काठमाडौं उपत्यकाका स्थानीय तहबीच विपद् व्यवस्थापनमा समन्वय र साझा प्रयासमा जोड
काठमाडौं, साउन २० । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष, विपद् फोकल पर्सन, कर्मचारी, विभिन्न विषयगत विज्ञ तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तहको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)द्वारा आयोजित कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरूले विपद् व्यवस्थापनका लागि आफ्ना पालिकाले अवलम्बन गरेका नीतिगत व्यवस्था, अभ्यास तथा कार्यान्वयनका क्रममा सामना गरिरहेका चुनौतीहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी विज्ञहरूले स्थानीय तहहरूले गरेका प्रयासको प्रशंसा गर्दै ती प्रयासलाई एकीकृत र समन्वित रूपमा अघि बढाउन सके विपद् व्यवस्थापन अझ प्रभावकारी बन्ने धारणा राखे।
नेपाल सरकारका पूर्वसचिव तथा सेन्टर फर इनोभेटिभ्स् गभरनेन्सका कार्यकारी अध्यक्ष कृष्णहरि बास्कोटाले संविधान तथा प्रचलित कानुनले स्थानीय तहलाई विपद् व्यवस्थापनका क्षेत्रमा प्रदान गरेका अधिकार र जिम्मेवारीबारे प्रस्तुतीकरण गरेका थिए।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद् व्यवस्थापन सबै सरोकारवाला निकायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सबैको समन्वित प्रयासबाट मात्र प्रभावकारी व्यवस्थापन सम्भव हुने बताए।
त्यसैगरी, प्राधिकरणका सहसचिव प्रदीप कुमार कोइराला ले विपद्को उच्च जोखिमका समयमा स्थानीय तहहरूले गरिरहेका कार्य र अभ्यास एकअर्काबीच साझा गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा स्थानीय तहबीच अनुभव आदानप्रदान, समन्वय सुदृढीकरण तथा विपद् व्यवस्थापनका सफल अभ्यास विस्तार गर्ने विषयमा विशेष जोड दिइएको थियो।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment