समाचार || विपद » समाचार


 

स्वास्थ्यकर्मीलाई दूर्व्यवहार गर्नेलाई कारवाही गर्ने आदेश जारी


नेवाः टाइम्स
August 30, 2020, Sunday

काठमाडौं, १४ भदौ । कोभिड १९ संग लड्ने हतियारको रुपमा रहेका देशभरका स्वास्थ्यकर्मीमाथि पटक पटक भै रहेको दूर्व्यवहारले मुलुकलाई नै प्रभावित पार्न सक्ने आज यहाँ आयोजित कार्यक्रममा औल्याइयो ।

बेलायतको वर्नमाउथ युनिभर्सिटीको सहयोगमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले भर्चुअल रुपमा आयोजना गरेको सन्डेक्लव कार्यक्रममा विभिन्न अस्पतालबाट प्रतिनिधित्व गर्नु हुने स्वास्थ्यकर्मीले आफूले काम गर्दा सामना गरिरहेको दूर्व्यवहारबारे जानकारी गराए ।

 स्वास्थ्यकर्मीहरुले जुनसुकै अवस्थामा पनि आफूहरु काम गर्न तयार रहेको तर समाज, काम गर्ने संस्था र घर परिवारबाट समेत बेलाबेलामा हुने गलत व्यवहारले आहात हुने गरेको उल्लेख गरे ।

कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भगवानको अर्कोरुपको रुपमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी माथि कतै कुनै पनि प्रकारको दूर्व्यवहार, डेराबाट निकाल्ने प्रयास जस्तो कार्य अपराध हो र यसलाई कदापि सहन गर्न नसक्ने बताउदै भन्नुभयो "यस्ता कार्य गर्नेहरुलाई पहिले थुन्ने र त्यसपछि कुरा सुन्ने आदेश जारी भइसकेको छ ।" अाफूसंग गलत व्यवहार गर्नेलाई छ महिनासम्म थुन्ने अधिकार रहेकाे उल्लेख गर्दै उहाले काेविड१९ नियन्त्रणका लागि समाधानमुखी उपाय सरकारले अबलम्वन गर्ने जानकारी गराउनुभयाे ।

कोभिड १९ बाट पीडित जो सुकैलाई पनि निःशुल्करुपमा उपचार दिने, परिक्षण गराउने, स्वास्थ्यकर्मीहरुलाई चाहिने मास्क र पिपिइ जस्ता सामग्री दिने निर्वाधरुपमा उपलब्ध गराउने जिम्मा सरकारको हो र यसको व्यवस्थापन मिलाउन आफू तयार रहेको प्रजिअ दाहालले कोभिड १९ बाट प्रभावित स्वास्थ्यकर्मीहरुका लागि बेग्लै क्वारेन्टिन र आइसोलेसन केन्द्रको ब्यवस्थापन गर्न तयार रहेको जानकारी दिनुभयो ।

 मानिसको आवतजावत रोकेर कोभिड १९ को संक्रमणको दर घट्ने भन्ने विषयको विज्ञहरुको राय अनुसार अहिले निषेध आदेश जारी गरेको र सो भित्र सरकारले स्थानीय निकाय, सुरक्षाकर्मीसँग समन्वय गरेर ५, ६ हजारको संख्यामा क्वारेन्टिन केन्द्र, उत्तिकै संख्यामा आइसोलेसन केन्द्र, १३ हजार भन्दा बढी कोभिड परिक्षण गरिएको चर्चा गर्दै उहाँले तर यसलाई सफल गराउने ८० प्रतिशत दायित्व जनताको नै हो भन्ने कुरा बिर्सन नहुने बताउनुभयो ।

