पर्यटन » लेख/फीचर/समीक्षा


 

आहा ! रुप्से, फेरि भेटौंला !!


बसन्त महर्जन
August 7, 2020, Friday

रुप्से झरना !

सुनेको मात्र  नाम। उल्लेखनीय झरनाहरुमध्ये एक । देख्न त देखेको तर तस्वीर र भिडियो क्लिप्समा मात्र ।

पोखराबाट ११० किलोमिटर टाढाको यो झरना म्याग्दी जिल्लाको बेनी भएर मुस्ताङ जाँदा बाटोमै पर्छ, जोमसोमभन्दा करीब ४० किलोमिटर वरै । मुस्ताङ त गएको तर हिडेर होइन, गुडेर पनि होइन, हवाइजहाजबाट । यही भएर रुप्सेको दर्शनबाट बन्चित हुनुपरिरहेको थियो ।

यस पाली बेनी भएर मुस्ताङ जाने कार्यक्रम बन्यो । बाटोमा अरु पनि थुप्रै कुरा देख्न पाइने भएर अलि उत्साहित पनि थिएँ । रुप्सेकै कुरामा बढी उत्साहित थिएँ । दिउँसो ४ बजेतिर बेनी पुगेका थियौं अर्थात् भोलि बिहान माथि लाग्ने योजना थियो । भोलिको लागि बस टिकट काट्न टिकट काउन्टरमा पुग्दा थाहा भयो, उही दिन ५ बजे एउटा गाडी माथि जाँदै रहेछ । यो गाडी मुस्ताङसम्म नै पुग्ने नभएर केही घन्टा माथि मात्रै । त्यहाँ बीच बाटोमा वास बस्ने र भोलि विहानै अर्को गाडि चढेर माथि लाग्दा विहान आठ बजेतिरै जोमसोम पुगिने । समयको बचावट हुने र मुस्ताङमा बढी समय बिताउन पाउनु राम्रै हो । अनि रुप्से ? रुप्से पुग्दा त उज्यालो भइसक्ने रैछ । के खोज्छन् कानो ? भनेजस्तै भयो । अरु के चाहियो र ?

हामी दानामा वास बसेका थियौं । गाडी आइपुग्ने र चढ्नु पर्ने भनिएकोले त्यही अनुसार तयार भई विहान चार बजे नै  सबै तयारी गरी गाडी कुर्न होटेल बाहिर आइसकेका थियौं तर गाडीहरू चढ्न पाएका थिएनौं ।गाडी त आउने तर नरोक्ने वा चढ्न नपाउने । त्यसै त चिसोको समय, उसमाथि विहानको चिसो । पर्खदा पर्खदा उज्यालो नै भयो । तर पनि कुनै गाडी चढ्न पाएको होइन । सामान बोकेर आएको एउटा ट्रकलाई अनुरोध गरेर बल्ल गाडी चढ्न पायौं ।  उज्यालिन थालिसकेको तर गाडी यात्रालाई अगाडि बढाउन नपाएकाले अलि अत्यास पनि भइसकेको थियो । जे होस्, ट्रक नै सही, अगाडि बढ्न पायौं ।

रुप्से कहिले आउँछ, अझ कति टाढा पर्छ भन्ने प्रश्नले ट्रकमा भएकालाई दिक्क पनि लाग्यो होला । रुप्से आउन नै लाग्यो भनेपछि अलि उत्साहित भएँ । आयो पनि । बाटो छेवैमा रहेछ, दायाँतिर । बायाँ काली गण्डकी बगिरहेकी छिन् । आफ्नो नीजि गाडीमा आएकाहरू एक छेउमा रोकेर रुप्सेलाई नियालीरहेका थिए । कोही रुप्सेलाई पृष्ठभूमि बनाएर फोटो खिचिरहेका । ट्रकको अगाडि बसेर गएका कारण रुप्सेलाई सम्पूर्ण रुपमा देख्न पनि पाएका थिएनौं । ट्रक एक छिन रोकिदिएको भए हुन्थ्यो नि, तर रोक्ने छाँटकाटै थिएन । अनुरोध गर्न अवस्था पनि थिएन किनभने बल्लबल्ल चढ्न पाएको । तर चित्त बुझायौं, यही बाटो फर्केर आउने त हो, त्यही बेला हेरौंला ।

मुस्ताङ घुमिवरी फर्केर आउँदा मन चञ्चल थियो, रुप्से हेर्न पाइने भएर । रुप्से पुगेपछि गाडी रोक्यो भने झरेर हेर्ने तर छँदै छ, रोकेन भने पनि बसको झ्यालबाटै हेर्ने अवसर थियो, किनभने हामी रुप्सेकै साइडमा थियो ।

रुप्से जसै नजिक आइपुग्यो, रुप्सेमा भिजेर आएका यात्रुहरू देख्यौं । गाडी रोकेर रुप्से हेर्ने र त्यसमा खेल्नेहरूको भीड नै लाग्दो रहेछ । फोटो खिच्नेहरूको संख्या पनि कम्तीको थिएन । सार्वजनिक यातायातहरू यहाँ रोक्दै नरोक्ने रहेछ । तर रुप्सेको सर्वाङ्ग मात्रै देखेनौं, आफ्नो क्यामेराले भ्यायौं पनि । ९८४ फीट (३०० मीटर) अग्लो यो झरना जब रुप्से कट्यो, झरनामा रुझेको जस्तै अनुभव भयो । तर पनि धित मरेको छैन । रुप्सेलाई छुन पाएन, त्यसमा रुझ्न पाएन । रुप्सेलाई पृष्ठभूमि बनाएर फोटो पनि खिच्न पाएन । तर के भयो र ? फेरि आउने अवसर त छँदै छ । फेरि आउने संकल्प ग¥यौं र भन्यौं, ‘फेरि भेटौंला रुप्से !'

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्