समाचार || कला » लेख/फीचर/समीक्षा


 

हस्तकला उद्यममा महिलाः काम गर्ने कालु मकै खाने भालु


अमिका राजथला
September 19, 2020, Saturday

पछिल्लो समयमा उद्यम विकासका मेरुदण्ड मानिएको हस्तकलाका सामग्री ज्यादै रुचाइन थालेको पाइन्छ । कसैलाई उपहार दिन होस् या आफ्नै घर सजाउँन, हस्तकलाले दिने अलग्गै आकर्षणका कारण पनि यसको महत्व बढ्न थालेको छ । अझ अगाडि बढेर भन्नु पर्दा हस्तकला पर्यटन उद्योगको एउटा पाटो बन्न गएको छ । साना उद्यमका रूपमा पनि विकास हुन थालेको हस्तकला अर्थतन्त्रको विकासमा सहायकसिद्ध हुनथालेको छ । विस्तारै र मिहीन रूपमा गर्नुपर्ने हुँदा यी हस्तकलाको विकासमा स्थानीय महिलाहरूको महत्वपूर्ण भूमिका रहने गर्दछ । समय समयमा व्यापार प्रवर्दनका लागि प्रदर्शनी हुने गरेकोमा कोविड १९ले बजार ठप्प हुँदा व्यापारले लय समात्न सकेको छैन । यद्यपि यस लेखको आशय हस्तकलाको विकासमा महिलाको भूमिकाका हेर्ने प्रयास हो  । 

हस्तकला महासंघका पूर्व अध्यक्ष धर्मराज शाक्यका अनुसार ‘हस्तकलामा महिलाको सहभागिता’ ५०देखि ७० प्रतिशत रहेको छ तर औपचारिक रूपमा संस्थाको प्रमुख नै भएर अगाडि बढ्ने हस्तकला महिला उद्यमी १० प्रतिशत मात्र रहेका छन् । अधिकांश हस्तकला सामग्री निर्यातकर्ता कम्पनीमा पुरुषको नाम हुन्छ तर तिनको उत्पादनमा प्रत्यक्ष र सक्रिय सहभागिता महिलाको रहेको हुन्छ । 

उनका अनुसार हस्तकलामा संलग्नताको दृष्टिकोणले भन्नु पर्दा मिथिलातिर मैथली आर्टमा भित्तेचित्र, श्रृंगार, कलात्मक ढंगले आंगन लिप्ने, भित्तामा रामायण–महाभारतका चित्र बनाउँने महिला हुन् । थारु पेन्टिङमा पनि महिला सहभागिता बढी नै पाइन्छ । यस्तै विभिन्न आदिवासी समुदायमा पनि गाउँमा डोको, नाङ्लो, थुन्चे, टोकरी, सुकुल, चकटी बनाउने, धागो कात्ने, कपडा बुन्ने, सुइटर बुन्ने अधिकांश हस्तकलाका काममा महिलाकै बढी सहभागिता पाइन्छ तर तिनलाई बोकेर बजारिकरण गर्ने काम भने परम्परागत रूपमैं पुरुषले गर्दै आएका छन् । उत्पादनमा अहोरात्र खटे पनि पुरुष प्रधान देश भएकोले डर र लाजले महिला अगाडि आएनन्, महिलाले गरेजस्तो देखिएन । बाहिर देखिने गरी पुरुष आएकोले सबै काम पुरुषले गरेजस्तो देखियो । शाक्यको यो भनाईले नेपाली उखान, “काम गर्ने कालु मकै खाने भालु”लाई चरितार्थ गरेको छ ।

हस्तकलाको परम्परागत, साँस्कृतिक इतिहासको पक्ष लामो भए पनि नेपालमा यसको व्यावसायिक प्रयोग हुन थालेको भने धेरै भएको छैन । यसको व्यावसायिक उत्पादनका साथै अगाडि बढेका महिलाहरूमध्ये औंलामा गन्न सकिने, सीमित महिलाहरू मात्र यस क्षेत्रमा अगाडि बढ्न सकेको पाइन्छ । उद्यमी दर्शना श्रेष्ठ भन्छिन्, परम्परागत प्रविधिलाई आधुनिक रूपमा अगाडि बढाउन र आएका चुनौतिलाई पार गरेर बजार स्थापना गर्न सके मात्र सफल उद्यमी भइन्छ ।

