हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, वैशाख १५ । देशका विभिन्न भू-भागमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै सम्बन्धित निकायहरूले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझ जारी गरेको बुलेटिन अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायूसँगै पूर्वी भू-भाग नजिकको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। यसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत हिमाली तथा पहाडी भू-भागमा व्यापक बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।
विभागका अनुसार वैशाख १६ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।
यसैबीच, गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि हावाहुरीसहितको जोखिमबारे विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। प्राधिकरणले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका जिल्ला, विशेषगरी तराई तथा भित्री मधेश क्षेत्रमा हावाहुरी चल्ने सम्भावना औंल्याएको छ।
प्राधिकरणका अनुसार हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना क्षति हुने, छाना उड्ने, साथै विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको छ। यस्तो अवस्थामा घरबाहिर अनावश्यक ननिस्कन, झ्यालढोका सुरक्षित राख्न, बिजुलीका तार तथा अग्ला रुखबाट टाढा रहन र ढल्न सक्ने संरचना नजिक नजान सुझाव दिइएको छ।
त्यसैगरी, खुला स्थानमा रहेका सामान सुरक्षित राख्न, सडकमा हिँड्दा सतर्कता अपनाउन तथा आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन पनि प्राधिकरणले आग्रह गरेको छ।
सम्बन्धित निकायहरूले मौसमसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई पुनः आग्रह गरेका छन्।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment