ । अझ कतिपय कार्यक्रमस्थलमा यो नारा कुँदिएका व्यानर झुन्ड्याइएको पाइन्छ । साथै, यो नाराका साथमा महाकवि सिद्धिदासको नाम पनि उल्लेख हुन्छ । अर्थात् यो विचार वा धारणा महाकवि सिद्धिदास अमात्यबाट व्यक्त भएकको हो र यसलाई नै नेवार समाजले नाराको रूपमा प्रयोग गरेको हो ।

साँच्चै, भाषा रहे जाति रहन्छ त ? यो एउटा ठुलै प्रश्न हो । यसले कुनै पनि जातिको अस्तित्व रहनु र नरहनुसँग भाषाको सम्बन्ध देखाउन खोजेको छ । तर यो अनुसन्धानको विषय बनेको छैन । भाषा गतिशील हुन्छ । भाषाको उदय र अन्त्य विभिन्न कारणले हुँदैगर्छ । विभिन्न जातिको पनि विकास र विनाश विभिन्न कारणले हुनेहुन्छ । यी दुई फरक विषय हुन् तर नेवार समाजमा एउटै अर्थमा लिई चिन्तित भएको पाइन्छ ।

आफ्नो पहिचान नेवारको रूपमा प्रस्तुत गर्ने कतिपय नेवारलाई आफ्नै भाषा आउँदैन । भाषा नआउँदैमा नेवार नै होइन भन्न मिल्दैन । नेवार संस्कार संस्कृतिमा नै रहेका ती नेवारलाई भाषा नआएपनि नेवार हुनुमा गौरव भने हुन्छ । सिक्न पनि चाहन्छन् । अथवा सिक्न नचाहनुलाई पनि अन्यथा लिनु मिल्दैन । यस अर्थमा भाषा र जातिको सम्बन्ध नेवार भाषा र जातिको संरक्षण र सम्वद्र्धनका लागि खट्ने नेवार अभियन्ताहरूले प्रयोग गर्ने नारासँग सामन्जस्य राख्दैन । अझ भन्नुपर्दा यो नारामा रहेको सन्देश कुनै अनुसन्धानको निचोड होइन । यो भाषाप्रेमीको एउटा भावुकता मात्रै हो ।

नेवार एउटा सभ्यता हो । यसभित्र अनेकौं पक्ष छन् । अनौपचारिक रूपमा ‘नेवार भाषा’ र औपचारिक रूपमा ‘नेपालभाषा’ भन्ने गरिएको आफ्नै एउटा भाषा पनि छ । कतिपयले ‘नेवारी’ वा ‘न्यार कुरा’ भन्ने गरेपनि नेवारी तथा न्यार शब्दमाथि आपत्ती जनाउनुको तात्पर्य, नामलाई नबिगारियोस् भन्ने आसय हो । नेवार समुदायलाई हेप्न वा खसालेर खोल्दा कतिपयले ‘नेवारी’ तथा ‘न्यार’ भन्ने गरेका कारण पनि त्यसरी आपत्ती जनाउने गरेको बुझ्न सकिन्छ । यो कुराको भेउ नपाएर कतिपय अनभिज्ञ नेवार स्वयंले ‘नेवारी’ शब्दको प्रयोग गरेपनि ‘न्यार’ शब्दको प्रयोग गरेको पाइँदैन । नेवारी तथा न्यारजस्ता शब्दहरूमा कुनै ऐतिहासिकता नभएर हिजोआज मात्रै गैरनेवार समुदायले प्रयोग गर्न थालिएको हो । नेवार आफैले आफ्नो भाषाबाट यसको नाम लिनुपर्दा ‘नेवाः भाय्’ भन्ने गर्दछ । यो ‘नेवार भाषा’ शब्दको मौलिक लवज हो । भाषागत रूपमा यसले भन्न खोजेको त ‘नेपालभाषा’ नै हो ।

नेवाः भाय्, नेवार भाषा वा नेपालभाषा, तिब्बेतो बर्मिज भाषा परिवारअन्तर्गत पर्दछ । कतिपयले यसलाई एघारौं बा¥हौं शताब्दीतिर काठमाडौं उपत्यकामा विकास भएको एक भाषा भनेका छन् तर योे हचुवाको अध्ययन वा अभिव्यक्ति हो । लिखित साहित्य सिर्जना पाइनुलाई नै भाषाको जन्म भन्न मिल्दैन ।