 कार्यक्रममा डब्लुएचआरका संस्थापक अध्यक्ष लिली थापाले स्वास्थ्यकर्मीहरुमाथि भएको दूर्व्यवहार निन्दनीय भएको टिप्पणी गर्दै सरकारले आफ्नो संस्थामा क्वारेन्टिनमा रहेका पछिल्लो १९ जनाको पिसिआर परिक्षण नगरेर उनीहरुले २० औं दिन क्वारेन्टिनमा बस्न परेको चर्चा गर्नुभएको थियो ।  

 कार्यक्रममा शहीद गंगालाल अस्पतालका डा.नृपेश अधिकारीले स्वयं चिकित्सकहरु पनि अरुलाई र घर परिवारलाई समेत रोग सार्ने डर लिएर काम गरिरहेको हुन्छ तर समाजले यो कुरा नबुझि डाक्टर आयो, उस्ले रोग सार्छ भनेर हेला गर्नु उचित नहुने बताउदै अस्पतालमा कोभिड १९ को विरामीको पेस मेकर र एञ्जियोग्राफी भइरहेको तर बाहिर भने  हेला हुन्छ भनेर भन्न नसक्ने अवस्था रहेको बताउनुभयो ।

बिएण्डबि अस्पतालका मेडिकल अधिकृत डा.आकृति जोशीले कुनै पनि रोगी आउने वित्तिकै पहिला हेर्ने चिकित्सक नै हुन्छ तर उनीहरुले नै घृणाको सामना गरिरहेको हुने र घर बेटीले समेत तिमीहरु डेरा छोडर जाउ भन्ने जस्तो पीडा भोग्न पर्ने चर्चा गर्दै  कोरोना लागेका र नलागेका बिरामी सबैलाई उपचार दिनुपर्ने चिकित्सकहरुको कुरामा गम्भीर हुन आग्रह गर्नुभयो ।

 नेपाल नर्सिंग संघका उपाध्यक्ष मीना बानियाले कोरोनालाई हाउजुगीको रुपमा चित्रण गरेर भएको वातावरण स्वयं मिडियाले पनि बनाएको चर्चा गर्दै संघले अग्रपक्तिमा रहेर काम गर्ने स्वस्थ्यकर्मीहरुको बिमा, भत्ता र स्वास्थ्यको विषयमा पनि गम्भीर भएर सरकारसँग वार्ता चलाएको उल्लेख गर्नुभयो ।

 सिभिल अस्पतालका स्टाफ नर्स सोना महर्जनले पहिले स्वास्थ्यकर्मीहरुसँग कुरा गर्न खोज्ने बिरामी र बिरामीका आफन्तहरु देख्ने वित्तिकै टाढा भाग्ने अवस्था आएको बताउदै आफू मिलन चोक, वानेश्वरमा बसेको बेला घर बेटी र अन्य गरी १५, २० जनाको संख्यामा हुल बाँधेर आएर आजै निस्की र अहिल्यै निस्की जस्तो अपशब्द बोलेर धम्काएको अनुभव सुनाउनुभयाे ।

स्मरणीय छ, स्वास्थ्यकर्मी तथा अग्रपंत्तिमा रहेर काम गर्नेलाई दुर्व्यवहार, अपमान, धम्की दिई असहज परिस्थिति सिर्जना गर्ने तथा गैरकानुनी गतिविधि गर्ने व्यत्तिलाई कारवाही गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन जारी गरिसकेकाे छ । मुलकी अपराध संहिताकाे दफा ११९ अनुसार अभद्र व्यवहार गर्नेलाई कारवाही गर्दा १ वर्षसम्म कैद र १० हजार रूपियाँ जरिवाना वा दुवै हुने व्यवस्था छ ।डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले कोरोना काल बिताउन अभिशप्त भएका हामीले अहिले उपचारमा खटिएका स्वास्थ्यकर्मी समेतलाई हेला गर्ने प्रवृत्ति पनि हेर्न बाध्य छौ भन्दै चेतनशील कहलाउदाहरु समेतले यसरी व्यवहार गर्दा सम्पूर्ण समाज प्रभावित हुने उल्लेख गर्नुभयो ।

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्