समाचार || समाचार » समाचार


 

संसदीय मामिलाबारे रेपोर्टिङ्को दायरा फराकिलो हुँदै छ : सांसद शाक्य


नेवाः टाइम्स
November 25, 2020, Wednesday

काठमाडौं । संसदीय मामिला रेपोर्टिङ्मा पत्रकार महिलाको संख्या विगतको तुलनामा बढ्दैं भएको आज यहाँ आयोजित तालिम कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

संसद सहयोग परियोजना, युएनडीपीको सहयोगमा डब्लुडब्लुजेको आयोजना भएको दुई दिने सो कार्यक्रममा सातै प्रदेशका ६० जना भन्दा बढी पत्रकार महिलाहरुको सहभागिता छ ।

कार्यक्रममा सांसद अष्टलक्ष्मी शाक्यले ०६२ र ६३ पछि बल्ल महिला सांसदहरुले आफ्ना भनाइ राख्न सहज भएको र संसदीय अभ्यासमा चासो र पहुँच दुबै बढेको बताउनुभयो ।

कार्यक्रममा उहाँले महिला पत्रकारको संख्यात्मक उपस्थितिले मात्रै पुग्दैन, संसदमा उठेका मुद्दाबारेको बुझाइ पनि फराकिलो हुनुपर्ने विचार व्यक्त गर्दै हिजोका दिनमा मुद्दाको उजागर नै कम हुने गर्दथे अहिले संसदीय मर्यादा र यसको दायरा व्यापक भएको अनुभव राख्नु भएको थियो ।

सांसद शाक्यले प्रदेश सभा नयाँ अनुभव भएकाले बुझनुपर्ने कानूनी विषयमा दखल राख्न पत्रकार महिलालाई सुझाव दिनुभएको छ ।

यस्तै युएनडिपीका राष्ट्रिय परियोजना प्रबन्धक राज बहादुर श्रेष्ठले बिशेष गरी दलित, जनजाती लगाएतका महिला सांसदहरुले बोलेका कुराहरु निकै कम मात्रामा संचारमाध्यमहरुमा आउने र संसदीय पत्रकारितामा पत्रकार महिलाहरुको संख्या निकै कम भएकाले पनि यसको क्षमता अभिवृद्धिका लागि यस्तो तालिम आयोजनले थप सहयोग हुने बताउनुभयो।

नेपालमा संसदीय पत्रकारितामा पत्रकार महिलाको उपस्थितिको कमीको कारणले यस्तो तालिम आयोजना गरेको डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले जानकारी दिनुभयो । यसको समाधान भनेको क्षमता अभिवृद्धि नै भएकोले पनि डब्लुडब्लुजे ले यो तालिमको आयोजना गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

तालिम कार्यक्रममा ०४६ पछिको राजनीतिक परिर्वतन संँगै संसदीय रेपोर्टिङ्को दायरा थप फराकिलो भएको मुख्य प्रशिक्षक तथा बरिष्ठ पत्रकार जगत नेपालले बताउनुभयो ।

उहाँले नेपालले संसदीय पत्रकारितका आधारभूत पक्ष माथि प्रकाश पार्दै नेपालमा संसदीय व्यवस्थाका विकासक्रम, संघीय व्यवस्था, संविधानसभा र संघीय संसदको भिन्नता बारे चर्चा गर्नुका साथै जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकोले दुबैले व्यावसायिक सिमाभित्र रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रशिक्षक बरिष्ठ पत्रकार हरिबहादुर थापाले संसद एउटा कानून निर्माणको औपचारिक थलो भएको हुदाँ त्यहाँ हुने हरेक गतिविधि समाचारको स्रोत हुने र ती सबै गतिविधिमा पत्रकार सधै चनाखो रहनु पर्ने बताउनुभयो । संसदीय रिपोर्टिगंलाई थप प्रभावकारी बनाउन स्रोत संँगको संवाद महत्वपूर्ण हुने उहाँको भनाइ छ । अन्य बिटको तुलनामा संसदीय रिपोर्टिगमा संसदीय नियमावली लगाएतका दस्तावेजहरुको गहन अध्ययन गर्नुपर्ने भएकाले यसलाई सामान्यरुपमा लिन नहुने थापाको सुझाव थियो ।

अर्का प्रशिक्षक रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामाले प्रदेशसभाको अनुभव, प्रदेशमा कस्तो संसद हुन्छ, यो कसरी चल्छ जस्तो विषयमा चर्चा गर्नुका साथै केन्द्र र प्रदेश संसदबीच समन्वय कसरी हुन्छ, दुवैका मुद्दा के के हुन्छन्, प्रदेश र केन्द्रमा संसदका विषयमा रिपोर्टिङ गर्दा कस्ता भिन्नता र चुनौतिहरु के कस्ता हुन्छन् भन्ने विषयमा प्रकाश पार्नुभएको थियो ।

 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्