प्राचीन नेपालको प्रमुख ऐतिहासिक श्रोत लिच्छविकालिन शिलालेखहरू हुन् । अढाई सयजति शिलालेख प्राप्त छन् । तीबाट के कुरा थाहा पाइन्छ भने, तत्कालिन नेपाली समाजको व्यापार, व्यवसाय, राजनीति, धर्मदर्शन, सामाजिक जनजीवन तथा शैक्षिकलगायत क्षेत्र धेरै मात्रामा समृद्धि भइसकेको थियो । अभिलेखहरू संस्कृत भाषामा छन् तर विभिन्न अड्डा तथा निकायहरूको नाम गैरसंस्कृत भाषामा रहेका छन् । यसको अर्थ हो, यहाँ संस्कृत भाषाको प्रचलनअघि नै एउटा निश्चित सभ्यताको प्रादुर्भाव भइसकेको थियो र अड्डा तथा निकायहरूको नाम स्थानिय भाषामा राखिन्थ्यो । संस्कृत भाषामा अभिलेख राख्दा ती पुराना नामहरूको अनुवाद गरिएन । यसरी नै ती शिलालेखहरूमा करीब साढे दुई सयभन्दा बढी गैर संस्कृत भाषाका शब्दहरू परेका छन् जसले स्थानविशेष, कुलो, नदी, पहाड आदि बुझाउँछ । ती शब्दहरू आजभोलि पनि नेवार समाजमा प्रचलनमा छन् । कतिपयले लिच्छविकालिन ती संस्कृत भाषाको शिलालेखमा आएका गैरसंस्कृत शब्दहरू किराँत भाषाको भन्छन् तर यसरी भन्नेहरूमा भाषिक ज्ञानको अभाव हो । ती लिच्छविकालिन संस्कृत भाषाका अभिलेखहरूमा पाइएको गैरसंस्कृत शब्द अन्य भाषाहरूमा पनि पाइन्छन् । एउटा भाषा परिवारभित्र थुप्रै भाषाहरू हुन्छन् भन्ने कुरा हेक्का राख्नुपर्दछ । किराँत पनि तिब्बेतो बर्मिन भाषा परिवार अन्तर्गतकै एक भाषा हो । किरात मात्रै होइन, गुरुङ, मगर, तिब्बती, जापानी आदि कतिपय भाषाको सामन्जस्य नेवारसँग रहेको पाइन्छ । एउटै परिवारको भाषा भएपछि कतिपय शब्द मिल्नु कुन आश्चर्यको कुरा भयो र ? इतिहासको एक कालखण्डमा नेवार समाजको सम्पर्क किरात समुदायसँग पनि भयो तर ती किरात समुदाय नेवारमा नै बिलय भएको पनि पाइन्छ । नेवार एउटा छुट्टै सभ्यता नभएर आफ्नो मौलिकतालाई कायम नै राखेर विभिन्न जाति, भाषा, धर्म, संस्कृतिहरू विलय भएर विकास भएको पाइन्छ । भाषाकै कुरा गर्ने हो भने, तिब्बेतो बर्मिज भाषा परिवारको भएपनि यसमा भारोपेली भाषाका शब्दहरू धेरै मात्रामा भित्रिएको पाइन्छ । यही भएर कतिपय अवस्थामा यो भारोपेली भाषा नै पो हो कि भनेर झुक्किने गरेको पनि पाइन्छ । यसर्थ लिच्छविकालिन संस्कृत अभिलेखमा प्रयुक्त गैरसंस्कृत शब्दहरू नेवार भाषाका हुन् र त्यो भाषा अहिले पनि चलनचल्तीमा नै रहेको छ ।

लिच्छविकालमा संस्कृत भाषामा शिलालेख राख्ने गरेपनि जनजीवनमा नेवार भाषाकै प्रयोग हुँदो रहेछ भन्ने कुरा बुझियो । मध्यकालमा शिलालेखहरूमा थालनी भागमा संस्कृत र पछि नेवार भाषा प्रयोग गर्ने चलन आयो । अझ ‘अथः नेपालभाषा लिखते’ भन्दै जनबोली भाषा प्रयोग गरिन्थ्यो । अझ रमाइलो कुरा त के हो भने, ‘अथः देश भाषा लेखते’ भनेको पनि पाइन्छ अर्थात, त्यति बेला राष्ट्रभाषाको मान्यता यसले पाएको थियो । समाजमा मैथिल भाषाको प्रयोग पनि हुन्थ्यो । त्यति बेलामा साहित्य सिर्जनामा विशुद्ध नेवार भाषा, विशुद्ध मैथिल भाषा र नेवार तथा मैथिल दुबै भाषाको प्रयोग गरी लेखिएको पाइन्छ । यो मध्यकालिन नेपालको एउटा चित्र हो ।

नेवार भाषाको प्रयोगमा राज्यसत्ताबाट प्रतिबन्ध लगाउने काम राणा शासकहरूबाट भयो । नेवार भाषामा साहित्य सिर्जना गरेकै अभियोगमा यसका लेखकहरू राज्यद्वारा प्रताडित हुनपुगे । भाषामाथिको यो दमन राणा शासनको पतनपछि पनि कुनै न कुनै रूपमा चालू नै रह्यो । र, प्रतिकारमा नेवार समाजले पनि भाषा र साहित्यको उत्थानका लागि एक खालको विद्रोह गर्ने कामलाई अगाडि बढाए । यही बेला जनजागरणका लागि ‘भाषा म्वाःसा जाति म्वाइ’ भन्ने नारालाई अगाडि सारियो । भाषा बचाउनका लागि जातिको कुरा ल्याएको भनेर बुझ्न सकिन्छ ।

‘भाषा म्वाःसा जाति म्वाइ’ भन्ने भनाईसँग महाकवि सिद्धिदासको नाम जोडेपनि वास्तवमा यससँग सिद्धिदासको कुनै सम्बन्ध छैन । सिद्धिदासबाट नेपालभाषामा थुप्रै काव्यकृतिहरूको सिर्जना भएको छ र भाषा र साहित्यका मामिलामा उनको स्थान उच्च छ । साना ठुला गरी करीब पचास वटा कृति छन् । तर ती कुनै पनि कृतिमा ‘भाषा म्वाःसा जाति म्वाइ’ भन्ने वाक्य परेको पाइँदैन ।
भाषासम्बन्धी यो नारा २०२२ यता मात्रै प्रयोगमा आएको पाइन्छ । भाषा र साहित्यका सम्बन्धमा नेवार समाजले यो समयमा एउटा ठुलै विपत्ती झेल्नु परेको थियो । त्यसअघि राष्ट्रिय प्रशारणमा रहेको रेडियो नेपालबाट दैनिक पाँच मिनेटको समाचार प्रसारण नेपालभाषाबाट हुन्थ्यो तर १ वैशाखबाट उक्त समाचार प्रसारणमा रोक लगाइयो । २०१७ सालको राजनीतिक परिवर्तन त थियो नै, अब भाषामाथिको यो भेदभाव सुरु भयो । यसको प्रतिकारमा नेवार युवाहरूले साहित्यिक आन्दोलन गर्न थाले । नेवार इतिहासमा यो समयावधि ‘बाइस सालको आन्दोलन’ नामबाट चिनिन्छ । कतिपय गीतको सिर्जनामा प्रशासनले आपत्ती जनाउने हुँदा मृतक व्यक्तको नाममा रचना गरी गाउने गरिन्थ्यो । यसरी मृतकको नाममा गीत लेख्ने काम धेरै जसो कवि दुर्गालाल श्रेष्ठबाट हुन्थो ।

