गणतन्त्रको रक्षा गर्न ओलीको आह्वान
काठमाडौँ, जेठ १५ । पूर्वप्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै जनताको भविष्यको रक्षा गर्नु भएको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकारक्षेत्रको रक्षा गर्न सबैलाई आह्वान गरेका हुन्।
ओलीले नेपाली जनताले आफ्ना लागि आफैंले शासन प्रणाली निर्धारण गर्ने अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो संघर्ष गर्नुपरेको उल्लेख गरेका छन्। उनले बोल्ने, लेख्ने, संगठित हुने र राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्ने क्रममा हजारौं नागरिकले बलिदान दिएको तथा धेरैले जेल, यातना र निर्वासन भोग्नुपरेको स्मरण गरेका छन्।
उनले जनताको संघर्षपछि हुकुमबाट चल्ने व्यवस्था अन्त्य भएर कानुन र लोकतान्त्रिक संस्थाबाट सञ्चालन हुने प्रणाली स्थापना भएको बताएका छन्। गणतन्त्र केवल शासन प्रणाली परिवर्तनको विषय मात्र नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको उनको भनाइ छ।
ओलीले गणतन्त्र स्थापना भएपछि स्थानीय तहसम्म राज्यको पहुँच विस्तार भएको, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको प्रतिनिधित्व बढेको, खुला अभिव्यक्ति र नागरिक स्वतन्त्रता विस्तार भएको तथा सडक, सञ्चार र डिजिटल सेवामा उल्लेख्य प्रगति भएको बताएका छन्। यी सबै परिवर्तन गणतन्त्रका उपलब्धि भएको उनको दाबी छ।
उनले परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसक्दा असन्तुष्टि देखिन सक्ने भए पनि त्यस्ता असन्तुष्टिको वैधानिक समाधान लोकतान्त्रिक प्रणालीभित्रै खोजिनुपर्ने बताएका छन्। जनताको निराशालाई प्रयोग गरेर लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने र अधिनायकवादी प्रवृत्ति बढाउने प्रयासप्रति पनि उनले सचेत गराएका छन्।
पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्र कमजोर भए समाज र जनताको अधिकारसमेत कमजोर हुने उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रका संस्थाहरूलाई बलियो बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्। उनले गणतन्त्र दिवसका अवसरमा लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन सक्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्न आग्रह गरेका छन्।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment