समाचार || विपद » लेख/फीचर/समीक्षा


 

कोरोना नियन्त्रण गर्ने जिम्मा अब नागरिक स्तरमा


July 31, 2020, Friday

- डा. सुनिलकुमार जोशी

चीनको वुहान, हुवेई प्रान्तबाट फैलिएको कोविड १९ले विश्वव्यापि रुप लिएर यो रोग महामारी हो भनेर घोषणा गर्न नै तीन महिना लाग्यो । रोगले विश्वका विभिन्न मुलुकमा महामारीको रुप लिंदा तथा छिमेकी देश चीन र भारतमा फैलिइसक्दा समेत नेपालमा भने यो रोग देखिएन । रोग नदेखिएपछि नेपालीको इम्युन सिस्टम बलियो भएकोजस्ता हल्ला फैलिए पनि ढीला रोग फैलनुमा नेपालमा चाँडो लकडाउन हुनु प्रमुख कारण थियो । 

बिचमा फाट्टफुट्ट विदेशबाट आएका संक्रमित देखिएपनि सरकारले क्वारेन्टाइनमा राखेर सुरक्षित उपचार गरेपछि त्यति फैलिएन । भारत र नेपाल सरकारबीच दुबै देशमा भएका जनता जता छन् उतैको सरकारले हेर्ने सहमति भए पनि भारतमा पनि संक्रमितको संख्या बढेपछि आफ्नो देशका संक्रमित नै धान्न नसक्ने भएपछि भारतीय सरकारले नेपालीहरुलाई बोर्डरमा ल्याएर छोड्न थाल्यो भने कतिपय नेपालीहरु आफ्नो देशमा जाने, आफन्त भेट्नका लागि स्वतःस्फूर्त रुपमा आफैं पनि नेपालका लागि आउन थाले । सरकारले निकै कडाई गर्दा गर्दै पनि विभिन्न कारणहरु देखाउँदै देश भित्रिने क्रम बढ्न थाल्यो । नेपाल भारतको बोर्डर खुलेपछि त मई महिनामा नेपाल भित्रिनेहरुको संख्या ह्वात्तै बढ्यो । 

चिकित्सक र जनस्वास्थ्य विज्ञहरुले लकडाउन खोल्न नहुने सुझाब दिंदादिंदै पनि स्वास्थ्य मन्त्रालयले प्रशासनिक तथा आर्थिक तवरबाट सोचेर लकडाउन खोल्यो, चरणवद्ध रुपमा गर्नुपर्नेमा एकै पटक खोलिएपछि संक्रमितको संख्या पनि ह्वात्तै बढ्यो । यी भित्रिनेहरुलाई क्वारेन्टाइनमा राखेर मात्र आफ्नो घर पठाउने भनिएपनि क्वारेन्टाइन व्यवस्थापनको मापदण्डअनुसार  नभएको कारण कतिपय ठाउँमा क्वारेन्टाइनबाटै कोबिड संक्रमित भएको घटना छ ।

काठमाडौं मेडिकल कलेजमा टाउकोमा रगत जमेर ल्याएको बिरामीको उपचार शल्यक्रिया गरी उपचार गरियो । उनको कोबिडको रिपोर्ट आएको थिएन तर पछि रिपोर्ट आउँदा उनमा कोबिड देखियो । यस्तै, रौतहट घर भई काठमाडौं बस्दै आएकी एक गर्भवती महिलाको शल्यक्रिया गरी बच्चा निकालियो । उनको घाउ ड्रेसिङ तथा उपचारमा थुप्रै चिकित्सक सक्रिय भए । उपचारपछि उनी घर गईन तर उनको कोबिड रिपोर्ट पोजेटिभ आयो । यी दुई घटनाले गर्दा झण्डै ३ हजार ५ सयको पिसिआर टेस्ट गरियो तर कसैमा पनि कोरोना पोजेटिभ देखिएन । पछि एक जना डाक्टर र एक जना नर्समा कोरोना पोजेटिभ देखियो तर उहाँहरु अस्पतालबाट संक्रमित भएको नभएर बाहिरबाटै सरेको रहेछ ।

नेपालमा मात्र होइन, विश्वमैं अहिले कोबिड– १९को विज्ञ चिकित्सक छैनन्, म पनि होइन । सबै सिक्दै गर्दै छौं । सिक्ने र गर्ने क्रममा के अनुभव भयो भने फिजिकल डिस्ट्यान्सिङ कायम गर्ने, वरिपरि भएका सबैले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र हात समय समयमा धुने गर्ने हो भने कोबिड १९ सर्ने सम्भावना निकै कम हुन्छ । यो निकै कमजोर किसिमको भाइरस भएकोले सतर्कता अपनाउने हो भने डराउनु पर्ने अवस्था छैन ।

कोबिड १९ सर्ने भनेकै हाम्रो अनुहारको पाँचवटा प्वालहरु (मुख, नाकको दुई प्वाल र आँखा) हुन्, यी मध्ये पनि नाक र मुख विशेष हुन्, जहाँबाट छिटै सर्न सक्छ । कतैबाट हातमा परेको छ भने पनि हात धुँदा साबुनको फिंजले भाइरसको फ्याटलाई निस्कृय पार्ने गर्छ । हावा ओहोरदोहोर गर्ने ठाउँ नभएको कोठामा धेरै जनाले भीड गरेर बोल्ने गर्दा पनि धेरै सर्ने सम्भावना हुन्छ । तर खुल्ला कोठामा भाइरसको कण पनि फैलिने हुँदा संक्रमण हुने संभावना कम हुन्छ । भाइरसको कण १ लाखभन्दा कम भयो भने पिसिआर टेस्ट गर्दा पनि रिपोर्ट नेगेटिभ आउने रहेछ, रोग लाग्ने क्षमता कम हुने रहेछ । गुम्सेको कोठामा मास्क नलगाई, भौतिक दूरी कायम नगरी १५ मिनेटमात्र संक्रमितसँगै बस्ने हो भने पनि रोग सर्ने सम्भावना बढी हुन्छ । फ्रान्समा एक सांगितिक कार्यक्रममा सहभागी एक जनालाई कोरोना संक्रमण रहेछ । बन्द कोठामा भएको उक्त कार्यक्रमपछि  ३५ जना संक्रमित भए भने ७ जनाको त मृत्यु नै भयो । बोल्दा निस्कने थुक कोरोना संक्रमणका प्रमुख प्रशारक भएकोले बोल्ने, सुन्ने दुबैले मास्क लाउने हो भने सर्ने सम्भावना कम रहन्छ । 

देशमा लकडाउन खुलेको अवस्था र सम्पूर्ण क्षेत्रका काम पनि खुल्ला भएको अहिलेको अवस्थामा अब झन चनाखो हुनुपर्छ । आजभन्दा ३०–३५ वर्ष अघि एचआईभी एड्स रोग आउँदा पनि चिकित्सकहरु विरामी देखेर डराउँथे, अगाडि नै जाँदैनथे तर समयक्रममा सुरक्षाको उपाय अपनाएर काम गर्न थाले । अब कोबिड१९मा पनि सुरक्षाका उपाय अपनाएर हिंड्नुनै अबको विकल्प हो । सुरक्षाको उपाय भनेको मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, कम्तिमा पनि एक मिटरको दूरी कायम गरेर बस्ने हो ।

