विविधा » लेख/फीचर/समीक्षा


 

आफै नाङ्गिएको मान्छेलाई नियाल्दा


बसन्त महर्जन
July 30, 2020, Thursday

लेखन क्षेत्रमा पनि अनेकौं ‘टर्मिनोलोजी’हरु हुन्छन् र सम्बद्धहरु ती शब्दसँग अभ्यस्त हुनुपर्छ । साथीभाइको निश्चित समूहमा मात्र सीमित शब्द पनि हुन्छन् जसको अर्थ अन्य समूहमा लाग्दैन । हालै एउटा यस्तै शब्द सुन्नमा आयोे– ‘साभार लेख लेखेर’ । यो ‘साभार लेख लेखेर’को अर्थ खुल्दैन, समूहभन्दा इतरको भएर हुनसक्छ पटक्कै बुझिनँ । अन्तै लेखिएको लेख उपयुक्त लाग्यो भने जस्ताको तस्तै लेखक र पत्रिकाको नाम उल्लेख गरी पुनःप्रकाशन गरिएकोलाई ‘साभार लेख’ भनिन्छ । यही अर्थमा हुर्केको मलाई यही शब्दले मेरै उपर झटारो हानेका कारण यसमा गम्नै पर्ने भयो । र, यसको अन्तर्य खोतल्दा अन्य कुराहरु पनि दृष्टिगोचर हुन पुग्यो ।

गत हप्ता रन्जना लिपिसम्बन्धी नभएर रन्जना लिपिप्रतिको दृष्टिकोणका सम्बन्धमा एउटा सानो टिप्पणी लेख प्रकाशित भएको थियो । लेखमा रन्जना लिपि इसाको बाह्राैं शताब्दीमा नेपालमा प्रचलनमा आएको र नेपालमा नै यसको परिमार्जन भई व्यापकता पाएको कुरा परेको थियो । कसैकसैमा यसको उत्पत्ति हजारौं हजार वर्षअघि नेपालमा नै भएको भन्ने भ्रम रहेछ । नेपालमा प्रचलिन रन्जना लिपिको पूर्वरुप भारतमा पाइएको हुँदा यसको उत्पत्ति उतैतिर भएको र नेपालमा परिमार्जित वर्तमान रुप लिएको मान्यता प्राज्ञिक क्षेत्रमा छ । त्यो मान्यतामा मेरो आफ्नो बेग्लै धारणा छैन । वर्तमान रन्जना लिपिको पूर्व रुपको अभिलेख भारतमा आफैले पनि पढिसकेको हुँदा ‘यो लिपि हजारौं हजार वर्षअघि नेपालमा उत्पत्ति भएको र नेवार जातिको लिपि हो’ भन्ने परम्परागत मान्यता मेरो लागि अर्थहीन छ । लेखमा उल्लेखित ‘भारतमा जन्मेर नेपालमा हुर्केको रन्जना लिपि’ भन्ने शब्दकै आधारमा ममाथि आक्षेप सुरु भयो । भावनाको कुरा हो, आफ्नो ठाउँमा आफै सही होला । तर यसरी लेखेर हिँड्दा समाजबाट बहिष्कृत हुनसक्ने चेतावनी मात्रै आएन, चेतावनीमा समर्थन पनि आयो । अनेकौं आक्षेप र टिप्पणीमा एकले ‘साभार लेख लेखेर’ शब्द प्रयोग गरी यसरी पनि लेख्न भ्याए– ‘‘बसन्तले साभार लेख लेखेर आफूलाई बौद्ध विद्धान कहलाउन खोजेको धेरै भइसक्यो । अहिले त उहाँ नाङ्गिनु भयो ।’’

‘साभार लेख लेखेर’ शब्दको प्रयोग गर्ने व्यक्ति नेपालभाषामा आधा दर्जनभन्दा बढी उपन्यास प्रकाशनमा ल्याइसकेका, एउटा साप्ताहिक पत्रिकाको प्रकाशन तथा सम्पादनमा संलग्न र नेवार जातीय संघसंस्थाहरुमा आवद्ध भईआएका हुन् । अरु त अरु, उनको थर पनि ‘महर्जन’ मात्रै नभएर त्यो लेखक र यो लेखक दुबैको थातथलो एउटै (कीर्तिपुर) हो । नाम के हो त ? जिज्ञासा हुनु स्वाभाविक हो । तर त्यो नाम यहाँ उल्लेख गर्न आवश्यक नठान्नुको कारण हो, त्यो नाम मात्रै नभएर प्रवृत्ति नै हुनु ।

‘साभार लेख लेखेर’ भन्ने ती लेखकको म पाठक होइन । उनको पहिलो उपन्यास पढेको थिएँ, करीब तीन दशकअघि । मन परेन । अन्य प्रकाशनमा त वास्ता नै भएन । कारण, दायाँबायाँको कुरा थाहा पाउँदा स्पष्ट भइसकेको थियो, पढ्नै पर्ने र नपढ्दा घाटा हुने खालका ती होइनन् । उनीसँग व्यक्तिगत रुपमा केही सम्बन्ध छैन । म हुर्कदै गरेको समयमा ती व्यक्ति साहित्यिकलगायत कुनै पनि गतिविधिमा देखिँनँ, पछि थाहा भएअनुसार कामको सिलसिलामा काठमाडौं बाहिर थिए । नेवार समुदायकै एउटा साहित्यिक कार्यक्रममा मलाई पनि निमन्त्रणा पत्र आउनु पर्ने थियो तर हात परेन । कार्यक्रममा म उपस्थित हुनु पर्नाको कारण हो, त्यहाँ वाचन गर्नेमा म पनि थिएँ, अझ वाचन गर्नेहरुको नाम निमन्त्रणा पत्रमा उल्लेख थियो । यो जनाउ आयोजकलाई दिंदा यिनै व्यक्तिमार्फत पठाएको भन्ने थाहा लाग्यो र हस्तान्तरण गरिसकेको भन्न पनि भ्याएछन् । त्यो बेलासम्म हाम्रो चिनापर्ची थिएन । बाटोमा देख्दा मात्र होइन, विभिन्न कार्यक्रममा भेटिँदा पनि वास्तापास्ता हुनसकेन । भनिन्छ, फस्ट इन्प्रेशन इन लास्ट इम्प्रेशन, संभवतः यही ‘इम्प्रेशन’ले काम गर्यो । एकपल्ट एउटा उपन्याससम्बन्धी कार्यक्रममा उनी मेरो नजिक आएर भोलि वा केही दिनपछि उनैको एउटा उपन्यास विमोचन कार्यक्रममा डाके । गइनँ, यसले पनि असर गर्यो होला ।

प्रगति वा राम्रो कामको थालनीमा शुभचिन्तकहरुको शुभकामना आउनु स्वाभाविक हो । साथसाथै अर्कोतर्फ इष्र्या, द्वेष र अमङ्गल कामना पनि हुनथाल्छन् । पीठ पछाडि अनेकौं कुरा पनि काट्छन् । ‘विश्वभूमि’ नामक एउटा दैनिक पत्रिकामा रिपोर्टर भएर पस्दा शुभकामना दिनेहरु मात्रै थिएनन्, बोलिचाली बन्द गर्ने र तर्केर जाने दुईचार जना पनि पाइए । त्यही पत्रिकामा कार्यकारी सम्पादक पनि भएछु । कुनै बेला त्यहीं सहकर्मी बनेका एक मित्र कार्यालयमा टुपुल्किए र पहिलाजस्तै हार्दिकताका साथ कुराकानी भयो । कार्यकारी सम्पादक भइसकेको उनलाई हेक्का रहेनछ । भन्दा पनि पत्याएनन् । पत्रिकाको ‘प्रेसलाइन’मा नाम देखेर उनी झस्के हुन् । अनुहार हेर्न लायकको बन्यो र खुरुखुरु बाहिर निस्किए । ‘विश्वभूमि’ पछि ‘स्पेशटाइम दैनिक’मा सम्बद्ध भएँ । उही समूहको ‘स्पेशटाइम’ नेटवर्क पनि थियो । स्पेशटाइम दैनिकमा सम्वद्ध हुँदा एक परिचित ‘कवि’लाई यतिसम्मको असर परेको थियो कि, आफ्नो मन सन्तुष्ट राख्नलाई मात्र भएपनि पत्रिकामा होइन, नेटवर्कमा टेक्निसियन वा प्रशासनमा जागीर खान गएको भन्ने भ्रम पालेन मात्रै, फैलाउने प्रयास पनि गरे ।

म अाठ नाै वर्षको उमेरमा थिएँ, बुबाले घर चलाउन पसल थाप्नु भयो । बडो मेहनत गरेर बुबाले पसललाई विस्तार गर्दै लानु भयो । पछि चल्तीको ठाउँमा अलि रामै्रसँग अर्को पनि पसल थाप्नु भयो । र, बाटोमा हिडिरहेको हाम्रो एक छिमेकी बुबालाई देखेर पसलमा पसेछन् र पसल अरुको होइन भनेर थाहा पाएपछि निस्केछन् । कति टाढासम्म पुगेर हो कुन्नी, फेरि सँगैको पसलमा पसेर सोधेछन्– "त्यो पसल उसै (मेरो बुबा) को हो ?"

