नेपालमा बुक पोस्ट सेवा बन्द भएको होइन : सरकार
काठमाडौं, साउन २३ । नेपाल सरकारले बुक पोस्ट सेवा बन्द गरेको वा ५ केजीसम्मका पुस्तक पठाउन रोक लगाएको भन्ने सामाजिक सञ्जालमा फैलिएको सूचनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाएको छ।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपालमा बुक पोस्ट सेवा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार युनिभर्सल पोस्टल युनियन (युपीयू) को प्रावधान तथा नेपालको विद्यमान व्यवस्थाअनुसार ५ केजीसम्मका पुस्तक बुक पोस्टमार्फत पठाउन सकिने व्यवस्था यथावत् छ।
मन्त्री तिमिल्सिनाका अनुसार पछिल्लो समय देखिएको समस्या भने केही गन्तव्य मुलुकले आफ्नै राष्ट्रिय कानुनअनुसार २ केजीभन्दा बढी तौलका पुस्तकलाई बुक पोस्टका रूपमा स्वीकार नगरी पार्सलका रूपमा मात्र स्वीकार गर्ने व्यवस्थासँग सम्बन्धित छ।
त्यस्ता मुलुकमा २ केजीभन्दा बढी तौलका पुस्तक बुक पोस्टमार्फत पठाउँदा सामग्री फिर्ता हुन सक्ने वा अतिरिक्त शुल्क लाग्न सक्ने जोखिम रहेको उनले बताएका छन्।
यद्यपि, सम्बन्धित प्रेषकले उक्त जोखिम वहन गर्न तयार भएमा नेपाल हुलाक सेवाबाट त्यस्ता सामग्री अन्तर्राष्ट्रिय प्रणालीमार्फत पठाउन कुनै अवरोध नरहेको मन्त्री तिमिल्सिनाले स्पष्ट पारेका छन्।
उनका अनुसार समस्या नेपालमा बुक पोस्ट सेवा बन्द गरिएको नभई केही गन्तव्य मुलुकले बुक पोस्टका रूपमा सामग्री स्वीकार गर्ने सम्बन्धमा गरेको व्यवस्थासँग जोडिएको हो।
मन्त्री तिमिल्सिनाले पुस्तक, अध्ययन र ज्ञानको प्रवाहलाई सहज बनाउने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। यस विषयमा प्राप्त सुझावलाई सम्बोधन गर्दै आवश्यक परे सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालको धारणा प्रस्तुत गरिने उनले बताए।
सरकारले सामाजिक सञ्जालमा फैलिएका सूचनालाई तथ्यका आधारमा बुझ्न र भ्रमबाट सचेत रहन आग्रहसमेत गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment