तीज, श्रृंगार र हाम्रो दोहोरो चरित्रकाे समाज
तीज नजिकिँदा सामाजिक संजालमा फरक फरक दृश्य देखिन्छन् – एकातिर महिलाहरु रङ्गीन पहिरनमा सजिएर नाचगान गर्दै रमाईरहेका, भने अर्कोतिर कमेन्ट बक्समा तिनै महिलामाथि गरिएका सुन्नै नसकिने नकारात्मक शब्दहरु। चाडबाडमा खुशी खोज्ने महिलालाई “फजुल खर्च गर्ने”, “बुद्धि नभएकी” भन्ने टिप्पणी कसरी सहजै गर्छन भन्ने धेरै उदाहरण छन् ।
केही दिन अगाडिको एउटा सुपर मार्केट घटनाले यो मानसिकता अझ स्पष्ट पारेको छ । एक महिलाले १ हजार १ सय रुपैयाँ हालेर सुपरमार्केटबाट लिपिस्टिक किनिन् । उनलाई त्यसको गुणस्तर कमजोर लाग्यो । उनले उपभोक्तालाई सजग गराउने उद्देश्यले भिडियो बनाईन ग्राहक ठगिंदैछन, सामान किन्दा होशियारपूर्वक किन्नुहोला” भनेर आवाज उठाईन् ।
प्रश्न त उठ्यो तर उनको आवाजलाई कसले सुन्ने ? उक्त सुपरमार्केटको ब्यबस्थापनले सुधारबारेमा प्रतिक्रिया दियो कि दिएन ? उपभोक्ता अधिकार निकायले सरोकार राख्यो कि राखेन? तर यहाँ त्यस्तो भएन । बरु तिनै महिला माथि सामाजिक संजालका कमेन्टहरु यस्तो आए-
“११०० हालेर लिपिस्टिक किन्नै पर्छ ? बुद्धि छैन।”
“आइमाईको बुद्धि हुन्न फजुल खर्च गर्ने आईमाई”
“यस्तै बिग्रेका आईमाईले गर्दा घर-परिवार भाँडिन्छ ।”
त्यसो भए समस्या लिपिस्टिकमा थियो कि हाम्रो मानसिकतामा?
हामी प्राय: मुद्दालाई बङ्ग्याउन वा छल्न एकदम सिपालु छौं । हामी सामानको गुणस्तरबारे बहस गर्नु भन्दा महिलाको श्रृंगारलाईनै अपराधी बनाई दोषारोपण गर्छौं ।
उपभोक्ता हक अधिकाबारे प्रश्न उठाउन सक्ने महिलाको आवाजलाई ” ब्युटी आईटमको लत ” भनेर उल्टै मुख थुनिदिन्छौ।
पुरुषले हजारौं पैसा तिरेर मोबाईल किन्यो भने ‘वाउ स्टाईलिश,’ समय अनुसार अप-टु-डेट ‘ भनिन्छ । तर महिलाले १ हजारमा किनेको लिपिस्टिकलाई “अनावश्यक खर्च” भनेर होच्याईन्छ । यहि हो हाम्रो समाजको दोहोरो दृष्टिकोण अनि चरित्र।
तीज पनि त्यसैको एक उदाहरण हो । आमा दिदी बहिनीले रमाइलो गर्दै नाच्दै एक्छिन भएपनी खुशी हुन खोज्यो भने ठुलै दोष; तर पुरुषले साथीभाईहरूसँग जाँड रक्सी खाएर रमाइलो गर्दा सामान्य ।
महिलाले वर्षमा एकदिन खाने दर र तीज पनि त्यही उदाहरण हो। महिलाले रमाइलो गर्दै खाँदा आलोचित, पुरुषले हप्तामा सातै बार पार्टी गर्दा सामान्य ।
तीजमा महिलाले श्रृंगार, गहना, रातो सारी लगाउँदा कतिपयले यसलाई संस्कारसँग जोड्छन्, तर त्यही श्रृंगारलाई “नक्कल पारेको”, “फजुल खर्च गरेको” भनेर आलोचना पनि गर्छन्। महिलाको अनुहार, शरीर र फिगरलाई समाजले तारिफ पनि गर्छ र त्यही मेहनतलाई “फुर्सदको काम, काम नभएकी ” भनेर व्यंग्य पनि गर्छ।
यता धर्म र परम्परा जोगाउने जिम्मेवारी पनि महिलामाथि नै थोपारिन्छ, फेरि त्यही परम्परामा महिलाले प्रश्न उठाउँदा वा अलिकति स्वतन्त्र हुन खोज्दा समाजले “संस्कार हराएको” भनी आरोप लगाउँछ। पुरुषहरू वर्षैभरि मदिरा, होटल–भट्टीमा पैसा खर्च गर्दा सामान्य ठानिन्छ तर महिलाले दर खान वा श्रृंगारमा खर्च गर्दा असामान्य व्यबहार गरिन्छ।
यस्ता प्रवृत्ति लुगा, जुत्ता वा ब्यागको मूल्यमा पनि देखिन्छ। उदाहरणका लागि, एक पुरुषले ५–६ हजारको जुत्ता किन्नु सामान्य ठानिन्छ, तर महिलाले त्यही मूल्यको सारी वा ब्याग किन्दा “फजुल खर्च” भनेर ब्याख्या गरिन्छ । यहाँ पनि प्रश्न वस्तुको गुणस्तर, टिकाउपन वा बजारको मूल्यतर्फ हैन, महिला खर्चालु भएको कारणतर्फ मात्र बङ्याइन्छ ।
समस्या तिजमा होइन, न त दर वा श्रृंगारमा नै हो ।समस्या मानसिकतामा छ । महिलाको खुशीलाई मजाक बनाउने, आवाजलाई दबाउने, श्रृंगार रुचाउनुलाई खराब ठान्ने प्रवृत्ति नै वास्तविक विकृति हो ।
वर्ष दिनमा आउने तीजलाई “फजुल खर्च” भन्नेहरुले आफुले आफैलाई सोध्न जरुरी छ, खुशी र स्वतन्त्रता पनि के किनमेल गर्न सकिने बजारको सामान हो र, जसको मुल्य सधै महिलाले चुकाउनै पर्छ?
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment