१ जेठ २०८३, शुक्रबार

दशैं मिसिएको मोहनी


अ+
अ-

नेवार समुदायको पर्व मोहनीको मौलिकता शक्तिसाधना भए पनि यसले बाह्य संस्कृतिको प्रभावमा परी जमरा, घटस्थापना र दुर्गापूजालाई अँगालेको देखिन्छ।

 

नेपाल र भारतका विभिन्न समुदायले आश्विनशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने चाड हो, दशैं। भारतमा दशहरा भनिने यो चाड रावणमाथि रामको विजयोत्सवका रूपमा मनाइन्छ। त्यस्तै, महिषासुरमाथि देवी दुर्गाले विजय पाएको भन्दै विभिन्न ठाउँमा दुर्गापूजा आयोजना गरिन्छ। नेपालमा यही प्रसङ्ग बेग्लै विधिविधान सहित दशैं नामबाट मनाइन्छ।

थारू लगायत कतिपय समाजमा दशैंमा कुभिन्डो काटिन्छ। पूर्वको राई–लिम्बू समाजमा पनि टीकाटालो र खानपान गरेर मनाइन्छ। यी समुदायमा दशैं मनाउने निश्चित विधिविधान भने छैन। दशैं आफ्नो परम्परागत चाड नभएको, पछि शासकबाट लादिएको र ठूलाठालुले शासकको सिको गरेकाले मात्रै आफूहरूले मनाउन थालेको उनीहरूको भनाइ छ। चेपाङ समाजमा दशैंका वेला भीमसेनको पूजा हुन्छ।

नेवार समाजमा चाहिं यही वेला ‘मोहनी’ नामको चाड मनाइन्छ। वेलावेला दशैं र मोहनी एउटै पर्व हो कि फरक भन्नेबारे विवाद पनि चल्छ। तर, दशैं र मोहनीबीचको बहसलाई विश्लेषण गर्दा सांस्कृतिक विकासका बेग्लै तथ्य भेट्टाइन्छ।

नेपालका सांस्कृतिक जात्रापर्व पुस्तकका लेखक कुलचन्द्र कोइरालाका अनुसार, दशैंको महत्ता कहिलेदेखि शुरू भयो, निश्चित भन्न सकिँदैन। वैदिक साहित्यमा भगवती दुर्गाबारे उल्लेख छैन, तिनमा वाणी (वाक्) तथा अदिति, उषा आदि देवीको अस्तित्व मात्र छ। ऋग्वेदको खिलसूक्तमा लक्ष्मीरूपमा शक्तिको विशेषताको वर्णन छ। यद्यपि, वैदिक संहिताहरूमा शक्तिरूपमा देवीको महत्तालाई इङ्गित गरिएका सङ्केत नपाइने होइन।

कोइरालाले लेखेका छन्, ‘पछिका कतिपय पुराणले दशैंको व्रत एवं दुर्गाको उपासना गरी वरदान प्राप्त गरेर त्रिलोक विजयी शत्रु रावणलाई भगवान् रामचन्द्रले मार्नुभएको कथा उल्लेख गरेका छन्। तापनि, ऐतिहासिक अन्वेषणकर्ताहरू पुराणको उक्त कथासँग त्यति सहमत छैनन्। महाभारत कथामा दुर्गाको विशेषता, राजा युधिष्ठिरले गुप्तवास बस्ने वेलामा गरेको स्तुतिबाट र केही अरू पर्वहरूका प्रसङ्गबाट ज्ञात हुन्छ, तापनि शिव तथा विष्णुको जस्तो वर्चस्व दृष्टिगत हुँदैन…।’

