विविधा » लेख/फीचर/समीक्षा


 

एकै होइनन् ‘गौतम बुद्ध’ र ‘सिद्धार्थ बुद्ध’


बसन्त महर्जन
March 15, 2014, Saturday

बुद्ध धर्म कुनै निश्चित भूगोल, भाषा, संस्कृति, जाति अथवा निश्चित क्षेत्रमा सीमित छैन । बुद्ध धर्मको यो आफ्नै विशेषता पनि हो । यो विशेषता विकासको क्रममा देखा परेको होइन । गौतम बुद्धले सुरुदेखि नै आफ्नो धर्मलाई कुनै घेरामा सीमित राखेनन् बरु त्यस्तो प्रवृत्तिमा आपत्ती जनाएको पाइन्छ । आजभोलि हामी जसलाई बुद्ध धर्म भनिरहेका छौं, अथवा जुन उपदेशका पछाडि बुद्ध धर्म अगाडि बढेको हो त्यसका प्रणेता गौतम बुद्ध हुन् । यिनी ई.पू. ५६३ वैशाख पूर्णिमाका दिन लुम्बिनी नाउँको उपवनमा मायादेवीको कोखबाट जन्मेका हुन् । गृहस्थमा यिनको नाम सिद्धार्थ राखिएको थियो र ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेपछि यिनी गौतम बुद्धका नामले आजपर्यन्त परिचित छन् । जसले बुद्धत्व प्राप्त गर्दछ ऊ बुद्ध बन्छ । बुद्ध जो कोही बन्छ सक्छ वा जो कोही पनि बुद्धत्वको भागिदार हुनसक्छ तर त्यसका लागि बोधिचर्या गर्दै निश्चित पारमिताहरू पूरा गर्नु पर्दछ । यस अर्थमा सिद्धार्थ नाउँका कपिलवस्तुवासी नै बुद्धत्व प्राप्ती पछि गौतम बुद्धका नामले प्रख्यात बनेका हुन् । गौतम बुद्धलाई सम्बोधन गर्ने अनेकौं नाम वा शब्दहरू छन्, जस्तै शाक्यमुनि, शाक्यसिंह, सुगत, भगवान, तथागत आदि । कसैकसैले मात्र नभएर पुस्तकहरूमा समेत यी नाउँको ठाउँमा ‘सिद्धार्थ बुद्ध’ वा ‘सिद्धार्थ गौतम बुद्ध’ पनि भन्ने वा लेख्ने गरेको पाइन्छ जुन बौद्ध परम्पराअनुसार ठ्याम्मै मिल्दैन, सरासर गलत हो । यहाँ गौतम बुद्धका अनेक नाममाथि नभएर उक्त नामको सट्टामा प्रयोग गरिने ‘सिद्धार्थ बुद्ध’ वा ‘सिद्धार्थ गौतम बुद्ध’ जस्ता गलत नामहरूको प्रयोगमाथि छलफल गरिन्छ । 

कुनै व्यक्तिको नाम अवस्था र स्थितिअनुसार फेरिन पनि सक्छ । श्रमण परम्परामा त विभिन्न अवसरमा नामहरू फेरिन्छन् । यो परम्पराबाट बुद्ध धर्म वा बौद्ध परम्परा अछुतो छैन । गौतम बुद्ध, बुद्धत्व प्राप्त गर्नुअघि श्रमण गौतमका नामले परिचित थिए । तत्कालीन समाजमा दुई परम्परा थियो, श्रमण र ब्राम्हण । ज्ञानको खोजीमा घरबार त्याग गरी हिँड्दा उनले श्रमण परम्पराअनुसार गरेका थिए र तबदेखि उनी सिद्धार्थ नामबाट नभएर श्रमण गौतमका नामबाट चिनिए । यस अर्थमा सिद्धार्थ नाउँ २९ वर्षको उमेरसम्म मात्रै कायम रह्यो । ई.पू. ५२८ को वैशाख पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गरेपछि उनी गौतम बुद्ध भए । शाक्य परिवारसँग सम्बन्धित भएका कारण यिनी शाक्यमुनि र शाक्यसिंह नामबाट पनि सम्बोधित भए ।

गौतम बुद्धको गृहस्थी नाम ‘सिद्धार्थ’लाई प्रयुक्त गरेर नेपाल तथा भारतका विभिन्न संघसंस्था, स्थान, बाटोघाटोको नामाकरण गर्ने चलन छ । सिद्धार्थ मात्र भन्दा त गौतम बुद्धको गृहस्थ नाम जनाउँछ, तर बुद्धत्व प्राप्तीपछिको व्यक्तित्व झल्काउने उद्देश्यले ‘सिद्धार्थ बुद्ध’ नाम जब प्रयोग गरिन्छ, त्यहाँ गडबडी हुन्छ । यसले एक प्रकारको भ्रम पनि सिर्जना गर्दछ । 

‘सिद्धार्थ बुद्ध’ र ‘गौतम बुद्ध’ यी बेग्लाबेग्लै दुई बुद्धका नाम हुन् । गैर बौद्ध समाजमा बुद्ध भन्नाले साधारणतः  लुम्बिनीमा माता मायादेवीको कोखबाट जन्मेका गौतम बुद्धलाई मात्रै बुझ्ने गरिन्छ । तर उनीभन्दा अघि २७ जना मानव बुद्धहरूको नाम हामीसँग उपलब्ध छ । गौतम बुद्धभन्दा ठीकअघि काश्यप बुद्धको नाउँ आउँछ जसको जन्मस्थल हाल भारतीय भूभागमा पर्ने कुरा प्रकाशमा आएको छ तर त्यसका बारेमा खासै अध्ययन भने भएको छैन । त्यसभन्दा अघिका दुई अन्य बुद्धहरू कनकमुनि र क्रकुच्छन्दको जन्मस्थल भने नेपालकै कपिलवस्तुस्थित निग्लिहवा र गोटीहवामा पर्दछ । यी दुई स्थलको पहिचान मौर्य सम्राट अशोकद्वारा राखिएका शिलास्तम्भहरूबाट भएको हो । निग्लिहवास्थित स्तम्भमा कोनागमन (कनकमुनि) बुद्धको नाम नै कुँदिएको छ भने अर्को स्तम्भ भग्न अवस्थामा रहेको छ । पूरा भागको अभावमा त्यहाँ अभिलेख राखिएको वा नराखिएको भन्ने कुरा खुल्दैन । तर चिनियाँ यात्रीहरूले यी दुई स्थलमा स्तम्भ रहेको र गौतम बुद्धबाहेक अघिल्ला बुद्धहरूको सं्रस्मरणमा राखिएको भनी उल्लेख गरिएको पाइन्छ । त्यसो भए ‘सिद्धार्थ बुद्ध’का सम्वन्धमा के हो त भन्ने प्रश्न उठ्छ । उनका सम्बन्धमा पनि वर्णनहरू (आमा बाबु, जन्म स्थल आदि) पाइन्छन् तर ती ठाउँहरू निक्र्यौल हुन सकेको छैन । गौतम बुद्धसँग सम्वन्धित स्थलहरू नै बडो मुस्किलले मात्रै भेटिएको अवस्थामा त्यसभन्दा निकै अघिका अवशेषहरू नभेटिनु स्वाभाविक नै मान्नु पर्दछ । फेरि बौद्ध विश्वासअनुसार कालको निर्धारणमा पनि ती घटनाहरू सुदूर अतीतका हुन् । 

