युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह
काठमाडौं, साउन २७। राष्ट्रिय मानव अधिकार आयोगले युवाको सुरक्षित, समान र अर्थपूर्ण सहभागिताको वातावरण सुनिश्चित गर्न सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै आयोगले युवाविरुद्ध हुने अनलाइन तथा प्रत्यक्ष धम्की, हिंसा, भेदभाव र दमनका घटनाको निष्पक्ष अनुसन्धान गरी पीडितलाई प्रभावकारी संरक्षण र न्याय उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको हो।
आयोगका अनुसार सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तरपुस्तागत ज्ञान र सीपको हस्तान्तरण प्रभावकारी हुन सकेको छैन। युवाका लागि पर्याप्त तथा मर्यादित रोजगारीका अवसर सिर्जना हुन नसक्नु र देशको समग्र विकासमा उनीहरूको ज्ञान, सीप तथा ऊर्जाको प्रभावकारी परिचालन हुन नसक्नु चिन्ताको विषय बनेको आयोगले जनाएको छ।
युवाको विचार सुन्ने, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्नु राज्यको दायित्व भएको आयोगले स्पष्ट पारेको छ।
आयोगले युवाको आवाजलाई लोकतान्त्रिक समाजको आधारका रूपमा व्याख्या गर्दै प्रत्येक युवालाई स्वतन्त्र रूपमा अभिव्यक्ति दिने, शान्तिपूर्ण सभा गर्ने र संगठन गर्ने अधिकार रहेको जनाएको छ। आलोचनात्मक चेत वा फरक मत राखेकै आधारमा त्यस्ता अधिकारमाथि अनुचित बन्देज लगाउन नहुने आयोगको भनाइ छ।
अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने कुनै पनि सीमा संविधान, कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकारका मापदण्डअनुकूल, आवश्यक र समानुपातिक हुनुपर्ने आयोगले जनाएको छ। युवालाई जिम्मेवार, शान्तिपूर्ण र तथ्यमा आधारित ढङ्गले आफ्ना विचार व्यक्त गर्ने वातावरण निर्माण गर्नु राज्यको जिम्मेवारी भएको पनि आयोगले उल्लेख गरेको छ।
मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन तथा नेपालको कानुनमा युवाको अधिकार सुनिश्चितताका लागि विभिन्न व्यवस्था भए पनि सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा विचार व्यक्त गर्दा युवाले धम्की, दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति, अनलाइन हिंसा, अनावश्यक निगरानी तथा अनुचित कानुनी कारबाहीको जोखिम सामना गर्नुपरेका गुनासा आयोगमा प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
आयोगले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालसम्बद्ध निकाय र संस्थालाई युवाको सुरक्षित, समान र अर्थपूर्ण सहभागिताको वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ।
सन् १९९८ मा पोर्चुगलको लिस्बनमा आयोजित युवासम्बन्धी विश्व सम्मेलनले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउन सिफारिस गरेको थियो। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ मा प्रस्ताव नम्बर ५४/१२० मार्फत उक्त सिफारिस अनुमोदन गरेपछि सन् २००० देखि विश्वभर अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो।
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा "फरक परिवेश, साझा आकांक्षा” ( डिफरेन्ट कनटेक्स्ट, कमन एस्पिरेशन्स ) रहेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment