प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ
काठमाडौं, असार १। काठमाडौं प्रहरीले प्रहरीको नक्कली परिचयपत्र प्रयोग गर्ने एक युवकलाई ठूलो परिमाणमा लागूऔषध र नगदसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित एक घरबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले छापा मार्दा मकवानपुर घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ३२ वर्षीय नवाज शेर्पालाई नियन्त्रणमा लिएको हो।
गत जेठ ३० गते दिउँसो करिब १ बजे गरिएको खानतलासीका क्रममा प्रहरीले विभिन्न प्रकारका ३४६ एम्पुल लागूऔषध, नगद रकम तथा प्रहरीको नक्कली परिचयपत्र बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको कोठा जाँच गर्दा
बुप्रिन ११५ एम्पुल, फेनारगन ११४ एम्पुल, डाइजेपाम ११७ एम्पुलगरी कुल ३४६ एम्पुल लागूऔषध बरामद गरिएको छ।
यसैगरी, उनको साथबाट नगद २५ हजार ५० रुपैयाँ तथा प्रहरीको नक्कली परिचयपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका शेर्पाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई लागूऔषध तथा सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले लागूऔषध कारोबार तथा सरकारी परिचयपत्रको दुरुपयोगसम्बन्धी विषयमा समेत अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment