समाचार || समाज » व्यक्तित्व


 

अविचलित राजनीतिक यात्रामा अष्टलक्ष्मी


अमिका राजथला
September 18, 2020, Friday

झण्डै चार दशक लामो निरन्तर राजनीतिक यात्रामा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको कपाल फुल्न थालेको छ तर उहाँको राजनीतिक सक्रियतामा भने कपाल फुल्नु र नफुल्नुको अर्थले कुनै प्रकारले तादात्म्य राख्दैन । नेकपा एमालेका तर्फबाट प्रदेश नं. ३ अर्थात वागमति प्रदेशकी संयोजक शाक्य २०७४ सालमा भएको प्रनितिधि सभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ ‘ख’ बाट प्रदेश सभा सदस्य हुनुहुन्छ । महिला भएकै कारण पार्टीका तर्फबाट ३ नं प्रदेशको मुख्यमन्त्री दिने सम्बन्धमा उहाँमाथि ठूलो तिगड्मवाजी गरियो । उहाँको योगदानको मूल्यांकन भएन । जीवनलाई बुझ्न थालेदेखि (२०२८-०२९) राजनीतिमा होमिनु भएकी अष्टलक्ष्मी आफ्नो जीवन सारपूर्ण भएकोमा खुसी  हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले राजनीति बेक्कार गरें भन्ने कहिल्यै लागेन, बरु देशमा भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र २०७२ सालमा संविधान सभाबाट संविधान निर्माण भएकोमा गौरव लाग्छ ।” 

राजनीतिक चेत र देशका लागि केही त गर्नै पर्छ भन्ने भावना आएदेखि नै उहाँ राजनीतिमा लाग्नु भएको थियो । तत्कालीन पंचायती व्यवस्थामा खुल्ला राजनीति गर्ने वातावरण थिएन, अचम्मको कुरा त युवा अवस्थामैं राजनीतिमा लाग्दा पनि उहाँलाई आफू कुन पार्टीमा लाग्दैछु र आफ्नो पार्टीको नेता को हो भन्नेसम्म पनि सुइँको थिएन ।   

काठमाडौंको शाक्य कूलमा २०१० साल असोजमा जन्मनु भएकी शाक्य राजनीतिमा लाग्दा उहाँका परिवार कसैलाई पनि थाहा थिएन । २०२८ सालमा एसएलसीको जाँच दिएपछि छोरी भएर पनि केही गरेर देखाउनुपर्छ भन्ने भावनाले साथी सुलोचना मानन्धर (साहित्यकार) र उहाँले शारीरिक व्यायाम, पौडी खेल्न, साइकल चलाउनदेखि विभिन्न तालिम लिन थाल्नु भयो । यसै क्रममा चिनीयाँ भाषा सिक्न जानु भयो । यी सबै कृयाकलापमा सहभागी हुन परिवारले अनुमति नदिने कारणले उहाँहरूले यी कृयाकलाप परिवारलाई थाहै नदिई गर्नु भएको थियो ।

चिनियाँ भाषा सिक्ने क्रममा उहाँले चिनियाँ कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट विचारबाट प्रभावित हुनुभयो ।  चिनियाँ पुस्तकालयबाट माओत्सेतुङ, ल्युहुलाङ, जेनीमार्क्स, ल्युसुनको पुस्तकहरुको अध्ययनबाट प्रभावित पनि हुँदै जानुभयो । 

चिनीयाँ भाषा शिक्षक महेशमान श्रेष्ठ हुनुहुन्थ्यो । श्रेष्ठले नेपाली समाज र नेपाल कम्युनिष्ट आन्दोलनका बारेमा विभिन्न पुस्तकहरू दिएर उहाँलाई सहयोग गर्नुहुन्थ्यो । चिनियाँ भाषा सिक्ने क्रममा उहाँहरूको एउटा अध्ययन समूह नै बनेको थियो, जो समाज परिवर्तन गर्न चाहन्थ्यो । समाज कसरी परिवर्तन हुन सक्छ ? परिवर्तन किन आवश्यक छ ? गाउँमा गएर गाउँका जनतालाई सचेत र संगठित गर्नु पर्छ भन्ने विषयमा समूहमा छलफल हुने गर्थ्याे । 

साथै, बालसेवा विद्यालयमा पढाउन पनि थाल्नु भयो । यसै क्रममा एसएलसी पास भएपछि त्यतिबेलाको रत्नराज्यलक्ष्मी कलेजमा भर्ना हुनु भयो । तर कलेजमा मन लगाएर पढ्नु भएन । कारण, ‘बुर्जुवा’ शिक्षा हैन, माक्र्सवादी शिक्षा पढ्नुपर्छ भनेर पार्टी  नेतृत्वले भनेपछि उहाँले बुर्जुवा शिक्षा बहिष्कार गर्नुभयो । कलेजमा उहाँ विभिन्न राजनैतिक–सामाजिक कृयाकलापमा संलग्न हुने गर्नुहुन्थ्यो । 

काठमाडौंको सम्पन्न परिवारमा हुर्किएको कारण दुःख गर्न सक्दैनन्, त्याग गर्न सक्दैनन्, राजनीतिमा लाग्न सक्दैनन् भन्ने उहाँप्रति जुन नकारात्मक धारणा थियो, यो उहाँको लागि चुनौतीको रूपमा खडा भएको थियो तर उहाँ सबै अप्ठ्यारासँग जुझ्दै अगाडि बढ्नुभयो । 

चिनीयाँ भाषा शिक्षक महेशमान श्रेष्ठ विरामी पर्नुभयो र उपचार गर्न चीन जानु भयो । यसपछि समूह नेतृत्व विहीन भयो, रानी मौरी विनाको घार जस्तै भयो । यद्यपि उहाँ जानुभएपछि गठन भएको अध्ययन समूह नेतृत्वविहीन भयो तर विचलिन नभई अगाडि बढ्यो । अध्ययन समूहले गाउँ गाउँमा अभियान सञ्चालन गर्न थाल्यो । पहिलो पटक काठमाडौं शहरबाट नजिकको सिन्धुपाल्चोकको राम्चे, बाह्रविसे गाउँ जाँदा पनि उहाँलाई निकै टाढा गएको महसुस भएको थियो । 

समाज परिवर्तनको लागि गाउँ जानै पर्छ भन्ने मान्यताले उहाँहरूले जनवादी गीत गाउन, किसानको खेतिपातिको काममा सहयोग गर्न थाल्नुभयो । राजनीतिक पार्टी र नेतृत्व विना पनि उहाँहरूले गाउँ जाने अभियान करीव ३ वर्ष नै संचालन गर्नुभयो । आफूलाई अप्ठ्यारो पर्दा उहाँहरू माओका वचन, ‘दृढ प्रतिज्ञा गर,’ ‘बलिदानदेखि नडराउनु, लाखौं कठिनाई हटाई बिजय पाउन अगाडि बढ’ लाई सम्झने गर्नुहुन्थ्यो । राजनीतिक गतिविधिमा लाग्दा उहाँले घर परिवारलाई ढाँटेर नै काम गर्नुभयो । 

परिवारले उहाँलाई विवाह गरेर पठाउने योजना बनाएको थियो । तर उहाँले नमानेपछि विद्रोह भयो, घरमैं उहाँ बन्दी हुनुभयो । विवाह रोकियो । यो घटनाले परिवारका सदस्यलाई क्रुद्ध बनायो र उहाँलाई घरबाट बाहिर निस्कन बन्देज लगाइयो । तर बहिनी सुनिताको सहयोगमा अष्टलक्ष्मीले घरबाट बाहिरिने योजना बनाउनु भयो । घर छोड्नु अगाडि आमासँग साथीको भोजमा जाने बहानामा गहना र लुगाहरु पनि लिनुभयो ।  बहिनी सुनिताको हातमा घर छोडेको पत्र बुबाको सिरानीमा हाल्न दिनुभयो । २०३६ साल पुस ४ गते उहाँले आफ्नो जन्मघर छोड्नुभयो । यति बेला उहाँ तत्कालीन नेकपा (माक्र्सवादी लेनिनवादी)का युवराज कार्की तथा सिता खड्काको सम्पर्कमा आइसक्नु भएको थियो ।

पार्टीको सम्पर्कमा गएपछि उहाँले भूमिगत जीवन रोज्नुभयो र गहनालगायत सबै सामान सबै पार्टीलाई बुझाउनुभयो । यतिबेला पार्टीको बागमती अञ्चल इन्चार्ज अमृत बोहरा हुनुहुन्थ्यो । पार्टीले उहाँलाई सिन्धुपाल्चोकको पिस्कर गाउँ पठायो । पिस्कर अल्पसंख्यक थामी जातिको बाहुल्य भएको एउटा विकट गाउँ हो ।  यही ठाउँमा उहाँले पहिलो पल्ट दुःख भनेको यस्तो हुँदो रहेछ भन्ने देख्नुभयो, भोग्नुभयो । उहाँले काठमाडौं, झापा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा बसेर ११ वर्ष भूमिगत जीवन विताउनुभयो । 

भूमिगत अवस्थामै अमृत बोहरासँग २०३७ सालमा पार्टीको झण्डामुनि शपथ खाएर विवाह गर्नुभएकी शाक्यले बालबच्चा हुर्काउन भने निकै दुःख खेप्नुभयो । उहाँको एक छोरी र एक छोरा छन् । भूमिगत जीवनमा जनताको बीचमैं बालबच्चालाई पनि हुर्काउँदै लग्नुभयो । बालबच्चालाई छोडेर हिंड्दा छोराले आमा नचिन्ने, भाईले दिदी नचिन्नेसम्मको अवस्था आएको थियो । पार्टीगत बन्देजको कारण भूमिगत जीवन विताउँदै आएको शाक्यको परिवारको मिलन २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापन भएपछि मात्र भएको थियो । यतिबेलामात्र उहाँका छोरीछोराले सम्पूर्ण परिवारलाई देख्ने चिन्ने अवसर पाएको थियो । 

विभिन्न ठाउँमा भूमिगत जीवन विताउँदै आउनुभएकी अष्टलक्ष्मी २०४६ साल जेठमा भएको अखिल नेपाल महिला संघकोे प्रथम सम्मेलनबाट अध्यक्ष र २०४८ सालमा भएको दोस्रो सम्मेलनबाट महासचिव भएर निरन्तर महिला क्षेत्रमा लाग्नुभयो । 

भूमिगत रुपमा काम गर्ने क्रममा उहाँ २०४५ सालमा इलाममा पक्राउ पर्नुभयो । पक्राउपर्दा उहाँले आफ्नो परिचय काठमाडौंको एक गृहिणी, मीना श्रेष्ठको रुपमा दिनुभयो । तर झापामा पक्राउ पर्दा माइन्युट बुकसहित नै पक्राउ परेपछि उहाँ अष्टलक्ष्मी नै भएको पुष्टि भयो । कष्टडीमा पर्दा उहाँले अनेकौं यातना खेप्नुभयो । २०३६ सालमा घरबाट निस्कनु भएकी शाक्यको परिवारका सदस्यसँग भेटघाट थिएन, एकै पटक २०४६ सालमा इलाममा जेल पर्दा बुबा तिर्थ बहादुर शाक्यसँग भेट भयो । जेल पर्दा बुबाले भन्नुभएको कुरा उहाँ सम्झनुहुन्छ– 'यस्तो राम्रो काम गर्न पनि घरबाट भाग्नु पर्छ ? पहिले नै भनेको भए घरमैं राखेर राजनीति गर्न दिन्थें नि ।’ २०४६ सालको संयुक्त जनआन्दोलनका क्रममा उहाँ साथीहरुसँग झापाको लखनपुरबाट पक्राउ पर्नुभयो, बहुदल घोषणासँगै रिहा हुनुभयो । 

उहाँ २०४८ सालमा राष्ट्रिय सभाको सदस्य बन्नुभयो । २०५६ सालमा काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाक्य २०६१ असारबाट महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुनु भएको थियो । यस्तै, २०६५ सालमा पुष्प कमल दाहाल नेतृत्वमा गठित मन्त्रीमण्डलमा उहाँ उद्योग मन्त्री हुनुभयो । यस क्रममा उहाँले महिलालाई पनि सुविधा हुने गरि नयाँ उद्योग नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । दोस्रो संविधान सभाको सभासद तथा तत्कालीन व्यवस्थापिका संसदको सांसद रहनु भएकी अष्टलक्ष्मी शाक्य आफू राजनीतिक जीवनमा लागेर राजनीतिक परिवर्तनका लागि विशेष भूमिका निर्वाह गर्न पाएकोमा सन्तुष्ट हुनुहुन्छ । 

पैतृक सम्पत्तिमा छोरीलार्ई जन्मसिद्ध हक कायम गर्ने (मुलुकी ऐनको एघारौं संशोधन), महिलाको हरेक निकायमा समावेशी-समानुपाकि सहभागिताका कुरा, आमाको नाममा छोराछोरीलाई नागरिकता दिने तथा महिला हिंसा विरुद्ध विभिन्न ऐन बनाउने सवालमा अष्टलक्ष्मीको विशेष सक्रीयता पाइन्छ, जुन कामलाई उहाँ आफूले गरेको उल्लेखनीय कामका रुपमा लिनु पर्दछ । यति मात्र नभई महिलालाइ स्थानीय रुपमा नै नेतृत्व स्थापित गर्न पर्छ भन्ने मान्यता राख्नुहुने शाक्य पार्टीमा युवाहरुलाई अगाडि बढाउन अवसर दिनुपर्ने कुरामा जोड दिनुहुन्छ । 

 

अरु यस्तै सामाग्री

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्