पूर्व उद्योग मन्त्री तथा मोतीदेवी स्मृति केन्द्रकी अध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइमा अबको नेपाल तथा महिला सशक्तिकरण उद्यमशीलता मार्फत हुनुपर्छ । महिलाको आर्थिक सामाजिक चेतना जागृत गराउँन संस्थाले विभिन्न उद्यमशीलता तालिम दिंदै आएको छ । सामान्यतया हातबाट बनाइएका बस्तुलाई हस्तकला भनिए पनि हस्तकलाका वस्तुहरू सांस्कृतिक र सौन्दर्यका हिसाबले महत्वपूर्ण हुन्छ, यो संग्रहयोग्य हुनु नितान्त आवश्यक छ । हिजो आज सिर्जनशील हातबाट बनाइएका  

औद्योगिक नीति, २०६७ ले वार्षिक रूपमा अर्बौको कारोबार हुने हस्तकला उद्यमको शव्दलाई समेटेको छैन, सांकेतिक रूपमा बुझ्नुपर्ने अवस्था छ । तर नेपाल हस्तला महासंघको विधान, २०६३ले हस्तकला लाई निम्न रूपमा परिभाषित गरिएको छ–  ‘हस्तकला’ भन्नाले स्थानीय श्रम, शीप, परम्परा तथा कला कौशलतामा आधारित वस्तुलाई सम्झनु पर्दछ । हस्तकलाका कलाकृतिहरू आयआर्जनको वैकल्पिक स्रोतसमेत बनेको छ र यसलाई व्यावसायिक  हिसावले अगाडि बढाउन सके राष्ट्रको अर्थतन्त्रमा टेवा पु¥याउन सकिन्छ । तसर्थ यो विषयलाई सीपको रूपमा मात्र नलिई महत्वपूर्ण स्थानमा राखेर यसको संरक्षण सम्वद्र्धन तथा कलात्मक रूपमा प्रवर्दन गर्न लागि परेको छ नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान हस्तकला विभाग । विभागकी तत्कालीन प्रमुख तथा कलाकार सुषमा राजभण्डारीका अनुसार प्रतिष्ठानले हस्तकला महिला उद्यमीलाई कलात्मक पक्षबाट बजार व्यवस्थापन गर्नका लागि समय समयमा देशव्यापी रूपमा तालिम दिंदै आएको थियो । हाल चित्रकला विभाग प्रमुख कलाकार राजभण्डारी चित्रकला मार्फत कला प्रवद्र्धनमा त्यत्तिकै लाग्दै आएको बताउँछिन् । 

हस्तकलाको इतिहास कोट्याउँदा मानव विकास प्रकृयाको पाषाण युगमा पुग्न सकिन्छ जुनबेलाका मानवले पनि आफ्नो जीवन यापन तथा दैनिक गुजाराका लागि विभिन्न हात हतियार बनाएका थिए भने पछिल्लो समयमा आएर माटोका विभिन्न सामग्री तथा श्रृंगारका सामग्री समेत बन्न थालेको इतिहास पाइन्छ । पुरातात्विक खोज तथा अनुसन्धानले भेट्टाइएका यी सामग्री नै हस्तकलाको प्रारम्भिक चरणका रूपमा लिन सकिन्छ भने यो क्रम धातुको विकाससँगै अझै बढ्दै गएको हामी पाउँछौं । त्यसमा पनि जातिगत, धार्मिक प्रभाव पनि हस्तकलामा विस्तारै देखिन थालेको पाइन्छ ।

लुम्बिनी, कपिलबस्तु तथा त्यस वरिपरि भएको उत्खननमा कुषाण र गुप्त कालिन हस्तकला पाइएको थियो । उत्खननमा माटो तथा काश्यका सामग्रीमा हात्ति, मूर्ति, खेलौना, माटोको माला, भाँडाकुँडा पनि पाइएको थियो । यी हस्तकला पाइएबाट नेपाल तत्कालीन अवस्थामा नै हस्तकलामा समृद्ध रहेको बुझ्न सकिन्छ । यस्तै काठमाडौंको विशालनगरको हाँडी गाउँमा भएको उत्खनन्मा पनि यस्तै यस्तै हस्तकलाका सामग्री पाइएको थियो । 

आठौं शताव्दीकी नेपाली राजकुमारी भृकुटीले तिब्बतमा आफ्नो साथमा मैत्रैय बुद्ध, पंच बुद्धलाायतका विभिन्न मूर्तिहरू आफ्नो साथमा लगेकी थिइन् । विहार निर्माणका लागि भृकुटीले प्राप्त गरेको जग्गामा विहार बनाउन नेपाली कलाकार लगेकी थिइन । आजभोली पनि त्यस विहारमा पुग्ने नेपालीले नेपालकै विहारमा पुगेको महसुस गर्ने गरेका छन् ।

यस्तै भित्ते चित्रको आफ्नै महत्व छ । यी भित्ते चित्र काठमाडौं उपत्यकाका बौद्ध विहार तथा मन्दिरमा कोरिएको प्रशस्त मात्रामा पाइन्छ । स्वयंभूस्थित शान्तिपुर मन्दिर, कुमारी घरमा रहेका भित्ते चित्र उदाहरणीय छन् । इस्वीको पन्ध्रौं शताव्दीमा मुस्ताङमा बनेका बौद्ध विहारमा भित्ते चित्र लेखनका लागि काठमाडौंबाटै कलाकारहरू पुगेको कुरा ऐतिहासिक स्रोतमा उल्लेख पाइन्छ । यस्तै मुस्ताङको गुफाहरूमा रहेको भित्तेचित्रले अहिलेसम्म पनि पर्यटकलाई आकर्षित गरेको पाइन्छ, जुन भित्ते चित्रका अनुपम नमूना हुन् । तिब्बतमा रहेका गुफाहरूको भित्तेचित्रमा पनि नेपाली कलाको छाप देख्न पाइन्छ ।

नेपाली चित्रकलामा पौभाको विशिष्ठ स्थान रहेको छ । तिब्वती कला थांका भनेर आज जुन रूपमा प्रसिद्ध छ, नेपालबाटै गएको कला हो । आजभोलि यो विश्व प्रसिद्ध छ । यो पौभा चित्र दशौं शताब्दिदेखि बन्न थालेको पाइन्छ ।

नेपाली हस्तकला नेपालमा मात्र प्रयोग हुने नभई चौधौं शताब्दिभन्दा अगाडि नै नेपाली हस्तकला देश विदेशमा प्रशिद्ध भइसकेको थियो । यसैको चरणमा तिब्बती धर्म गुरु फाक्पाले अरनिकोलाई तिब्बतमा बोलाए । उनी ७० जना कलाकारको नेतृत्व गर्दै तिब्बत गए । तिब्बतबाट बेइजिङमा कुबलय खाँको दरबारमा हाजिर हुन गए । बेइजिङमा उनको कलाकृतिबाट प्रभावित भएर त्यहाँका जनता र सम्राटले उनलाई नेपाल फर्कन नै दिएनन् । उनलाई त्यही बस्ने बन्दोबस्त मिलाए । उनलाई त्यहाँलाई कला विकासका लागि मन्त्री स्तरको पद दिएर राखिएको थियो जुन कम महत्वपूर्ण कुरा थिएन ।

हस्तकला (विशेषतः चित्रकला, मूर्तिकला)को विकासले चरम सीमा नाघेको यो समयलाई पछिल्ला समय (शाह काल तथा २००७ साल पछिको समय)मा भने त्यति उल्लेखनीय विकास हुन सकेको पाइन्न, तत्कालीन कलालाई नै हेरेर चित्त बुझाउने बाहेक । तथापि २००७ सालपछि नेपालमा पर्यटकको आगमनसँगै यसको व्यापारिकरण बढ्दै गएको हस्तकला महासंघका पूर्व अध्यक्ष धर्मराज शाक्यको कथन छ । शाक्यका अनुसार विश्वका ८० वटा देशमा हस्तकलाका सामग्री निर्यात हुँदै आएका छन् ।तत्कालीन आवस्थामा अरनिकोले बनाएको स्वेत प्यागोडा अहिले पनि चीनको भ्रमणमा जाने पर्यकटका लागि आकर्षणको विषय बनेको छ, जुन चीनले पनि आफ्नो गौरवको रूपमा प्रस्तुत गर्ने गरेको छ । 

उद्योग क्षेत्रको योगदान उत्पादनमा पर्याप्त हुन नसक्नु हाम्रा सामु चुनौतीका रूपमा खडा छ । देशको अर्थतन्त्र अद्यापि परम्परागत कृषि प्रणाली र विप्रेषण (रेमिटेन्स) मा अत्यधिक निर्भर रहेको छ । देशमा औद्योगिक विकासको प्रर्याप्त संभावना हुदाहुदै पनि उपयुक्त व्यवस्थापन क्षमताको अभावमा विद्यमान स्रोत, साधन र सम्भावनाहरूको उचित दोहन गर्न सकिएको छैन । यसबाट उपलब्ध कच्चा स्रोत एवं साधन खेर जानु, विकराल बेरोजगारी र अर्ध— बेरोजगारीको समस्या उत्पन्न हुन गई देशमा विद्यमान श्रमशक्ति न्यून बेतनमा बैदेशिक रोजगारी तर्फ लाग्न बाध्य हुनु जस्ता विविध प्रकारका समस्याहरू राष्ट्रले भोग्नु परिरहेको छ ।

उद्योग सञ्चालनका लागि राजनीतिक अस्थीरता, औद्योगिक असुरक्षा, असहज श्रम सम्बन्ध, उर्जाको न्यून उपलब्धता, कमजोर औद्योगिक पूर्वाधार सुविधा, दक्ष जनशक्तिको अभाव, प्रविधि ग्रहण गर्ने क्षमताको कमी, न्यून उत्पादकत्व, निर्यातयोग्य वस्तुहरूको विविधीकरणमा कमी, कमजोर आपूर्ति व्यवस्थापन स्थिति जस्ता पक्ष नेपालको औद्योगिक विकासमा मुख्य समस्याका रूपमा रहेका छन् । 

त्यस्तै जनमानसमा उद्योग,  व्यवसायलाई जीविकोपार्जनको माध्यम बनाउने मनस्थिति र वातावरण नदेखिनु यतिखेरको मूल समस्या हो । स्वदेशमै लगानी गर्ने, आफ्नो पूंजीगत तथा वौद्धिक सम्पत्तिको अधिकतम उपयोग उत्पादनमूलक क्षेत्रमा गर्ने र मुलुकमै स्वरोजगारका अवसरहरू बढाउने तथा विश्वासिलो औद्योगिक वातावरण सिर्जना गर्नु हाम्रो साझा राष्ट्रिय चुनौतीका रूपमा रहेका छन् । फलस्वरूप नेपाली श्रम विदेशी बजारमा आकर्षित हुनु, नेपालमा व्यवस्थापनदेखि मजदुर तहसम्म दक्ष जनशक्तिको अभाव बढ्दै जानु र नेपालमा भएका महत्वपूर्ण स्रोतहरू त्यत्तिकै उपयोगविहीन अवस्थामा रहनु जस्ता कारणले अहिले पनि नेपाली उद्योग क्षेत्रको चुनौती भनेको उद्योग क्षेत्रमा ढुक्क भएर लगानी गर्न सकिने वातावरण बनाउनु नसक्नु नै रहेको छ ।

महिलाले हस्तकला उद्यममा अगाडि बढ्न नसक्नुको एउटा प्रमुख कारण भनेको आर्थिक स्रोत नै हो । अर्को, परिवार, समाज र संस्कृति पनि हो । यी कारणले आफूमा सीप भएर पनि कुँजिएर बसेका महिला थुप्रै छन्, अगाडि आउन सकेका छैनन् । परिवार, समाज र संस्कृति हस्तकला उद्यम गर्न चाहने कतिपय महिलाका लागि चुनौति र समस्याका रूपमा होइन, अवसरका रूपमा हुनुपर्छ । सीपमूलक कामलाई औपचारिक रूपमा नै अगाडि बढाउन महिलालाई परिवार तथा राज्यबाट नै प्रोत्साहन दिनुपर्छ । सहुलियत ऋण, पुरस्कार, प्रोत्साहनजस्ता कुरा पर्याप्त हुन सकेको छैन, अहिले जति छ त्यो नगन्य हो । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्