पर्यटन » लेख/फीचर/समीक्षा


 

न्यागःमणि हुँदै तारकेश्वरतर्फ


बसन्त महर्जन
September 28, 2020, Monday

गन्तव्य अन्यत्रै थियो । उतैको तयारी थियो । तर त्यहाँसम्म पु¥याइदिने यातायात साधनको अभाव भयो । दशैं लागि सकेको थियो अर्थात्, फूलपातीको दिन । र, तत्काल गन्तव्य फेरियो । काठमाडौंको उत्तरी दिशामा पर्ने तारकेश्वर महादेवस्थानतिर मोडियो । 

२०७१ म्ंसिरमा साविकका गोलढुंगा , जितपुरफेदी, धर्मस्थली, काभ्रेस्थली, साङ्ला, मनमैजु र फुटुङ गाउँ विकास समितिहरु मिलाएर तारकेश्वर नगरपालिका बनाएको हो । यही नगरपालिकाको वडा नं ... स्थित यो धार्मिकस्थल जितपुरफेदी र काभ्रेस्थलीको शिरमा पर्दछ । यो स्थल मेरो लागि नौलो थियो । न्यागःमणि (पाँचमाने) जाँदा यहीँबाट तारकेश्वर मन्दिर जाने हो भनेर देखाइएको थियो, केही वर्षअघि । पछि जाउँला भनेर नगएको, यत्तिकै भयो । हामी जीतपुर फेदीसम्मको गाडी चढेका थियौं र फेदीमा गाडीबाट झरेपछि थाहा पायौं, तारकेश्वर मन्दिर जाने बाटो दुई वटा रहेछ । अर्को बाटो लागेनौं किनभने न्यागःमणि भएर जाँदा त्यहाँको फेरिँदा दृष्य पनि हेर्न पाइने हिसाबकिताब भयो ।  

जितपुर फेदी अहिले सुनसान छ । कुनै बेला थियो, काठमाडौं छिर्ने एउटा व्यापारिक नाका । त्यो बेला यहाँ गुलजार हुन्थ्यो रे । पछिल्लो पल्ट जाँदा जीतपुरका एक वृद्धाले भनेकी थिइन्, विहान चार नबज्दै मान्छेहरु हुलकाहुल हुन्थ्योे । तर अहिले एका विहान त के, दिन भरमा पनि मान्छे गन्न सकस हुन्छ । बाटो पनि बिग्रेको छ । हामी उकालिँदै न्यागःमणितर्फ लाग्यौं । जीतपुर फेदीमा पुराना कुरा सम्झाउने केही नेवार वास्तुकला र नियो क्लासिकल शैली (राणा कालीन) का घरहरु, चैत्य, तथा ढुुंगेधारा बाँकी छन् । तर यी अवशेषहरु नवप्रवेशी तथा तिनीहरुको घरघडेरीले छोपिँदो छ । पुराना जातीय समुदायले आफूलाई त्यहाँ आफूलाई टिकाइराख्न सकेको देखिन्न । उदाहरणका लागि कलाकार मदनकृष्ण श्रेष्ठ यही क्षेत्रमा हुर्केका थिए । उनको कलात्मक घर अहिले पनि ठिङ्ग उभिएको त छ, तर बस्ने कोही छैन । घर भनेको मान्छे बस्नलाई हो, मान्छे नै नबस्ने भएपछि के को घर हुनु ? 

उक्लिँदै गयौं । आफ्नो काम भनुुँ या रुची, पुराना कुुराको खोजी गर्ने । र, त्यसको अभिलेखन गर्ने । उक्लिंदै गर्दा बाटोमा एउटा पुरानो ढुुंगेधारा दायाँ तर्फ देख्यौं । धारा साधारण नै हो तर पानीको धारा ठुलै छ । यो धारा अघिल्लो पल्ट पनि हेरिसकेको । फेरि दोहो¥याएर हेर्न त हुन्थ्यो तर त्यहाँ एउटी युवती नुहाइरहेकी थिइन् । अलि असहज भयो । नाघेर केही पाइला के अगाडि बढेको, अनायासै फर्केर हेर्न पुगेछुु र देखेछु, एउटा अभिलेख । अचम्म लाग्यो । पहिला त्यो अभिलेखतर्फ देखेका थिएनौं वा हामी कसैको ध्यान गएको थिएन । अझ त्यति बेला यस्तै पुुराना कलावस्तुुकै खोजअनुसन्धानमा रुची राख्नेहरुको समूूहमा थिएँ । धारामा निहित कलावस्तुको अवलोकन पनि गरेको थियौं । कहीँ अन्तै थियो वा पछि मात्रै भेटिएको र अहिले यहाँ राख्न ल्याइएको हो कि ? धाराको सिरानमा पछाडि यो शिलालेख राखिएको छ । अब भने असहज अनुभव गरेर भएन र धाराको शिरानमा गएर अभिलेखको फोटो उतारें । 

