संस्कृति » लेख/फीचर/समीक्षा


 

लुम्बिनी कहाँ पर्छ ?


बसन्त महर्जन
September 16, 2013, Monday

नेपाल सरकारले दशैंअघि लुम्बिनी भगवान बुद्धको जन्मस्थल होभन्ने सन्देश र लुम्बिनीमा रहेका पुरातात्विक महत्वका वस्तुको  चित्र रहेको एक सय रुपैयाँको नोट प्रकाशन गर्न लागेको छ । बुझिएअनुसार, बुद्ध भारतमा जन्मेको भन्ने अफवाहलाई चिर्न अथवा लुम्बिनीको पर्यटन विकास गर्न यो नोट प्रकाशन गर्न लागेको हो । तर यो सन्देशले बुद्धको जन्म भारतमा भएको अफवाह चिर्न सक्ने देखिंदैन । बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्दछ भनिएन भने नोट प्रकाशन गर्न खोजिएको उद्देश्य पूरा हुने देखिंदैन । 

गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो भन्नेमा कहिल्यै दुई मत थिएन । पाली, संस्कृत, चिनियाँ र तिब्बती भाषामा रहेका बौद्ध वाडमयका सबै स्रोतहरुले बुद्धको जन्मस्थल लुम्बिनी नै भनेका छन् । बुद्ध जन्मस्थलको तीर्थाटन गर्न लुम्बिनी बाहेक कोही कहीं जाँदैनन् । भारत मुगल साम्राज्यको उदयपछि बुद्ध धर्म र गतिविधिमा -हास आउँदै लुम्बिनी नै कहाँ पर्दछ भन्ने कुरा नै थाहा नपाउने गरी ओझेलमा पर्नुले अहिले समस्या आएको हो । अठारौं शताब्दीमा भारत आएका बेलायतसहित पश्चिमका विद्वानहरुले बुद्ध र बुद्ध धर्म सोधखोज गर्दा लुम्बिनी नभेटेका हुन ।

अशोकस्तम्भ फेला परेपछि

१ डिसेम्वर सन् १८९६ का अघि जर्मन पुरातत्वविद् ए. फूहररले नेपालको रुम्मिनदेहीभन्ने ठाउँमा मौर्य सम्राट अशोकको अभिलेख सहित स्तम्भ देखेपछि मात्र अहिलेको लुम्बिनी भेटिएको हो । अशोक स्तम्भमा अभिलेख हिद बुधजाते अर्थात यहाँ बुद्ध जन्मेको लेखिएको र यहींभनेर चिनो लगाइदिएको मार्कर स्टोनभेटिएपछि मात्र अरु सोधखोज र अनुमान सेलाएर नेपाली भूमिमा लुम्बिनी पर्छ भन्नु तथ्य स्थापित भयो । त्यसपछिका अध्ययनहरुबाट पनि नेपालको रुपन्देहीमै बुद्ध जन्मिएका प्रमाण भेटिंदै गए ।

बुद्ध भारतमा जन्मिएका हुन् भन्नेहरुले पनि बुद्ध जन्मेको ठाउँ देखाउँदा नेपालको लुम्बिनी बाहेक अन्यत्र देखाउन सक्दैनन् । वाडमयहरूका बीच बुद्धको जन्मस्थल लुम्बिनी भन्नेमा एकमत रहे जस्तै बुद्धको गृहनगर कपिलवस्तु रहेमा पनि विवाद देखिंदैन । तत्कालिन राज्यहरूमा कपिलवस्तु सानो भएपनि विस्तृत भूभागमा फैलिएको थियो । तर, कोशल नरेश विडूडभको आक्रमणपछि शक्तिहीन र छिन्नभिन्न बनेको त्यो राज्य अहिले नेपाल र भारतमा बाँडिएको छ । दुबै मुलुलले आफ्नो क्षेत्रमा परेको कपिलवस्तुलाई बुद्धको गृहनगर बुझ्नु  अहिलेको खास समस्या हो ।

प्राचीन कपिलवस्तु आफ्नो मुलुकमा पर्ने हुँदा भारतीयहरूले बुद्ध भारतमा जन्मेको भन्छन् भने लुम्बिनी र कपिलवस्तुको केही क्षेत्र आफ्नो मुलुकमा परेकाले नेपालीले पनि बुद्धको जन्मस्थल नेपाल भन्नु अस्वाभाविक  होइन । साधन, स्रोत र प्रचारले मात्र भारतको आवाज चर्को सुनिएको हो ।

प्राचिन कपिलवस्तु भनेर भारतले देखाउने पुरातात्विक स्थलहरू मुख्य रूपमा पिप्रहवा र गनवरिया हुन् । तर उसले ती ठाउँलाई कपिलवस्तु मात्रै भनेको छ, बुद्धले २९ वर्ष बिताएको राजप्रासाद भनेर कुनै पनि संरचनालाई चिनाउन खोजेको छैन । राजप्रासादको रूपमा चिनाउन मिल्ने संरचना त्यहाँ छैनन् पनि । बरु नेपालस्थित तिलौराकोटलाई राजप्रासाद भनेर चिनाउने सुरुका पुरातत्वविद्हरू भारतीय थिए । अहिले त कपिलवस्तुको राजधानीको मुख्य भाग नेपालमा पर्छ भन्ने थप प्रमाण पनि फेला परिसकेका छन् ।

भारतले आफ्नो भूमिमा नक्कली लुम्बिनी बनायो वा लुम्बिनी जस्तै अर्को संरचना निर्माण गर्दैछ भन्ने भनाइ कल्पना बाहेक केही होइन । त्यस्तो केही भएको छैन र लुम्बिनीका नाममा भारतीय सरकारले बजेट विनियोजन गरेको पनि छैन । बरु नेपालको लुम्बिनीमा उसले आफ्नो विहार बनाउनुका साथै म्यूजियम निर्माण गर्न सहयोग गरेको छ । आफ्नो क्षेत्रको बौद्ध पुरातात्विक स्थलको संरक्षण गर्नु उसको दायित्व हो र त्यसो गर्दा नक्कली कपिलवस्तु वा नक्कली लुम्बिनी बनाएको बुझ्नु तत्कालिन इतिहास र पुरातत्व सम्बन्धी ज्ञानको अभाव हुनु हो ।

बुद्धको जन्मभूमि लुम्बिनी र गृहनगर कपिलवस्तु भन्ने कुरा अकाट्य भएपनि तिनीहरू कहाँ पर्छन् भन्ने प्रश्नको उत्तर दिन सक्छुपर्छ । तमाम प्रमाणहरू चित्त बुझेर नै संयुक्त राष्ट्रसंघ अन्तर्गतको युनेस्कोले लु्िम्बनीलाई विश्व सम्पदा सूचिमा समावेश गरेकोले लुम्बिनी बुद्धको जन्मस्थल रहेकोमा अब कसैले प्रश्न उठाउन सक्दैनन् । तर, बुद्धको जन्मस्थल लुम्बिनी अन्यत्र होइन, नेपालमा पर्दछ भन्ने बताउन भने आवश्यक छ । नेपाल सरकारले प्रकाशित गर्ने एक सय रूपैयाको नोटले दिनुपर्ने सन्देश पनि त्यही हो ।

(साप्ताहिक खबरपत्रिका हिमालमा छापिएको यो लेख नेवाः टाइम्सले साभार गरेको हो)

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्