गौतम बुद्धजस्तै एक अर्को बुद्ध हुन्– सिद्धार्थ बुद्ध । गौतम बुद्धलाई वर्तमान बुद्धका रुपमा मानिन्छ भने सिद्धार्थ बुद्ध अतीत बुद्धको रूपमा । यिनी गौतम बुद्धभन्दा अघि नवौं बुद्ध हुन् । गौतम बुद्धले भनेर मात्रै यी कुराहरू अवगत भएको हो जुन त्रिपिटक अन्तर्गतको ग्रन्थ ‘बुद्धवंश’मा उल्लेख पाइन्छ । ‘सिद्धार्थ बुद्ध’का आमाको नाम सुपुष्पा हुन् भने बाबु उदयन नामका क्षेत्री । यिनको नगरको नाम हो– वेभार । यिनको जहानको नाम सोमनसा हो भने छोराको नाम अनुपम । गृहत्यागपछि दश महिनासम्म साधना गरी बुद्धत्व प्राप्त गरेका हुन भने बुद्धत्व प्राप्त गरेर पछि अनोमाराममा महापरिनिर्वाण प्राप्त गरे । 

‘सिद्धार्थ बुद्ध’को समयमा एक मंगल नामका तपस्वी दिए र उनैलाई संकेत गर्दै एक पल्ट यी बुद्धले आफ्ना शिष्यहरूसँग भनेका थिए– ‘‘यी उग्र तपश्या गर्दै गरेका जटाधारी तपश्वीलाई देख्यौं ? अबको चौरानब्बे कल्पपछि यिनी बुद्ध बन्नेछन् ।’’ यी मंगल नामका तपश्वी अरु नभएर आजभोलि हामीले चिनेका अर्थात् लुम्बिनीमा ई.पू. ५६३ मा जन्मेका गौतम बुद्ध हुन् । ‘गौतम बुद्ध’ र ‘सिद्धार्थ बुद्ध’ बीचको फरक यसबाट पनि छुट्याउन सकिन्छ । 

‘गौतम बुद्ध’को पर्यायवाची नाम ‘सिद्धार्थ बुद्ध’ होइन, ती बेग्लै बुद्ध हुन् भन्दाभन्दै पनि स्पष्टिकरणका लागि थप केही भन्नु पर्ने हुन्छ । यी दुईमा समानता पनि छन् अर्थात् दुबै बुद्ध हुन्, दुबैले उत्तिकै बोधिचर्या (बुद्ध हुनका लागि गर्नु पर्ने चर्या) गरेर सम्येक सम्बुद्ध बनेका हुन् । ज्ञानको कुरामा यी दुई बुद्धमा रत्तिभर पनि फरक हुन्न किनभने दुबैले एउटै सत्य देखेका हुन्छन् । एकै खालको धर्म देशना गर्ने हुन् । यी कुराहरू अन्य बुद्धहरूमा पनि लागू हुन्छन् । यहाँ ‘बुद्ध शासन’ भन्ने शब्दको प्रयोग माथि पनि उल्लेख गर्नु पर्ने हुन्छ । एउटा बुद्ध शासनमा दुई बुद्ध हुँदैनन् । जबसम्म कुनै बुद्धको प्रभाव रहन्छ तब सम्मलाई उनको शासन भनिन्छ । वर्तमानमा गौतम बुद्धको शासन कायम छ र बौद्ध जनमानसले पनि सो अवधिभर बुद्ध भन्नाले गौतम बुद्धलाई नै चिन्ने हुन्छ । यस अर्थमा नेपाल भारत तथा अन्य ठाउँहरूमा बुद्ध भनेर गौतम बुद्धलाई सम्झनु र उनैमा श्रद्धा व्यक्त गर्नु स्वाभाविक हो । उनलाई नै संकेत गरेर ‘सिद्धार्थ बुद्ध’ वा ‘सिद्धार्थ गौतम बुद्ध’ भन्नु बौद्ध इतिहाससम्मत नुहुन हो ।

(साभार: गोरखापत्र दैनिक, १५ मार्च, १०१४)

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्