फराकिलो बाटो भेटियो । आजभोलि जताततै डोजर चलाएर बाटो लाने लहर नै चलेको छ । यही बाटो पछ्याएर उक्लिन थाल्यौं । एक ठाउँमा पुगेपछि टक्क अडिएँ । बायाँ तर्फको ढिस्कोमा ठुुलै पहिरो खसेको रहेछ । यो ढिस्को अरु होइन, पाँच वटा चैत्य यही ढिस्को माथि बनेको छ । पाँच वटा चैत्यकै कारण यसलाई न्यागःमणि भनिएको हो । पहिरोकै कारण उहिल्यै एउटा चैत्यको नामोनिशान हराइसकेको छ भने अबको यो क्षतिले अर्को चैत्य पनि खसाल्यो कि ? खसालेको रहेनछ । बाँकी नै रहेछ तर पहिरोले तान्नै लागेको अवस्था । न्यागःमणिमा चार वटा मात्रै बाँकी, चार वटामध्ये पनि छेउको चैत्यलाई छुन नसकेर यत्तिकै राखी चार वटालाई इँटाको नयाँ चैत्यले छोपी सुुरक्षा गर्न लागिएको छ । चैत्यहरुको सुरक्षा वा जीर्णोद्धार गर्न केही बौद्धहरु यहाँ आई शिलान्यास गर्दा म पनि थिएँ । अर्को पल्टा आउँदा ढुुंगाले बनेका पुराना चैत्यहरुलाई इँटाको नयाँ चैत्यले छोप्न लागेको मलाइ निको लागेको थिएन । अहिले पनि छोपि सकेको त छैन र पुुरानो संरचनाको झारपात वा रुख बढेपनि नयाँ बन्न लागेको चैत्यको संरचना तिनै रुखको सुरक्षाका लागि उठाएको बार हो कि जस्तो भ्रम पर्ने खालको छ । ढिस्कोलाई काटेर बाटो बनाएको छ । प्राङ्गणमा अमोघसिद्धि बुद्धको मूर्ति र माथि ढिस्कोसम्म जाने भ¥र्याङ र भ¥र्याङ मुुनि कोठा निस्कने गरी संरचना बनाइएको छ । संभवतः भोलिका दिन यहाँ पसल वा अफिस राख्ने योजना हो । 

न्यागःमणिलाई स्थानिय व्यक्तिहरु तिब्बती सेनाले कुनै बेला आक्रमण गर्न आएको, चैत्य बिगारेर गएको जस्ता घटनाहरु सुनाउने गर्दछन् तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य पाइँदैन । तिब्बती सेना आक्रमण नै गर्न आएको भएपनि चैत्य किन बिगार्छन् र ? तिब्बतीहरुको धर्म संस्कारमाथि ध्यान दिने हो भने बरु बिग्रेका चैत्यहरु बनाएर पो जान्छन् त । यो चैत्य कति पुराना हुन् ? यसका सम्बन्धमा ठोस जानकारी पाइँदैन । काठमाडौं छिर्ने व्यापारिक नाका मात्रै नभएर काठमाडौंबाट रसुुवा हुँदै तिब्बत जाने बाटो पनि यही हो । प्रसिद्ध सिलुुतीर्थ (गोसाइँकुन्ड) यही बाटो भएर जानुपर्दछ । एघारौं शताब्दीमा भारतीय बौद्ध विद्वान अतीशा दिपंकर श्रीज्ञान तिब्बत जाँदा पनि यही बाटो हिडेका थिए । र, यात्रा विवरणअनुुसार त्यो बेला नै यहाँ पाँच वटा चैत्य बनिसकेको थियो । अर्थात् एघारौं शताब्दी अघि नै यहाँ पाँच वटा स्तूप लहरै थियो र न्यागःमणि’ नामबाट प्रसिद्ध । उत्तरतिर सोझिने बाटो रानीपौवा पुुग्छन् अर्थात् यही त्यो पुुरानो बाटो हो । पहिलो पल्ट अलिकति अगाडि बढ्दा एउटा ठुुलो सत्तल देखेको थिएँ । त्यो सत्तल एक पल्ट पुनः हेर्नु प¥यो भनेर गएको, त्यहाँ त कुुखुरा फार्मिङको ठुुलो भवन बनिसकेको रहेछ । सत्तल अलि माथि नै प¥यो कि भनेर हेर्न जान्छु त सैनिक इलाका सुुरु भइसकेको रहेछ र अगाडि बढ्न निषेध गरिएको सूचना पाटी देखेर फर्कें । 

पाँच चैत्यको थुम्कोबाट ठिक्क उत्तर खुुड्किला सहितको बाटो घुुमाउरो परेर माथि गएको छ । त्यहाँ तारकेश्वर मन्दिर जाने बाटो भनेर सुुचना पनि छ । अब तिनै खुडकिलाहरु उक्लँदै अगाडि बढ्छौं । अथवा भनँुु, तारकेश्वरतर्फ लाग्छौं । अलि पर पुुगेपछि हल्लागुुल्ला सुुन्छौं । जंगलको बीचमा नै सही, हल्लागुुल्ला सुुनेपछि हिन्दू मन्दिर आइपुुग्यो भन्ने अनुमान हुन्छ । तर मन्दिर आइपुुगेको होइन रहेछ । तारकेश्वरलाई नै गन्तव्य बनाएर गएको तर भेटाउन नसकेर फर्केका ६ जना युवाहरुको आवाज रहेछ । जीतपुरमा डकर्मीको काम गर्न आएका तिनीहरु काम नहुने दिन पारेर घुुम्न निस्केका तर मन्दिर भेटाउन नसकेर फर्केका रहेछन् । अघि एउटा सानो बाटो देखेका थियौं उनीहरु त्यो बाटोबाट पनि अघि बढिसकेका रहेछन् तर आर्मीको गेटमा पुुगेकाले फर्केर यो बाटो समाटेको । निकै परसम्म पुुगेर पनि केही नदेखेर निराश हुँदै फर्केका । हाम्रो मनमा पनि चिसो पस्यो । साथीले त्यहीबाट फोन लगाएर जान्ने मान्छेसँग सोध्दा बाटो सही रहेको जानकारी आयो । अगाडि बढ्यौं । 

अब त्यहाँ तार्केश्वरतिर लम्किरहेकाहरु हामी दुई र तिनीहरु छ जना भयो । त्यहीँ जीतपुरमा ढलानको काम गर्न आएका उनीहरु दशैंका कारण काम बन्द हुँदा फूर्सद भएका रहेछन् । बढी नै हल्लागुल्ला भयो । शान्त वन जंगल, त्यो पनि राष्ट्रिय निकुन्जमा यस्तो हल्ला अवांछनीय हो । वनमा हल्ला गर्न नहुने भनें, चुप लाग्यो । साथीले सुझायो, केही हुनसक्छ,, उनीहरुको फोटो खिच्नू । तर कसरी खिच्ने ? उनीहरु पछाडि थियो । हामी आफ्नो फोटो खिचेजस्तो गरी तिनीहरुको खिच्न थाल्यौं ।   

एउटा पोखरी आइपुग्यो । पोखरीको दक्षिण लाम्चो खालको सत्तल, पश्चिममा अभिलेखसकितको ढुंगाको एउटा सानो खाँबो । संरचनाहरु नयाँ नै हुन्, अभिलेख पनि नयाँ नै । पोखरीलाई बायाँ बारेर अगाडि बढिरहेको सानो बाटो भएर पुनः उकालिन थाल्यौं । 

तार्केश्वर मन्दिर भनेर त्यहाँ केही गतिविधि नदेख्दा कस्तो कस्तो पनि भयो । तर केही बेरपछि एउटा कुटी देख्यौंं । भाङ् र धतुरा खानेहरुका लागि यी कुटीहरु एक खालको अखडा नै हुन्छन् । पहिला पहिला भए म यिनीहरुसँग कुरा गर्न जान्थें तर त्यस्तो कुराको सेवन नगर्ने भएका कारण कुरा जम्न पाउँदैनथ्यो । अब त यस्ता कुराहरुमा वास्ता हुन छाडेको पनि धेरै भइसक्यो । हाम्रो पछि आइरहेका अरुहरु कुटी हेर्न गए । बाटो छेवैमा शिवलिंग सहितको एउटा सानो गुफा आकारको संरचना देखियो । खुडकिलाहरु सकिएको थिएन र त्यहाँबाट पनि माथि जाँदा मन्दिर क्षेत्र भन्न सुहाउने गरी शिवलिंग, धारा, कुटी, आदिको संरचना देखियो । यो ठाउँलाई स्वस्थानी व्रतको कथासँग जोडेको पाइन्छ । कथाअनुसार महादेवले सतिदेवीको जलेको शरीर बोकेर हिड्दा यो ठाउँमा सतिदेवीको दाहिने तिघ्रा पतन भएको हो । त्यहीँ पछि महादेव उत्पन्न भए । यहाँ लक्ष्मीले पनि तपश्या गरेका थिए र तारकेश्वर महादेवको उत्पत्ति भयो । धाराको छेवैमा तारकेश्वर मन्दिर जाने भनेर संकेत गरिराखेको सूचनापाटी देखें तर उत्तिखेरै पाइला चालेनौं । अघि कुटीमा पसेको टोली आइपुग्यो र पहिला उनीहरुलाई त्यतातिर जान दियौं । केही छैन भन्दै उनीहरु तुरुन्तै फर्के । त्यसपछि त्यतातिर लाग्यौं । तर त्यहाँ मन्दिरको वास्तुकला थिएन । फलामको भ¥र्याङ राखिएको छ र त्यसले माथि पहरा सम्म पुर्याउँछ । पहरामाथि निकै साँघुरो ठाउँमा शिव लिंग रहेछ। पूजा गर्ने त्यसैमा रहेछ अर्थात् मुख्य देवथान यही हो (तारकेश्वर महादेव) आरामसँग बसेर पूजा गर्न ठाउँ पुग्दैन, खुट्टाले भर्याङमा टेकेर पूजा गर्नुपर्छ । यसभन्दा मुनि पूर्व तेर्सिएको सानो बाटो छ, त्यस्तै दस बाह्र मिटर लामो। यो बाटोले पहरामा एकातिर गाह्रो उठाएर सुरुङ बनाइदिएको छ । त्यो सुरुङ भनुँ वा कोठा पूर्वपश्चिम लाम्चिएको छ । त्यहाँ सुरुमा गणेश, अनि शिवलिंग त्रिशुल लहरै राखिएका छन् । घण्टाहरू पनि चढाइएका छन् । झ्याल छ, प्रकाश पुग्छ। सीधा जाँदा अर्काे प्वाल पनि छ तर त्यहाँबाट कहीँ पनि पुगिन्न । यस स्थललाई बुढा महादेव भन्दोरहेछ । यत्ति हेरेपछि फर्कनको लागि झर्याैं।

फर्कंदै गर्दा एक पुरुषसहित तीन महिलाको टोली बाटोमा भेट्यौं । यहीँ हो तारकेश्वर ? भनेर सोधे । हो भनेर जवाफ दियौं । तल फराकिलो ठाउँमा आइपुगेपछि जुन बाटो आएको त्यही बाटो फर्कने वा सोझै अगाडि बढ्ने ? भनेर चुनाव गर्नु थियो । अगाडि बढ्दा केही नयाँ देखिएला कि भन्ने आसा थियो । बाटो त हो तर चल्तीको होइन । जंगलमा रुख ढलेर कुहिसक्दासम्म पनि हटाएको छैन । अलिकति अगाडि के बढेको, पानी पर्न थालिहाल्यो । छाता ओढ्यौं । जति जति अगाडि बढ्यौं शंका लाग्न थाग्यो । केहीपछि बाटो त सकिएछ । त्यतैबाट झर्न सकिन्छ कि भनेर अलि झ¥यौं पनि तर हुँदै नभएको बाटोमा कसरी हिड्ने ? फर्केर पुनः त्यही ठाउँमा आयौं । त्यत्तिञ्जेलमा अघि दुई महिला र एक पुरुषको टोली पनि फर्किसकेका थिए । वास्तवमा उनीहरु त्यहाँ जे जति देखे त्यसैलाई तारकेश्वर मन्दिर भनेर मान्न सकिरहेका थिएनन् । तार्केश्वर मन्दिर भनेको यही हो र ? भनेर हामीसँग नै सोधे । भव्य मन्दिर छ होइन र ? भनेर पनि सोधे । हामीसँग पनि सही जवाफ थिएन । अर्कै पो हो कि ? त्यसको प्रतिकृति यो हो वा यसको प्रतिकृति अन्तै छ कि ? उनीहरु प्रश्नमाथि प्रश्न गर्दै थिए । बाइकमा आएका तिनीहरु फर्कै । हामी पनि खुरुखुरु फ¥यौं । यो ठाउँमा शिवरात्री, जनैपूर्णिमा, स्वस्थानी व्रतको समय, बालाचर्तुदशी र सोमवार मेला लाग्छ रे । खडेरी प¥यो भने वरपरका गाउँले बाजागाजासहित यहाँ तारकेश्वर महादेवसँग पानी माग्न आउने चलन पनि रहेछ । तर असमयमा परेर होला, हामी पुगेको दिन त्यहाँ सुनसान थियो । 

निकै पछि तल पुग्दा माथि उक्लिदै गरेको एक जनासँग भेट भयो । केही वर्ष यतादेखि यहीं दशैं मान्न थालेका रहेछन् र इष्टमित्रहरु भोलिदेखि आउने बताए । उनले भनेपछि मात्रै धुक्क भयौं, तार्केश्वर मन्दिर त्यही हो । यही स्थलको नाममा नगरपालिकाको नामाकरण भएको हो । तर जान्नबुझ्न त्यहाँ अरु त अरु, एउटा पूजारी धरी थिएन । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्