समाचार || विपद » लेख/फीचर/समीक्षा


 

कोरोनाको महामारीमा सांस्कृतिक चाडपर्व


बसन्त महर्जन
August 24, 2020, Monday

कोरोना भाइरस, कोविड–१९ को महामारी नफैलिएको भए २०७६, चैत्र ११ गतेका दिन काठमाडौं उपत्यकामा घोडेजात्राको रौनक हुन्थ्यो । महामारीलाई फैलनबाट रोक्न यसै दिनदेखि लकडाउनको घोषणा गरिएको थियो । स्थानिय नेवार समुदायको प्रमुख पर्व रहेको ‘पाहाँचह्रे’ को खुशीयालीमा मनाइने घोडा दौडाउने रीतिलाई परिमार्जन गरेर सरकारी तवरमा टुँडिखेलमा ‘घोडाजात्रा’ मनाउने परम्परा चलाइएको हो । तर वाध्यतावश लकडाउन यही दिनबाट सुरु भयो । यसअघि नै मुख्य पर्व ‘पाहाँचह्रे’का दिन गरिने खट जात्रा स्थगन भइसकेको थियो । 

चीनको वुहान सहरमा नयाँ वर्ष मनाउन भेला भएको ठूलो भीडमा कोरोना भाइरस कोविड–१९ बाट संक्रमित व्यक्ति पनि पुगेको र त्यहीबाट डँडेलो सल्केजसरी महामारी फैलिएको कुरामा विवाद छैन । सुरुमा यो चीनको मात्रै समस्या भन्ने ठानेकोमा तुरुन्तै विश्वव्यापी भयो । यो भाइरस कसरी फैलिँदो रहेछ भन्ने कुरा मानव जातिको सुझबुझले भेटाएपछि विश्वभर नै मान्छेहरू सतर्क हुने, सकभर मान्छेमान्छे बीच सम्पर्कमा नजाने र क्वारेन्टाइनमा बस्ने उपाय अपनाउँन थाले । 

कोरोना फैलन नदिने अनेक उपायमा भीडभाड नगर्ने र व्यक्तिव्यक्ति बीच भौतिक दूरी कायम राख्नु पनि हो । यसका लागि ‘लकडाउन’लाई पनि पनि भरपर्दो ‘मोडालिटी’ भनी अन्यत्रजस्तै नेपालमा पनि अपनाइएको थियो । लकडाउनलाई कडा पार्दा होस् वा खुकुलो पार्दा, सामान्य जनजीवन मात्र नभएर साँस्कृतिक जनजीवन पनि नराम्रोसँग प्रभावित हुनपुग्यो । कोविड–१९को संक्रमण अन्यत्र फैलिँदा पनि माघ ८ गतेसम्म नेपालसम्म आइपुगेको थिएन । ढिलोचाँडो यसले नेपाललाई पनि गाँज्छ भन्ने पूर्वानुमान गरी सतर्कता अपनाउन थालिसकेको थियो । यो भाइरस मान्छेमान्छेको सम्पर्कबाट सर्ने तथा भीडभाडमा अत्यधिक जोखिम भएको कुरा ज्ञात भएअनुसार लकडाउनअघि नै ‘पाहाँच¥हे’ पर्व अघिल्ला वर्षहरूमा जस्तो खट निकाली मान्छेको हुल बाँधी नगर परिक्रममा नगर्ने प्रायः निश्चित भइसकेको थियो । 

कंग अजिमा, वटु अजिमा र भद्रकालीको लुमधि अजिमाको खटलाई आआफ्नो ठाउँबाट ल्याई राति टुँडिखेलमा र दिउँसो असनमा ल्याई ठुलो भीडमा हर्षोल्लासका साथ जात्रा गर्ने गरिन्छ । यस अवसरमा घर घरमा छोरीबेटी तथा नाताकुटुम्बलाई आमन्त्रण गरी ‘नखःत्या’ भनी भोज खुवाउने चलन छ । घर घरमा आफू परिवार मात्रै बसेर पूजागर्ने तथा भोज खानेबाहेक अरु केही पनि हुन पाएन, यो वर्ष । पाहाँचह्रेको अवसरमा टुँडिखेलमा आयोजना गरिने घोडेजात्रा पनि संक्षिप्त वा औपचारिकता निभाएर सम्पन्न गरियो । यसै अवसरमा निश्चित टोलहरूमा साना साना केटाकेटीहरूलाई तान्त्रिक साधनासहित पकाइएको भातसहित अन्य कुरा खुवाउने ‘मरःजा नकेगु’ परम्परा पनि हुन पाएन । 
कोविड–१९ मुख्यतः चिकित्सा विज्ञानका लागि ठूलो चुनौतीको विषय हो भने यो प्रकोपका कारण मानव जातिसँग सम्बन्धित हरेक क्षेत्र प्रभावित भएका छन् । कोरोनालगायतका रोगव्याधी तथा प्राकृतिक प्रकोपहरू मानव जातिको इतिहासमा नौलो कुरा होइन । यस्ता विभिन्न घटनाहरूले कतिपय मानव सभ्यताहरू विलुप्त भएको पाइन्छ भने कतिपयको उत्थान यस्तै विपत्तिको पृष्ठभूमिमा भएको पाइन्छ । कहाँ कति बेला कस्ताकस्ता विपत्तिहरू आए र कस्तो असर पा¥यो भन्ने खोजी वा अभिलेखनको क्रममा पछिल्लो अध्ययन कोविड–१९ हो । तसर्थ कोरोनाका कारण पाहाँचह्रे वा घोडेजात्रामात्रै हुन नपाएको होइन । साँस्कृतिक क्षेत्रमा पनि यसले ठूलै असर पारेको छ र के कस्ता साँस्कृतिक परिवर्तनहरू ल्याउने हुन् भन्ने कुरा भविष्यमा अध्ययनका विषय हुनसक्छ । 

कोविड–१९ को फैलावट कहाँबाट भयो, कसरी भयो, कसले ग¥यो लगायतका प्रश्नहरू एक ठाउँमा छ र त्यसका विषयमा आरोप तथा प्रत्यारोपहरू जस्तोसुकै भएपनि यो कसरी फैलिन्छ र त्यसबाट कसरी जोगिने भन्ने प्रश्न पनि अहं प्रश्न हो । यद्यपि, यस लेखको विषयवस्तु यही संक्रमणका बीच नेपालमा मनाईने केही साँस्कृतिक पर्वहरूलाई संक्षिप्त रूपमा उदाहरणको रूपमा समेट्ने प्रयास गरिएको छ ।

लकडाउन र क्वारेन्टाइन एकातिर, जात्रापर्व अर्कोतिर

कोरोना भाइरसको संक्रमण सुरुमा नेपालमा भन्दा बढी भारतमा देखिएको थियो । पूरै भारत लकडाउनमा गएपछि नेपालमा पनि चैत्र ११, २०७६ बाट लकडाउनको घोषणा गरिएको थियो । लकडाउनका कारण काम गर्ने ठाउँमा पनि काम नभएको, नपाएको र समस्या पर्याे भनेर आआफ्नो गाउँठाउँ फर्कनेहरूको पनि लर्को नै लाग्यो । लकडाउनको अवधिमा जो जहाँ हो त्यहीँ सुरक्षित रूपमा राख्ने सहमति नेपाल र भारतबीच भएपनि सहमति प्रभावपूर्ण भएन । र, भारतबाट नेपाल फर्कनेहरूको ताँती लाग्यो । सीमानाका नै बन्द रहेको अवस्थामा बाहिरबाट कोही पनि आउँदैनन् भन्ने अनुमान गलत सावित भएपनि यसरी आउनेहरूलाई सुरुमा निश्चित दिन ‘क्वारेन्टाइन’ मा राख्ने काम भयो तर क्वारेन्टाइनको व्यवस्था गर्न राज्य पूर्ण रूपमा विफल भयो । कतिपय चेकजाँच नै नगरी आआफ्नो गाउँ पसे भने कतिपय क्वारेन्टाइनबाट पनि भागेर गाउँ पुगे । सुदूर पश्चिमको दक्षिणी नाकाबाट यसरी पस्नेहरूको दृष्य संचारमाध्यममा देखेको केही दिनपछि जाजरकोटमा लागेको ‘ढ्याङ्ग्रे मेला’को भीड देखेर जो कोही पनि झस्किने अवस्था थियो । 

काठमाडौंमा पाहाँचह्रेपछि आउने साँस्कृतिक पर्व सेतो मत्स्येन्द्रनाथ पनि भनिने ‘जनबहाःद्यः’को रथजात्रा थियो । तीनधारा पाठशालाको अगाडि चौबाटोबाट रथमा राखी रत्नपार्क, भोटाहिटी, असन, मखन, मरु, हनुमानढोका, चिकंमुगल, जैसीदेगल हुँदै लगनटोलमा पु¥याई सम्पन्न गरिने यो रथयात्रालाई काठमाडौंको महत्वपूर्व पर्वका रूपमा लिइन्छ । तर लकडाउनका कारण यो जात्रा हुन पाएन ।  

ऐतिहासिक तथा साँस्कृतिक नगर भक्तपुरको पर्यायको रूपमा लिइने बिस्काः जात्रा पनि महामारीले स्थगित भयो । नगरको पूर्वमा रहेको ‘भेलुख्यः’ भनिने खुल्ला ठाउँमा भैरवको प्रतीक भनिने ‘यःसिँ’ वा लिंगो तान्त्रिक विधिबाट बडो उत्साह र उमंगका साथ ठूलो जनसमुदायका बीच ठड्याएपछि विस्काः जात्रा सुरु हुन्छ । मुख्यतः ‘भैलःद्यः’ भनेर भैरवको खट जात्रा गरिने हो । लकडाउनका बेला यो जात्रा कसरी हुन्छ भन्ने विज्ञासा एक ठाउँमा थियो भने जात्रालाई रोक्नु हुँदैन भनेर तयारीका सम्पूर्ण कार्यहरू हुँदै पनि थियो । तर अन्तिम समयमा आएर जात्रा स्थगन गर्नै प¥यो । 

भक्तपुरमा विस्काःजात्रा मनाइरहेकै समय नजिकैको थिमि र बोडे दुई नगरमा सिन्दुर र जिब्रो छेड्ने जात्रा संचालन हुन्छ । स्थानिय भाषामा ‘भुइसिन्हः जात्रा’ भनेर बाटै भरि सिन्दूर छर्केर जात्रा उल्लासमय वातावरणको सिर्जना हुने यस दिनको थिमि नगर सिन्दूर र जात्रालुको अभावमा उराठलाग्दो बन्यो । कोरोनाको कहरमा नगरवासीमा त्राहीमाम थियो । यसै बेला नजिकैको अर्को प्राचीन नगर बोडेमा मनाइने जिब्रो छेड्ने जात्रा पनि हुन पाएन । काठमाडौंको उत्तरी दिशामा पर्ने प्राचीन नगर टोखामा मनाइने सपन तीर्थको जात्रा पनि हुन पाएन । सूर्यमानमा आधारित विक्रम सम्बतको सम्बतसरको झलक दिने यी पर्वहरू हुन नपाउँदा विक्रम सम्बत २०७६ समाप्त भई २०७७ साल लागेको अनुभव नै हुन पाएन । 

काठमाडौं उपत्यकाको अत्यन्तै पुरानो वस्ती र बज्रयान बौद्ध धर्मको केन्द्रको रूपमा प्रख्यात ‘सक्व’ पनि भनिने साँखुमा मनाइने ‘म्हासुख्वाः माजु’ र ‘ह्याउँख्वा माजु’को ठूलो जात्रा पनि स्थगित भयो । वस्तीभन्दा माथि डाँडामा रहेको गुँभालमा राखिएका ‘म्हासुख्वाः माजु’ र ‘ह्याउँख्वा माजु’लाई खटमा राखी नगरमा ल्याई यो जात्रा सम्पन्न गर्ने हो । यो जात्रालाई उपत्यकाकै सर्वप्राचीन जात्राको रूपमा पनि लिइन्छ । 

गौतम बुद्धको जन्म (इ.पू.५६३), बुद्धत्व प्राप्ती (इ.पू.५२८) र महापरिनिर्वाण (इ.पू.४८३) तीन घटनालाई बौद्धहरू अत्यतै ठूलो घटनाको रूपमा लिन्छन् । यी तीन वटै घटना वैशाख पूर्णिमाका दिन भएको थियो र यही भएर यसलाई ‘त्रिसंयोग दिवस’ वा बुद्ध पूर्णिमा पनि भनिन्छ । काठमाडौं उपत्यकाका बौद्ध नेवार समुदाय यस दिनलाई ‘स्वांयापुन्हि’ नामबाट बुद्धपूजा गर्ने तथा बुद्धका नाममा परम्परागत रूपमा नै अनेक क्रियाकलाप सम्पन्न गर्दै आइरहेकोमा हिजोआज यसैलाई ‘बुद्ध जयन्ती’ नाम दिई देशैभरि सार्वजनिक रूपमा विविध कार्यक्रम गर्ने चलन चलेको छ । विशेषतः यस दिन बौद्ध क्षेत्रहरूमा बुद्धको पूजा गर्ने धर्म प्रवचन गर्ने तथा ध्यान बस्ने गरिन्छ । बुद्धको जन्मस्थल लुम्बिनीमा केही दशकदेखि भव्य कार्यक्रमको आयोजना गर्ने प्रथा सुरु गरेको भएपनि यसपाली औपचारिकतामा सीमित राखेर सामान्य कार्यक्रम मात्रै गरेको थियो । बौद्ध समुदायको बाक्लो बसोवास भएका बौद्धस्थलहरूमा पनि औपचारिकतामा नै सीमित गर्नु परेको थियो । 

यही पूर्णिमाका दिन काठमाडौंबाट पूर्व रहेको काभ्रे जिल्लाको प्राचीन नेवार वस्ती बनेपामा चण्डेश्वरीको ठुलो जात्रा हुने गर्दछ । बनेपाको ठुलो पर्वको रूपमा रहेको यो जात्रा यस वर्ष हुन पाएन । यही बेला राई, लिम्बूलगायतका किराँत परिवारका जनसमुदायको चण्डी पूजा हुने गर्दछ । यस पर्वका अवसरमा कूलपरम्पराअनुसार पूजा गरी सामुहिक नाच नाच्ने चलन छ । गाउँघरमा कतै कतै नाच्ने काम भएपनि काठमाडौंमा गरिने सामूहिक कार्यक्रमको आयोजना भएन । कतिपय खश–आर्य समुदायको कूलपूजा पनि यही बेला हुने गर्दछ । 

आफूलाई जन्म दिने बाबु र आमाको नाममा मनाइने दुई बेग्लाबेग्लै पर्व हो– मातृऔंशीमा आमाको मुख हेर्ने दिन र कुशे औंशीमा बाबुको मुख हेर्ने दिन । हिन्दू तथा बौद्ध दुबै धार्मिक शास्त्र ग्रन्थहरूमा उल्लेख नभएको यो पर्व विशेषतः काठमाडौं उपत्यकाको नेवार समाजमा परम्परादेखि प्रचलित छ । राम्रो सन्देश दिने भएर आजभोलि अन्य समुदायमा पनि लोकप्रिय हुन पुगेको यी दुबै पर्व पनि महामारीका कारण नराम्रोसँग प्रभावित भयो । यस दिन आमा जीवित भएका् छोराछोरीहरू नुहाउँदैनन् र आमाको मुख हेर्ने भनी तम्तयारी गर्दछन् । त्यस्तै बाबु जीवित भएकाहरू पनि नुहाउँदैनन् र बाबुको मुख हेर्न भनी आवश्यक तयारी काम गर्दछन् । आमा–बाबुको मुख हेर्ने भनेर यस्तै वा उस्तै नियम नपाइएपनि आफ्नी आमालाई सगुन दिई मनपर्ने खानेकुरा खुवाउने चलन छ । सगुनको विधि पूरा गर्न नसक्नेहरूले खानेकुरा मात्रै चढाएर पनि आमा–बाबुको मुख हेर्ने गरिन्छ ।

लक डाउनका कारण एउटै घरमा रहेका छोराछोरीले बाहेक यस दिन मुख हेर्न पाएनन् । आमा बितिसकेका छोराछोरीहरूले आमाको मुख हेर्ने दिनमा र बाबु बितिसकेका छोराछोरीले बाबुको मुख हेर्ने दिन अनिवार्य नुहाउनु पर्ने र रीति छ । विहानै नुहाएर ‘निसलाः तयेगु’ भनेर घरको दैलो अगाडि रहने ‘पिखा लखु’ मा चिउरा, केरा तथा फलफूलहरू चढाउने गरिन्छ । यसरी नै सक्नेहरू आमाको मुख हेर्न काठमाडौंको थानकोट नजिक रहेको मातातीर्थ नामको कुण्डमा र कुशे औंशीका दिन बाबुको मुख हेर्न गोकर्णमा नुहाउने तथा त्यहीँ पिण्डदान गर्ने गर्दछन् । मातातीर्थ र गोकर्णमा सम्बन्धित दुई दिनमा ठुलो मेला लाग्दछ । मेलामा जम्मा हुने भीडलाई ध्यानमा राखेर प्रशासनले रोक लगाउनुका साथै नआइदिन सार्वजनिक आह्वान ग¥यो । आह्वानलाई लत्याएर जसोतसो पुग्नेहरूलाई पनि बाटैमा रोक्न बाटो बाटोमा नै प्रहरी तैनाथ गरेर मेला लाग्न नै दिइएन । 

लकडाउनकै समयमा प¥यो, नेवार समुदायको प्रत्येक घरधुरीले सामुहिक वा व्यक्तिगत रूपमा मनाउनै पर्ने दिगुद्यः पूजा पनि । कूलपूजाको रूपमा रहेको यो पूजाका लागि घरभन्दा अलि पर खुल्ला चौरहरूमा आआफ्नै देवस्थल निर्दिष्ट गरिएका हुन्छन् र कूलका मान्छेहरू त्यहाँ पुगेर पूजा गर्ने तथा प्रसाद खाएर आउँछन् । प्रत्येक कुलको देवता कुनै एउटा घरमा राखिएको हुन्छ भने यही दिनमा मात्रै बाहिर ल्याइने हो । घरमा राखिएको देवताको पूजा गरेर घरघरमा नै प्रसाद खानु परेको थियो । लकडाउनका कारण मुख्य घरसम्म पुग्न नपाएकाहरू सो प्रसाद ग्रहण गर्न पनि बन्चित हुनुप¥यो ।  
नेवार समाजमा केही समय विश्रामपछि सुरु हुने पर्व ‘गथांमुगः’ पनि प्रभावित भयो । धर्मसँग सम्बन्धित नभएको तर आदिमकालदेखि टोलटोलमा मनाइने यो पर्वका कारण भीडभाड बढ्छ भनेर कतै स्थगन गरेर घरघरमा गरिने पूजामा नै सीमित राखियो भने कतै सामाजिक दूरीलाई ध्यानमा राखी सम्पन्न गरेको पनि पाइयो । 