कोइराला आश्विनशुक्ल नवरात्रिमा भगवती दुर्गाको उपासना गर्ने परम्परा चाहिं इसाको प्रारम्भतिरै शुरू भएको अनुमान गर्छन्। दशैंमा पाठ गरिने चण्डीमा मौर्य सेनाको उल्लेख भएबाट भारतमा मौर्यवंशको पतनपछि मात्र यसको विकास भएको स्पष्ट हुन्छ। भारतीय इतिहासमा बौद्ध धर्मले मौर्यकालमा संरक्षण पाएको थियो भने अन्तिम मौर्य सम्राट् बृहद्रथको हत्या गरी ईपू १८७ मा सेनापति पुष्यमित्र सुंगले नयाँ राजवंश शुरू गरेका थिए। यस आधारमा कोइरालाको अनुमान ठीकै लाग्छ।

भारतीय हिन्दू समुदायमा दशहराले खासै महत्त्व राख्दैन। सामूहिक रूपमा रावणको पुतला दहन गर्ने तथा दुर्गापूजापछि मूर्ति विर्सजनको उत्सव हुने भए पनि नेपालमा जस्तो घरघरै मनाइँदैन। नेपालमै पनि दशैंको खास प्रभाव मध्यपहाडी क्षेत्रमा छ।

नेवार सभ्यतामा चाहिं मातृदेवीहरूको मूर्ति बनाउने क्रम इसापूर्व पहिलो शताब्दीमै शुरू भइसकेको पाइन्छ। यसमा पाटनको च्यासल टोलस्थित गजलक्ष्मी, हाँडीगाउँको श्रीलक्ष्मी तथा बल्खुको कुमारी, वैष्णवी, वाराही लगायतका मूर्ति उल्लेखनीय छन्। हाँडीगाउँमै पाइएको महिषमर्दिनी मूर्ति इसाको तृतीय शताब्दीको मानिन्छ। मातृदेवीका मूर्ति लिच्छविकालमा बने पनि शाक्त सम्प्रदायको विकास मध्यकालमा भएको हो। लिच्छविकालमा दशैं पर्वको सङ्केत नै पाइँदैन।

मोहनी पर्वका सन्दर्भमा नेवारभित्रै पनि विविधता छ। विभिन्न समयमा विविध पक्ष जोडिई मोहनी भव्य सांस्कृतिक पर्व बन्न पुगेको देखिन्छ।

आश्विनशुक्ल प्रतिपदाको बिहान जमरा राखेर मोहनी प्रारम्भ गरिन्छ। नेपाल भाषामा जमरा राख्नुलाई ‘नःला स्वनेगु’ भनिन्छ। जमरा मोहनीको प्रारम्भदेखिकै चलन हो या अन्यत्रबाट भित्रिएको, प्रष्ट छैन। यही वेला अन्य समुदायले जमरा राखेर घटस्थापना पनि गर्छन्। मोहनी पर्वमा जमराको मौलिकता खुट्टिइनसके पनि अहिले यो अनिवार्य जस्तै भइसकेको छ। नेवार समाजमै घटस्थापना पनि भित्रिइसकेको छ।

रामले रावणमाथि विजय गरेकाले विजयादशमी मनाइन थालेको प्रसङ्ग नेवार समाजमा जोडिँदैन। दुर्गा भवानीको प्रसङ्ग पनि मोहनी पर्वमा पछि मात्र जोडिएको अनुमान सांस्कृतिक अध्ययनबाट हुन्छ। सप्तमीमा फूलपाती भित्र्याउने विधि पनि मध्यकालमा मल्ल राजदरबार, भारदार अनि सीमित वर्गमा मात्र भेटिन्छ, सर्वसाधारणमाझ् होइन। नेवार सर्वसाधारणले फूलपाती देखेको पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेपछि मात्र हो। त्यसयता गोरखाबाट ल्याइने फूलपाती कीर्तिपुरको क्वाःचोस्थित उमामहेश्वर मन्दिर पछाडिको आगम घरमा पनि भिœयाइयो। यससँगै त्यहाँ गोरखाबाट एक मगर पनि ल्याएर राखियो। तर, मन्दिरमा उनको कुनै भूमिका नभएबाट फूलपातीको प्रचलन त्यसअघि सर्वसाधारणमाझ् नरहेको प्रष्ट हुन्छ।