इर्ष्या, जलन, द्वेषजन्य घटनाको फेहरिस्त लामो नै बन्छ । र, यस्ता फेहरिस्त नभएका मान्छे को होला र ? यस्तै फेहरिस्तमा ‘साभार लेख लेखेर’ भन्ने अभिव्यक्तिलाई पनि राख्न गर्न सकिन्छ ।

‘साभार लेख लेखेर’ भन्नुको अर्को अर्थ चोरीको आरोप पो हो कि ? यो पक्का हो कि, धेरै लेख लेख्नेमा म पनि पर्दछु । लेख्नु मेरो ‘प्यासन’ पनि हो । आफूसँग भएकै विषयवस्तु, आफ्नै खोजअनुसन्धानलाई नै लेख्न नभ्याइरहेकोे अवस्थामा अर्काको कुरा किन चोरेर हिड्नु पर्यो ? यो यो विषयमा यसरी लेख्दा हुन्छ भनेर विषयवस्तुहरु अरुलाई दिँदै हिड्नेलाई चोरीका आरोप सुनेर रमाइलो पनि लाग्यो । पूर्व प्रकाशित लेखरचना तथा पुस्तकको ‘साइटेशन’लाई नै ‘साभार लेख लेखेर’ भनेको हो भने गम्भीर समस्या भएको छ, किनभने उनी प्राज्ञिक भनिएको एउटा नेवार संस्थाका ‘प्राज्ञ’ पनि हुन् । ‘आफूलाई बौद्ध विद्धान कहलाउन खोजेको धेरै भइसक्यो’ भन्नुको अर्थ बौद्ध विषयवस्तुमा लेख्दै गरेको जानकारी उनमा रहेछ । जुन क्षेत्रमा रुची भयो त्यही क्षेत्रमा लागेर केही योगदान गर्नुमा के आपत्ती ? मेरो क्षेत्र अध्ययन, अनुसन्धान र लेखन भएकाले गच्छेअनुसार यही माध्यम अपनाउनु स्वाभाविक हो । बौद्ध विषयवस्तुमा लेख्नु पर्ने हुन्छ, लेखिन्छ र पढ्नेहरु आफैले मूल्याङ्कन गरेर जे भन्नु पर्ने हो भनिदिन्छन् । यो चाहेर र इष्र्या गरेर मात्रै प्राप्त हुने कुरा होइन । ‘... धेरै भइसक्यो’ भन्नुको अर्थ हो, यस क्षेत्रमा जे जति गरें, धेरै भइसक्यो । अनेकौं विषयमा लेख्ने क्रममा आजभोलि बौद्ध धर्म, दर्शन र इतिहासमा केन्द्रित छु । यही विषयमा गरेका कामहरु कति नै प्रकाशनमा आएका छन् र ? सबै काम प्रकाशनमा ल्याउने हो भने उनी अहिल्यै पनि यसलाई असामान्य ठान्दाहुन् । आआफ्नो योजना हुन्छ, बौद्ध विषयवस्तु बाहेक अरु त प्रकाशमा ल्याएकै छैन, तत्काल ल्याइँने योजना छैन पनि । फेरि अर्को रमाइलो शब्द हो ‘... अहिले त उहाँ नाङ्गिनु भयो ।' यी लेखकले ‘धेरै’ लेखेको भनेपनि जहाँसम्म लाग्छ, तीमध्ये थोरै पनि पढेका छैनन् । पढेका हुँदो हो, उनको मनस्थिति यस्तो हुँदैनथ्यो ।

नकारात्मक धारण वा इष्र्या, द्वेष वा कुन्ठा कहिलेदेखिको हो उनै जानून् तर रन्जना लिपिको प्रसंग आउँदासाथ एक्कासी छताछुल्ल हुनपुग्यो । अभिव्यक्त भएको ठाउँ पनि यस्तो कुन्ठाग्रष्ट मान्छेको छायाँमा भएको छ, जसको पहिचान नै छैन । कुनै बेला फेसबुकमा साथी थिएछौं हामी, र मान्छेको नाम थिएछ, न्यूजमाण्डौं नेपाल । हाल उक्त नाम पनि परिवर्तन भइसकेको छ । गैरजिम्मेवार पोस्ट र चलन देखेर आफ्नोबाट हटाउँदा फेरि फेरि मित्रताको अनुरोध आएको थियो र वास्ता नगरेपछि नकारात्मक बनेको पाइयो । त्यस्तो प्रवृत्तिका पछि लाग्ने क्रममा ती लेखक, प्राज्ञ, उपन्यासकार आफै नाङ्गिएका छन्, आफ्नो एउटै वाक्यमा ।

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्