पर्यटन » लेख/फीचर/समीक्षा


 

घान्द्रूकको घुमाइ


बसन्त महर्जन
September 26, 2020, Saturday

कहिले काहीँको घुमफिर यस्तो पनि हुनसक्छ- घुमफिर त गर्ने तर गन्तव्यको निक्र्यौल नै नहुने । यस्तै अनिर्णित अवस्थामा घरबाट निस्केर विहानै कलंकी चोक पुग्यौं । छोरा, श्रीमति र आफूसहितको एउटा सानो यात्रादल बनाएर । निर्यौल गर्न नसके पनि गोरखा जाने कुरा प्राथमिकतामा परेको महसूस त तीनै जनालाई भएको थियो । तर गोरखाको गाडि बसपार्कबार्ट भरिएर आउँने, चढ्न उतै जानु पर्ने भन्ने कुरा सुनेपछि हामीलाई बसपार्क पुग्ने झञ्जट गर्न मन लागेन । गोरखा जान नसकिने भएपछि अर्को निर्णय गर्नु थियो, तर गर्न गा¥हो भइरहेको थियो । जीवनमा थुप्रै यात्रा गरियो तर यस्तो अनिर्णित यात्रा त पहिलो चोटी नै भयो । केही दिनको लागि कहीँ त जाने जाने, तर कहाँ जाने ? गन्तव्य चयन गर्न नसक्दा तीनै जनामा अनौंठो खालको हाँसो थियो । यसो हुनाको खास कारण हो, ती सबै गन्तव्यहरु हाम्रो लागि खास नयाँ थिएन ।

मनमा आयो, भलै ती ठाउँहरु नयाँ होइनन् तर तीनै जना एकै समयमा यसरी त यात्रा गरेका थिएनौं नि । यही नयाँ सोच भनौं वा तर्कले काम ग¥यो । उत्तिखेर अगाडी रोकिराखेको गाडीभित्र पस्यौं, गाडी पोखरा जाने रहेछ । पोखरा जाँदै बाटोमा कुरा भयो, घान्दू्रक पनि जाने । पृथ्वीचोकमा झरेपछि थाहा भयो, हरिचोकबाट घान्द्रूक जाने जीप लाग्छ, आज नै पु¥याइ दिन्छ । पोखराबाट नयाँपुलसम्म गाडी र नयाँपुलबाट वीरेठाँटी हुँदै दिनभर लगाएर हिडेको मात्रै थाहा थियो । काठमाडौंबाट एकै दिनमा घान्द्रूक पुग्ने कुरा थाहा थिएन । कुरा थाहा पाएरै पनि रमाइलो भयो । बल्ल गन्तव्य तय भयो, घान्दूक नै पुग्ने । घान्दू्रकबाट फर्केर मात्रै पोखरा घुम्ने । हरिचोक पुगेर केही बेर पख्र्यौं र त्यतैतिर गयौं ।

यात्रामा भेटिने सहयात्रीहरु पनि थरी थरीका हुन्छन् । सहयात्रीहरुबाटै पनि यात्रा रमाइलो हुन्छन् कहिलेकाहीँ । जीपमा त थुप्रै मान्छे चढेका छन् तर थोरै सँगमात्र कुराकानी भयो । यही क्रममा थाहा भयो, हामी घान्दू्रक पुग्ने बेलासम्ममा त सबै होटेलहरु प्याक भइसक्छन्, समस्या पर्नसक्छ । नयाँ वर्षको अवसर पारेर हामी यात्रामा निस्केका, हामी मात्र कहाँ हो र, अरु पनि त्यस्तै गरी निस्केका हुन्छन् । होटेलहरु प्याक हुनु स्वाभाविक हो । एक जना सहयात्रीले सोध्यो- होम स्टेमा बस्नु हुन्छ ? यस्तोमा होम स्टे मात्रै के खाली होलान् र ? तर पनि हुन्छ भनें । मोबाइल सेल झिक्यो र गाडी भित्रैबाट फोन हान्यो । कोठा खाली भए नभएको बुझ्यो । त्यो घरमा कोही आइनसकेको रहेछ । हाम्रो लागि भनेर एउटा कोठा रिजर्भ गर्न भन्यौ । ढुक्क भयौ । जीप रोक्दासम्ममा साँझ परेको थियो, पुग्दा झपक्कै अँध्यारो भइसकेको थियो । काठमाडौं बस्ने ती युवक पनि उही होमस्टेमा बस्ने रहेछन् । घान्द्रुकमा सोलार इनर्जीको क्षेत्रमा काम गर्ने तीसहित हामी चारै जना त्यतातर्फ लाग्यौं ।

घान्द्रूकको मुहार धेरै नै फेरिसकेको रहेछ । बाग्लुङबाट काठमाडौं फर्कदै गर्दा बीच बाटौमा नै गाडीबाट झरेर घान्द्रूक लागेको थिएँ, करीब दुई दशकअघि । उहिल्यै कंक्रिटका होटेलहरु ठडिन सुरु भइसकेको थियो भने अहिले त झपक्कै ढाकिसकेका रहेछन् । मान्छे बस्ने ढुंगै ढुंगाले बनेका साना साना घरहरु भने छन् । हामी होमस्टे बसेको त्यो यस्तै ढुंगाले बनेको हो । होमस्टेमा एउटी महिला मात्रै रहिछिन् । अँगेना छेउमै बसेर पनि कुरा ग¥यौं । यस्तरी कुराकानी भयो, मानौं हामी नातागोताकै थियौं र धेरै वर्षपछि पाहुना लाग्न आएका हौं ।

बाहिर यताउताबाट नानाथरीका आवाज आइरहेको थियो । विशेष दिनमा विशेष रमाइलो गर्न आएकाहरु न परे । एउटी छिमेकी महिला हुत्तिदै आइन् र हाँस्दै भनिन्- ‘‘माथि होटेलमा ठुल्ठुला स्वरमा गीत बजाएर होहल्ला गर्दै नाचिरहेकाहरु त सबै बहिराहरु पो रहेछन् त ।''
राति निकै अबेरसम्म माथि होटेलमा बसेका बहिराहरुको होहल्ला र नाचगान चलिरह्यो ।

000
विहान भाले बास्न नै पाएको थिएन, निद्रा खुल्यो । विहानै सम्झेको कुरा हो, धौलागिरी हिमाल हेर्नुपर्छ । तर उज्यालो हुँदासम्म पनि बादल लागेका कारण हिस्स पर्नुप¥यो । विहानको प्रथम किरणमा मोतीजस्तै टल्किने त्यो हिमाल देखाउने रहर थियो तर रहरै रह्यो । नित्यकर्म सकाएर तात्तातो चिया खायौं र घुम्न निस्क्यौं ।

हामी बसेको घर ढुगैढुंगाले बनाएको दुई तल्लाको । वरिपरि सिमेन्टेड र तीन तल्लासम्मका । विहानको चिचिलो हावाले पनि साथ दिइरहेको थियो । घुम्दैफिर्दै हामी पूर्वतिर लाग्यौं । अलि ओरालो झरेर अलि पर गइसकेपछि गुजमुच्च परेका घरहरु देखियो, गुरुङ वस्तीको नमूना नै भन्दा हुन्छ यस्तोलाई । यो दृष्य देखेर श्रीमति आल्हादित हुँदै चिच्याइन् नै । गुरुङ वस्तीमा यस्तो दृष्य मेरो लागि नौलो होइन । तर कसो कसो श्रीमतिसँगै म पनि त्यो दृष्यमा रमाउन पुगें । छोरा पनि रमायो । त्यहाँ अहिल्यै नैं पुगुँजस्तो लागेको थियो । तर विस्तारै पुग्यौं ।

घान्दू्रकको त्यो चित्ताकर्षक वस्तीमा भोजभतेर केही हुँदै रहेछ । घुम्यौं, अलमलिएनौं । त्यसलाई छाडेर हामी अलि माथितिर लाग्यौं र पुनः पूर्वतिर सोझियौं । हेर्नेवर्ने केही छ वा छैन, केही जानकारी भएन । एकान्त थियो । कसैलाई सोधुँ भनेर चारैतिर आँखा दौडाएँ । कसैलाई देखिनँ । ठाउँ यस्तो लाग्यो, यहाँ पर्यटन उद्योगको पाइला पुगेकै छैन । केही छ कि भनेर खोज्नलाई नै आफू एक्दै हत्तारिँदै अगाडि दौडिएँ र पँधेरामा एउटी महिलालाई देखें । सोधें । माथितिर हातले देखाएर त्यहाँ चिया बगान रहेको कुरा बताइन् । फर्कें र श्रीमतिलाई चिया बगान रहेको बताएँ । इलाम र दार्जिलिङको चिया बगानमा निकै नै रमाइसकेकी उनलाई उतैको सम्झ्नाले छोप्यो होला, जाउँ जाउँ भन्न थालिन् । तिनै जना त्यता तर्फ लाग्यौं ।

सिमेन्टका ठाडा खुड्किलाहरु उक्लेर गएपछि साँच्चै चियावारी आइपुग्यो । चिया बगान हुने ठाउँहरुमा त पुगिसकेको हो तर चिया बनागमा नै भने म गएको थिइन । चिया बगान त मलाई खासै लागेन तर श्रीमति रमाएर फोटो खिचाउँदै गर्दा भने यसै यसै रमाइलो लाग्न थाल्यो । त्यहाँभन्दा माथि श्री ब्रेज मेश्रम् बराह थान मन्दिर रहेछ । यस अघि कहिल्यै नसुनिएको यो नाम स्थानिय गुरुङहरुको कुनै बेलाका आदरनिय पुर्खा हुनुपर्छ र अहिले यसरी मन्दिर नै बनाएर पुज्न थालेछ । वास्तवमा घान्द्रूकको पर्यटनका सन्दर्भमा यो नाम र ठाम उल्लेख हुने गर्दैन तर स्थानियहरु यसलाई खुबै मान्दा रहेछन् । उल्लेख त यहाँ चिया बगान छ भनेर पनि हुँदैन ।

फर्कदा सानो बाटो, तलबाट भारी बोकेका खच्चरहरु उक्लिरहेको थियो । खच्चरलाई बाटो दिन आफूहरु यताउता लाग्नु परेको छोरालाई नौलो र रमाइलो लागेछ । चिसो चिसो मौसम थियो, न्यानो न्यानो घाम । फर्केर आयौं । खाना खायौं र पोखरालाई गन्तव्य बनाएर झ¥यौं ।

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्