दशैंको अष्टमीको राति खासै विधि हुँदैन। तर, सोही दिन नेवार समाजमा ‘कूछिभ्वय्’ अनिवार्य खानुपर्छ। सामान्य रूपमा यो कुलका सदस्य मात्र बसेर खाइने भोज भए पनि यसका विधिविधान तथा प्रतीकले तान्त्रिक अर्थ राख्छन्। सम्भवतः यो भोलिपल्ट नवमीका दिन सम्पन्न गरिने ‘स्याकुत्याकु’ को तयारी हो। स्याकुत्याकु भनेको ‘नःला स्वां’ (जमरा) राखिएको कोठामा पूजाआजा गर्ने तथा बलि दिने कार्य हो।

त्यस क्रममा हातहतियार तथा औजार पनि पुजिन्छन्। यति वेला पुजिने मुख्य वस्तु चाहिं जाँडरक्सी राखिने भाँडो ‘थायपिं’ हो। यसलाई आजु–अजिमा अर्थात् पुर्खाको प्रतीक मानिन्छ। यससँगै विशेष पूजा गरी ‘मोहनी फयेगु’ भनेर ‘ध्वाँसो थाप्न’ बत्ती बालिन्छ। अरू देवदेवीसँगै दुर्गा भवानीको पूजा गरिन्छ। तर, बौद्ध नेवारहरूमाझ् दुर्गाको सम्बन्ध छैन। अर्थात्, मोहनीमा दुर्गापूजा गरिनु बाह्य सांस्कृतिक प्रभाव हो।

नवौं दिनको विधि ‘शक्तिसाधना’ हो। भोलिपल्ट दशमीका दिन ‘चालं’ भनी शक्तिसाधनाबाट सिद्धि पाएको मान्यता अनुसार परिवारका सबै सदस्यले पूजाकोठामा राखिएका हातहतियार, औजार लगायत ग्रहण गर्छन्। यसपछि टीकाटालो गर्ने क्रममा नवमीका दिन थापिएको ध्वाँसोलाई ‘मोहनी सिन्हः’ भनी निधारमा लगाइन्छ। यस दिन रातो टीका लगाइए पनि कालो टीकालाई विशेष स्थान दिइएको छ। साधनाकै क्रममा राखिएको क्वखा (रातो–सेतो कपडाको धरो) पनि गलामा लगाइन्छ।

यो पूजाविधिको विस्तृत रूप ‘पायाः’ भनेर निकालिने खड्गसिद्धि जात्रा हो। काठमाडौंका किलागल, तेबहाल, कोहिति, असन, मरु, मखन, यटखा, प्याफल लगायत टोलमा मानिसहरू साधनामा प्रयुक्त खुँडा लगायत हतियार बोकी बाजागाजासाथ पंक्तिबद्ध भई निस्कन्छन्। त्यहाँबाट निश्चित क्षेत्रको परिक्रमा गरी पुनः आफ्नो ठाउँमा फर्केपछि मोहनी विसर्जन भएको मानिन्छ। यस प्रकार मोहनी मूलतः शक्तिसाधनासँग सम्बद्ध छ। तर, दशैं दुर्गा भवानीको उपासना हो।

यी दुवै चाड कहिलेबाट प्रचलनमा आए भन्ने प्रश्न बडो जटिल छ। लेखक पुण्यरत्न वज्राचार्यले झीग नखः चखः पुस्तकमा दुइटा मत अघि सारेका छन्। एउटा मत अनुसार, मोहनी चाडका अवसरमा खड्गयात्रा (पायाः) को चलन भएकाले यसको थिति नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि बसेको हुनुपर्छ। अर्को मत अनुसार, राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा तलेजु भवानी लिएर आएदेखि मात्र मोहनी नखः मनाउन थालिएको हो।

मोहनी र दशैंलाई पर्यायवाची रूपमा लिएका वज्राचार्यका दुवै मत भरपर्दा छैनन्। किनकि, नेपालमा तन्त्रयान निश्चित पद्धति वा कालखण्डसँग सम्बन्धित छैन। शैव, बौद्ध र हिन्दूहरूले अपनाएको तान्त्रिक पद्धति तन्त्रको उच्चतम विकासको रूप हो। मोहनीमा अपनाइने तान्त्रिक पद्धति आदिम देखिन्छ। मोहनीमा कुनै धर्मविशेषको सङ्केत पनि नपाइने हुनाले यसलाई यी धर्मसम्प्रदाय काठमाडौं उपत्यकामा आउनुअघिदेखिकै संस्कृति भन्न सकिन्छ। वज्राचार्यले भने जस्तो नेसं ४४४ मा तलेजु भवानीको प्रवेशसँगै शुरू भएको नभई परम्परादेखि चल्दै आएको मोहनीमा तलेजुको प्रसङ्ग थपिएको चाहिं सकिन्छ।

मोहनी धर्मविशेषको नभएर सांस्कृतिक चाडका रूपमा प्रचलनमा छ। हिन्दू धर्मावलम्बीको मोहनीमा हिन्दू प्रभाव र बौद्ध धर्मावलम्बीको मोहनीमा बौद्ध पद्धति पाइनु स्वाभाविक हो। लेखक वज्राचार्यले भने जस्तो पायाः (खड्गसिद्धि यात्रा)मा बौद्धमार्गी मात्र नभई हिन्दू पनि सहभागी हुन्छन्। दशैं वा मोहनीमा पशुबलिको प्रसङ्ग हुन्छ। तर, बौद्धहरू पशुबलि विनै उत्तिकै महत्त्वसाथ मोहनी मनाइरहेका हुन्छन्।

मोहनी पर्वको कुनै एउटा पक्ष वा प्रसङ्गलाई लिएर निष्कर्षमा पुग्नु सही अध्ययन होइन। कुनै पनि मानव संस्कृतिले लामो कालखण्डमा अनेकौं कुरा आत्मसात् गरेको हुन्छ। अर्कातिर मोहनीमा दशैं भेट्टाउन सकिन्छ, तर दशैंमा मोहनी भेट्टाइँदैन। यस अर्थमा हिन्दू धर्ममा प्रचलित दशैंलाई यसले आत्मसात् गरिसकेको तर पहिल्यैदेखि चलिआएको परम्परा पनि छाडिनसकेको भनी अर्थ्याउन उचित हुने देखिन्छ।

(साभार: हिमालको २०७९ असोज )

 

 

Comments (1)

dipak tuladharsays: Oct 27, 2025 10:13
लेख राम्रो लाग्यो । यो बाहेक, अर्को 2 वटा कुरा थप्न मन लाग्यो ।1) नेवार जातीमा टिका लगाइदिनेले दक्षिणा दिने चलन थिएन । पछि मोहनिमा पनि टिका लगाएर दक्षिणा दिने चलन भित्रीन्दैछ । नेवारमा मोहनि मात्र होइन हरेक पुजा-आजामा टीका लगाइदिने चलन छ । टीका प्राय बर्मू बाज्या / गुर्जुले लगाइदिनु हुन्छ र वहाँहरुलाई दक्षिणा दिइन्छ ।दशैमा ठुलाले सानोलाई रातो टिका लगाइन्छ भने, मोहनिमा गुर्जु / बर्मू बाज्याले कालो मोहनि टिका लगाइदिनु हुन्छ ।2) दशैँ खस आर्यले चैत्र महिनामा मनाइने पर्व हो । चैत्रमा गर्मी हुने भएकोले दशैलाई पछि असोजमा सारिएको हो । मोहनि पर्व शुरु देखि असोजमै मनाइन्दै आएको हो ।
Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्