यो रोग लागेपछि रुघा, खोकी, ज्वरो लगायत असह्य हुने गरी छाती दुख्ने, स्वास फेर्न गाह्रो हुने, अक्सिजन नै नपुगेजस्तो हुन्छ । समान्य रुघाखोकी लागे जस्तो होइन । हुनत, एउटा देशमा देखिएको जस्तो ठ्याक्कै लक्षण अर्को देशमा छैन । एक सय जनामा ८५ जनालाई रोग लागेको नै थाहा हुन्न, आफैं निको हुन सक्छ भने ४–५ प्रतिशतलाई भेन्टिलेटरमैं राख्नुपर्ने हुन सक्छ । युरोपमा फैलिएको कोरोना बढी बृद्धाश्रममा फैलिएकोले त्यहाँ भयावह रुप लियो । वीरगञ्जमा अब जनस्तरमैं फैलिसकेको छ भने काठमाडौंमा पनि बढ्दो रुपमा छ । अब सरकारले केही गर्ला भनेर बस्नु भन्दा समुदायले आफ्नो सुरक्षा ब्यवस्था आफैं गर्ने हो । प्रत्येक दोस्रो ब्यक्तिमा कोरोना छ भन्ने सम्झेर आफैं पन्छिने हो । यो कोरोना महामारी नियन्त्रण गर्ने जिम्मा अब नागरिक स्तरमा आएको छ । अब कसैले पनि भीडमा जाँदै नजाने, कुनै पनि धार्मिक–सामाजिक कार्यक्रमको आयोजना नगर्ने तथा सहभागी नहुने कुरालाई मनन गरिएन भने यो कोरोना आँधीवेहेरी सरह फैलिन्छ, जसलाई सम्हाल्ने नेपाल सरकोको ल्याकत छैन । नेपालमा अन्य विरामीको लागि नै भेन्टिलेटर नपुग्ने अवस्थामा कोरोना बिरामीका लागि साधनस्रोत पुर्याउन गाह्रो हुन्छ । नेपालमा पनि थुप्रै चिकित्सक, सुरक्षाकर्मीनै संक्रमित भइसकेको अवस्थामा नियन्त्रणका लागि विशेष सक्रियता अपनाउनै पर्छ । प्रत्येक ब्यक्तिले भूमिका निर्वाह गर्नुपर्छ ।

अब सम्पूर्ण देशमा भन्दा पनि क्षेत्रगत लकडाउन गरेर काम तथा सुरक्षाको उपाय अवलम्बन गर्नुपर्छ । अर्थात, काठमाडौंमा बाहिरको आउन नदिने, यहाँबाट पनि बाहिर जान नदिने । यही प्रकृया अन्य जिल्लाको हकमा पनि लागू गरिनु पर्छ ।

कोबिड-१९ले जनस्वास्थ्यमा महामारीको रुप लिइसकेको हुँदा कसैले मास्क लगाउँदिन भन्छ भने उसलाई सरकारले कारवाही गर्नुपर्छ, त्यो कारवाहि दिनमा धेरै पटक पनि हुन सक्छ । त्यस्ता व्यक्तिलाई सामाजिक बहिष्कार गर्ने, प्रवेश निषेध गर्ने, जरिवाना गर्नेजस्ता उपाय सामाजिक स्तरबाट पनि गर्न सकिन्छ । यस्तो महामारीको बेलामा पनि सरकारले प्राइभेट पब्लिक पार्टनरसिपको अवधारणालाई अवलम्बन गर्न सकेको छैन । नीजि अस्पतालहरुले आफ्नै स्रोतमा भेन्टिलेटर किन्छौं भन्दा पनि कर मिनाहा गरेको छैन । यो महामारीलाई नियन्त्रण गर्नका लागि सरकार तथा नीजि क्षेत्रले हातेमालो गर्नुपर्छ ।

(वर्नमाउथ युनिभर्सिटी, लण्डनको सहयोगमा क्रियाशील पत्रकार महिलाले आयोजना गरेको “कोबिड१९ लकडाउनपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था” विषयक सन्डे क्लब छलफल कार्यक्रममा १६ साउन डा. जोशीद्वारा व्यक्त विचारकाे सम्पादित अंश । डा. जोशी काठमाडौं मेडिकल कजेल, कम्युनिटी मेडिसिन विभागका प्रमुख हुनुहुन्छ )

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्