कोरोनाको कहर सुरु भएदेखिका सबै साँस्कृतिक पर्वहरू स्थानिय वा सानो आकारका मात्रै भएका थिए । गाईजात्रा मुख्यतः काठमाडौं उपत्यकाको साँस्कृतिक पर्व भएपनि नेवार समुदायको फैलावटसँगै यो देशव्यापी भइसकेको छ । गाईजात्रा पर्व आउँदासम्ममा लकडाउन खुकुलो भई दैनिक जीवन सामान्य लयमा फर्कने तरखरमा थियो । तर भीडभाड नगर्न र सतर्कता अपनाउन भने सरकारको आदेश कायम नै थियो । महामारीलाई ध्यानमा राखेर कतिपय ठाउँमा स्थगन नै गर्ने निर्णयलाई कार्यान्वयन गर्न सफल भयो भने कतिपयले परम्परागत रूपमा यसलाई मनाए नै । उदाहरणका लागि कीर्तिपुर नगरपालिकाभित्र पर्ने कीर्तिपुर क्षेत्रमा विभिन्न स्थानमा ठुलै भीडभाडका साथ नचाइने ‘धेधेँपापा’ नामको मुकुण्डो नाच स्थगन ग¥यो भने सोही नगरपालिकाभित्रको पाँगा क्षेत्रमा त्यस्तै प्रकारको ‘तिरकू लारकू’ नामको मुकुण्डो नाच भौतिक दूरी कायम गर्दै सम्पन्न गरे । यसरी नै मरेको मान्छेको नामबाट गाई निकाल्ने र नगर परिक्रमा गराउने काम भने सबै ठाउँमा भयो । गाईजात्राकै सन्दर्भमा तथा यस समयमा हुने अन्य पूजा साँस्कृतिक कुराहरू पनि प्रभावित नै रह्यो । 

मत्स्येन्द्रनाथको रथयात्रा प्रसिद्ध छ । वर्षमा छ महिना पाटन र छ महिना बुंगमतिमा राखिने यो देवताको रथयात्रा उपत्यकामा सबैभन्दा लामो समयसम्म लगाएर गरिने रथयात्रा हो । लक डाउनका कारण यो रथयात्रा सम्पन्न गर्न सकिने हो वा होइन भन्ने कुरामा निकै अन्यौल रह्यो । जात्राका लागि सर्वप्रथम लगनखेलमा ‘न्हवं’ गर्ने भनेर मत्स्येन्द्रनाथको मूर्तिलाई स्नान गर्ने रीति छ । जात्रा हुने नहुने टुंगो नलागेपनि जात्रालाई औपचारिकता मात्रै दिन ‘न्हवं’ गर्ने रीति सम्पन्न ग¥यो । पुल्चोकमा राखिएको रथमा देवतालाई विराजमान गराउने कि नगराउने भन्ने प्रश्नमा पनि निकै छलफल र चर्को वादविवाद भयो । गुठी संस्थानले रथयात्रासम्बन्धी सम्पूर्ण कार्य रोक्न सूचना जारी गर्दा जनसमुदायमा आक्रोस मात्रै उत्पन्न भएन, विद्रोहको मनःस्थितिमा पुग्यो । यस सम्बन्धमा अनेक चरणमा पटक पटक छलफल पनि भयो । जात्रा चलाउनु नै पर्ने कुरामा अडान राख्ने जात्रासम्बद्ध पूजारी करुणा बज्राचार्य भन्छन्– ‘‘जात्रा हेर्न आउनेको भीडका कारण कोरोना संक्रमणको संभावना भए जात्रा हेर्न नआउनका लागि सर्वसाधारणमा आह्वान गर्न सकिन्छ । जात्रामा रथ तान्न आवश्यक व्यक्तिहरूलाई सम्पूर्ण रूपमा ‘स्यानिटाइज’ गरेर सामाजिक दूरी राखेर गर्न पनि नसकिने होइन । घरघरका बसेर घरजात्राको नजर गर्ने व्यवस्था मिलाउन सकिन्छ । आवश्यक परे कफ्र्यु नै जारी गरेर भएपनि जात्रा सम्पन्न गर्नु पर्दछ । रोक्नु हुँदैन ।’’ 