‘भाषा म्वाःसा जाति म्वाइ’ भन्ने भनाई वा नारा सिद्धिदासकै हो भन्ने मान्यता नेवार समाजमा व्याप्त छ । तर उक्त भनाई सिद्धिदासको नभएको जानकारी अर्का साहित्यकार धूस्वां सायमिबाट भयो । २०५४ सालको पुस महिना (२५–२७ गते) विराटनगरमा झीपुचः नामको संस्थाद्वारा आयोजित पूर्वाञ्चन नेवार भेलामा सायमिले यो कुरा मञ्चबाट नै बोलेका थिए । उनका अनुसार जनजागरणका लागि यो नारा दुर्गालालबाट तयार पारिएको भएपनि पछि सिद्धिदासको नाममा प्रख्यात भयो । त्यो बेला म विश्वभूमि दैनिकको सम्वाददाता थिएँ र सोही कुरा समाचारको रूपमा प्रकाशित गरेको थिएँ (२९ पुस, पृ. १०) । पछि दुर्गालालसँग यसै विषयमा विस्तृत कुरा गर्न खोज्दा नकार्नु भएन र कुरालाई मोडेर विषयान्तर गरिदिए ।

नेवारहरूमा भाषाको चासो कतिसम्म रहेछ भन्ने सन्दर्भमा एउटा अर्को पनि दृष्टान्त छ । लेखक गिरिजाप्रसाद जोशीलाई ‘भाषा म्वाःसा जाति म्वाइ’ नारा पर्याप्त लागेन वा उपयुक्त भएन । उनले यही प्रयोजनका लागि ‘नेवार भाषा बोल्नेको आयु बढी हुन्छ’ सम्म पनि भन्न पुगे र त्यसैलाई प्रचार गर्न चाहे । यो भनाइले उनका साथीहरूलाई त धर्मसंकटमा नै पारिदिए । उनको जिकिर थियो, यो भाषामा प्रयोग हुने स्वरहरू यस्ता यस्ता हुन्छन् जसको उचारणले मान्छेको आयु बढ्छ । पछि एउटा अन्तर्वार्तामा यससम्बन्धी उनै लेखकसँग प्रश्न गर्दा मान्छेहरूको चासो आफ्नो आयुमा हुने भएकोले भाषा जोगाउका लागि यस्तो पनि भन्न् पर्दछ भन्ने जवाफ दिए ।

संस्कृतिका अनेक अङ्गमध्ये एक भाषा पनि हो । भाषाले इतिहासको नालिबेली बोलिरहेको हुन्छ । एउटा निर्दिष्ट पहिचान पनि दिन्छ । यी पहिचानहरू समुदाय, समाज, राष्ट्र र मानव सभ्यताकै विशिष्ट निधि हुन् । कुनै एक भाषा नासिनुले धेरै कुरालाई असर पार्दछ । यस अवस्थामा नेवार समाजले आफ्नो भाषाको चासो राख्नु स्वाभाविक मात्रै होइन, अनिवार्य पनि छ । यो चासो राज्यले राख्नु पर्दछ तर राज्य आफै लामो समयदेखि यो भाषाको दुृश्मन भइरहेको अवस्था छ । राज्य नै दुश्मन भएको अवस्थामा नेवार भाषाको संरक्षण कार्य सहज हुन्न । राज्य सत्ताको छत्रछायाँमा हुर्केकाहरू पनि नेवार भाषाको अनौचित्य साबित गर्न तथा यसको अहितमा लागिरहनु स्वाभाविक हो भने कतिपय नेवार स्वयं पनि राज्यसत्ताको नजिक पुग्न वा हिनताबोध गरी यो भाषाबाट टाढिरहेका हुन्छन् । यस अवस्थामा नेवार भाषाको संरक्षण कार्यमा लाग्नु आफैमा राज्यसँगको विद्रोह तथा क्रान्तिकारी हुनु हो ।

व्यक्ति तथा समाजका आआआफ्नै विशिष्ट समस्या रहेका हुन्छन् । ती समस्यासँग जुध्छन् वा हार्छन् । हजारौं वर्षदेखिको सभ्यताको विरासत बोकेर आएको नेवारलाई अरु कुरामा भन्दा बढी चिन्ता आफ्नो भाषा हो । अत्याधुनिक प्रविधि तथा ज्ञानविज्ञानमा यो समुदायको पहँुच छ । तर राज्यले लिएको अनुपयुक्त भाषानीतिका कारण यसले आफ्नो भाषालाई अन्य पक्षहरूजस्तै सशक्त रूपमा अगाडि बढाउन नसकिरहेको अवस्थामा भाषाको चासो हुनु स्वाभाविक हो ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्