जात्राको रीतिमात्रै भएपनि पु¥याउने हठको प्रमुख अन्तर्य यस रथयात्रासम्बन्धी रहेको एउटा मान्यता पनि हुनसक्छ । मान्यताअनुसार मत्येन्द्रनाथलाई सातौ शताब्दीमा राजा नरेन्द्रदेवको शासनकालमा कामारुकामाक्ष (असाम, भारत) बाट काठमाडौं उपत्यकामा ल्याउँदा पाटन वा भक्तपुरमध्ये कहाँ राख्ने भन्ने विवाद भएको थियो । पाटनमा रथयात्रा गर्न नसक्ने अवस्था आएमा भक्तपुरलाई हस्तान्तरण गर्ने शर्तमा विवाद साम्य गरिएको थियो । लकडाउनका कारण कथंकदाचित रथयात्रा सम्पन्न गर्न नसक्दा भक्तपुरलाई यो पूरै संस्कृति हस्तान्तरण गर्नु पर्ने आशंका पनि हुनसक्छ । 

गुठी संस्थानले जात्रामाथि जबर्जस्ती रोक लगाउने हो भने सो संस्थाकै विरुद्ध जाने वा संस्थाको बहिस्कार नै गर्ने मनस्थितिमा नगरवासी पुगेपछि गुठी संस्था अन्ततः हच्किनु परेको थियो । विधिवत् देवतालाई पुल्चोकमा बनाइएको रथमा विराजमान गराउने काम भए पनि रथयात्रा हुन्छ नै भन्ने कुरामा भने आशंका कायम नै थियो । महामारीको भयावह पुनः चर्केकोलाई ध्यानमा राखेर भाद्र ४ गतेबाट निषेधाज्ञा नै जारी गरेपछि अब यो जात्रा हुने हुनेमा संभावना झनै कमजोर भएको छ ।  

लकडाउन खुकुलाे भएपछि सामाजिक दूरी कायम गर्दै स्वयम्भू महाचैत्यलगायत बाैद्ध स्थलहरूमा लाग्दै अाएकाे एक महिना लामाे गुँला मेला निषेधाज्ञा जारी भएपछि एकाएक विथाेलियाे । श्रावणा शुक्ल प्रतिपदादेखि एक महिनासम्म चल्ने याे मेलाकाे समापन निषेधाज्ञाका बीच निकै थाेरै व्यक्तिकाे सहभागितामा अाैपचारिकता मात्रै निभाउनु पर्याे ।

देशको ठुलो भूभागमा भीडभाड गरेर मनाइने एउटा पर्व हो– तीज । हिन्दू महिलाहरूमा अत्यधिक लोकप्रिय यो पर्व भाद्र कृष्णपक्षको तृतीयाका दिन पर्दछ । अघिल्लो दिन दर खाने र भोलि पल्ट व्रत बस्नु यस पर्वको मौलिक विशेषता हो तर हिजोआज महिनौं दिनअघि देखि नै दर खाने र नाचगान गर्ने विकृति चलेको पाइन्छ । यताउता गएर महिना दिनअघिदेखि नै दर खाने र नाचगान गरेर हिड्ने विकृतिलाई महामारीले ठ्याम्मै रोक्यो । आफ्नै घरमा अघिल्लो दिन दर खाने र घरभित्रै ब्रत बस्ने तथा नाचगान गरेर तीज पर्व मनाएको पाइयो । अरु सामान्य दिनमा भए घर नजिकको शिवालयमा जाने, पूजा गर्ने तथा भीड जम्मा पारेर नाचगान गरेर रमाउने गरिन्थ्यो । सबैभन्दा बढी भीड हुने पशुपतिनाथ मन्दिर तीजका दिन नियमित पूजा बाहेक भक्तजनका लागि तालाबन्दी नै हुने सूचना अघिल्ला दिनहरूमा नै जारी भइसकेको थियो । र, अन्य वर्षका तीजमा लाखौं भक्तजन पुग्ने पशुपतिनाथको मन्दिर यो वर्षको तीजको दिन सुनसानजस्तै भयो । विगतका दिनहरूमा जस्तो भीडभाड नहोस् भनेर प्रशासनले नै रोक लगाउनुका साथै अन्य मन्दिर क्षेत्रमा पनि सचेत गराइएको प्रभावपूर्ण नै देखियो ।  

साँस्कृतिक कार्यक्रम भएपनि त्यसलाई नियन्त्रण गर्नुको औचित्य काठमाडौं पूूर्वीभेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ स्थित सयपत्री टोलमा देखियो । मान्छेहरू भेला नै हुन नपाओस् भनेर प्रशासन चनाखो रहेको भएपनि अटेरी गरी सयपत्री टोलको एक घरमा ५० भन्दा बढी महिला तथा आफन्तजन भेला गरी दरभोजको आयोजना गरिएको थियो । दरभोजको आयोजना गरिएको घरको ३० वर्षीया महिलाले केही दिन अघि पिसीआर टेस्ट गराएकी थिइन् र भोज सकिएको केही घन्टापछि नै उक्त महिला कोविड–१९ बाट संक्रमित भनेर रिपोर्ट आयो । एक क्षण अघिको हर्षोल्लासलाई उक्त रिपोर्टले पूरै टोललाई चिन्तित बनाइ दियो । 

यसपछि आउने ठुलो पर्व हो– इन्द्रजात्रा । ‘यँयाः पुन्हि’ भनेर काठमाडौं उपत्यकाको प्रायः नेवार समाजमा मनाइने पर्व प्राचीन कान्तिपुर नगरमा भने इन्द्रजात्राका रूपमा बडो हर्षोल्लासपूर्वक अनेकौं विविधताका साथ मनाइन्छ । भक्तपुरको सल्लाघारीबाट तान्त्रिक विधिबाट रुख काटी पूजा गरी हनुमानढोकामा पु¥याएर निश्चिम शुुभसाइतमा ठड्याएपछि इन्द्रजात्रा सुुरु भएको मानिन्छ । तर आवश्यक पूजागर्ने बाहेक जात्रा सम्बन्धी सम्पूूर्ण कार्यक्रमलाई स्थगत गरेको छ । 

संस्कृतिमा भेदभावको अनुभूति

महामारीको समयमा जात्रापर्व मनाउनै पर्छ र ? भन्ने प्रश्न प्रमुख रूपमा उठ्यो । यो प्रश्न सर्वसाधारणबाट नभएर सांस्कृतिक विषयवस्तुमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्ने तथा मर्मज्ञहरूबाट उठ्नुुले धेरै अर्थ राख्छ । तर पछिका दिनहरूमा भीडभाड नगर्ने कुरालाई बेवास्ता गरेर जात्रापर्वमा आउनु आलोचनाभन्दा आत्मालोचनाको विषय बन्न पुग्यो ।  

संक्रमणको फैलावटलाई रोक्न तथा सुरक्षित रहन भनी साँस्कृतिक जात्रापर्व पनि नगरी सर्वसाधारण घरमा नै थुनिएर बसिरहेको बेला सभा, जुलुस तथा प्रदर्शनीजस्ता राजनीतिक गतिविधि भने निर्वाध रूपमा भइरहेको थियो, छ । संक्रमणको दर कम भएको र लकडाउनका कारण आर्थिक विकासका क्षेत्रमा परेको नकारात्मक प्रभावलाई ध्यानमा राखेर श्रावण ७ गतेबाट खुकुलो बनाउनुलाई जनजीवनलाई सतर्कताका साथ सामान्य अवस्थामा ल्याउने मनसाय भनेर बुझ्न सकिन्छ । अन्य गतिविधिमा भीडभाड देखेका जनतालाई चाडपर्व तथा जात्रापर्व नमनाउन आदेश जारी गर्नु विरोधाभासपूर्ण कुरा थियो । महोत्तरीको सोनमा गाउँपालिका वडा नं. २ मा कृष्णाअष्टमीको अवसरमा लागेको मेलाको मनोरञ्जनात्मक कार्यक्रम रोक्न खोजेपछि प्रहरीमाथि दुव्र्यवहार हुनु यसैको उदाहरण हो ।  

संक्रमण रोक्न लकडाउन राम्रो मोडल भनिएपनि यसमा सम्वेदनशील हुन नसक्दा एक ठाउँबाट अर्को ठाउँमा भएको आउजाउमा पूर्णतः नियन्त्रण गर्न नसकिएको पनि यथार्थ हो । लकडाउनलाई नै खुकुलो बनाउँदा (साउन ७ गतेदेखि) पछिल्ला दिनहरूमा संक्रमणको दर देखिने गरी ह्वात्तै बढ्यो । अन्ततः काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले भाद्र ४ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णयअनुसार १७ बुँदे निषेधाज्ञा जारी गर्यो । यस्तै, गौरा पर्वमा हुन सक्ने भीडलाई मध्येनजर राखेर बैतडी तथा थुप्रै जिल्लाले पनि निषेधाज्ञा जारी गर्यो । यस अवस्थामा जनता आफै सजग हुनु सकारात्मक पक्ष हो । 
यस सम्बन्धमा शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिक्रिया तार्किक र यथार्थपरक देखियो । ‘यस्तो जात्रा पर्वहरू कहिले नमनाएको छ र ? यो महामारीमा बाँच्न पायौं भने फेरि मनाउन पाइहालिन्छ नि’ भन्ने उनको प्रतिक्रियामै निहित छ, नेपालीहरूको संस्कृतिसम्बन्धी बुझाई ।  

क्षमापूजाको अवसर

जात्रापर्व तथा पूजा कार्यहरू रोक्नै नहुने वा रोक्यो भने अनर्थ नै हुने धारणा पनि पाइन्छन् तर यो सही होइन । नेपालमा महामारीका सम्बन्धमा पुराना विवरणहरू खासै पाइँदैन । तर बेला बेलामा आउने महामारीले गद्दीनशीन राजा मात्रै होइन, जीवित देवीका रूपमा मानिएका कुमारीलाई नै गुमाउनु परेको अनुभव काठमाडौंको इतिहाससँग छ । महामारीले सोत्तरै पार्ने क्रममा अपुताली खाने मान्छेसम्म पनि नपाइने स्थिति भोगेको दर्दनाक स्थितिसँग यहाँको समाज परिचित छ । त्यति बेलाका महामारीहरूबाट साँस्कृतिक जीवनमा कस्तो असर परेको थियो भन्ने कुरा कतैबाट नखुले पनि धार्मिक तथा सांस्कृतिक जीवनमा दीर्घकालीन असर नपर्ने देखिन्छ । 

पूजापर्व तथा जात्राहरूमा तलमाथि परेर दोष भए क्षमा माग्न सामान्यतः क्षमा पूजागर्ने चलन छ । कथंकदाचित विध्नवाधा नै आएर रुकावट भएपनि क्षमा पूजा गरेर टार्न सकिने मान्यताका आधारमा मानसिक रूपमा त्रसित हुनुनपर्ने देखिन्छ । इन्द्रजात्रा स्थगनका लागि क्षमा माग्दै कुमारी जात्रा हुने दिनमा क्षमापूजा गर्ने तय गरिसक्नुले यो कुराको पुष्टि गर्दछ । 

चाडपर्व, जात्रा तथा उत्सब मनाउने मापदण्ड, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सब मनाउँदा पालन गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, २०७७ श्रावण २१ गते जारी ग¥यो, आउँदै गरेका चाडपर्व र हुनसक्ने संभावित भीडलाई मनन गरेर । कोविड १९ को संक्रमणको जोखिम कम गर्न तथा सुरक्षित रूपमा पर्व मनाउन तयार पारिएको यो मापदण्डलाई सकारात्मक रूपमा नै लिनु पर्दछ । (मापदण्ड तल बक्समा हेर्नुहोला)

अन्त्यमा,

चाडवाड, जात्रापर्व तथा मेलापातहरू प्रायशः धार्मिक तथा साँस्कृतिक भएपनि यसलाई मनोरञ्जनका रूपमा पनि लिइन्छ । तर महामारीका बेला यसलाई संचालन गर्नै पर्ने मान्यता नेपाली समाजमा रुढ होइन । तुलनात्मक रूपमा बढी संस्कृतिक गतिविधि हुने काठमाडौं उपत्यका महामारीका कारण बढी प्रभावित भएको मात्र हो । हुलका हुल बाँधेर राजनीतिक कार्यक्रम गर्न पाउने तर सांस्कृतिक गतिविधिमा रोक लगाउने राज्यको अविवेकी कार्यले ‘संस्कृतिमाथि षड्यन्त्र पो भइरहेको छ कि’ भन्ने आशंका हुनु स्वाभाविक छ । तुलनात्मक रूपमा बढी सांस्कृतिक गतिविधि हुने काठमाडौं महामारीका कारण बढी प्रभावित भएको पनि सही हो । राज्यले आफ्नो समुदायको भावनालाई आत्मसात गर्न नसकेको र वैधानिक रूपमा नै विभिन्न कानून ल्याएर भाषा, संस्कृति तथा सभ्यतामा घात गरिरहेको भनी असन्तुष्ट जनसमुदायले संस्कृतिलाई आफ्नो पहिचानका रूपमा पनि लिएको पाइन्छ । यस अवस्थामा संस्कृतिप्रति सजग हुनु सकारात्मक कुरा नै हो । 

तथापि स्वास्थ्यका सन्दर्भमा सजग हुनुको अर्थ धार्मिक तथा साँस्कृतिक जीवनबाट विचलित हुनु होइन । अस्वस्थ अवस्थामा पर्व तथा क्रियाकर्ममा संलग्न नहुँदा पनि समाजमा बात नलाग्ने गरेबाट पनि यो पुष्टि हुन्छ । समाजमा प्रचलित यो मान्यता कोरोना भाइरस कोविड– १९ को महामारीको सन्दर्भमा पनि लागू गर्न सकिन्छ । नेपाल र भारतका कतिपय देवस्थलहरूमा भक्तजनलाई पूजाकार्यमा बन्देज लगाएकोलाई सचेतनाको रूपमा लिनु पर्दछ । 

(विपद पत्रकारिता संजाल, डिजेएनका लागि तयार पारिएको लेख)








 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्