साहित्य » व्यक्तित्व


 

विद्रोह गर्दै अघि बढ्दै सुलोचना मानन्धर


बसन्त महर्जन
December 5, 2013, Thursday

एउटा कथा पढेको थिएँ, २०४१ सालतिर, ‘छम्ह ल्यायम्ह’ (एक युवा) । नेपालभाषामा रहेको यो कथा भूमिगत राजनीतिमा लागेका युवा मजदूरहरूको थियो । कथाकार थिइन्, सुलोचना मानन्धर । कथावस्तु र प्रस्तुती सटिक लाग्यो । महिलाको छद्मनाममा कुनै राम्रो पुरुष कथाकारले लेखेको भन्ठानेको थिएँ । छ्द्मनाम होइन, वास्तविक नाम नै रहेछ, पछि मात्र थाहा भयो । फेरि अनुमान गरें, कसैको जीवनलाई आत्मसात गरेर लेख्नु लर्तरो कुरा होइन, लेखिकाले गरिछन् । तर यो अनुमान पनि मिलेन किनभने उनी कुनै बेलाकी मजदूर नै थिइन् । अब भने कौतुहल जाग्न थाल्यो, किनभने उनको पृष्ठभूमि मजदूरी गर्नु पर्ने होइन भनेर थाहा पाउनुका साथै पछि साक्षात्कार पनि भयो । जबजब देख्थें कौतुहलता जाग्थ्यो । र, जति थाहा पाउँथे, त्यसले थप कौतुहलता जगाइदिन्थ्यो । आखिर उनको जीवन भन्नु त विद्रोह नै विद्रोह रहेछ र विद्रोहको यात्रा नै सुलोचना मानन्धर भन्ने लाग्यो । 

पिलपिले बत्तीको प्रकाशमा जन्म 

आफ्नो पृष्ठभूमिका बारेमा केही बताउन आग्रह गर्दा काव्यात्मक भाषामा सुलोचना बोल्छिन्– ‘‘निभ्नै लागेको पिलपिले बत्तीको प्रकाशमा मेरो जन्म भएको थियो र मेरो जन्मपछि घरमा अन्धकार नै अन्धकारले छोप्यो ।’’

अर्थात्, काठमाडौंको झोछेँमा कुनै एक दिन उनको जन्म भएको थियो । जन्मको बेला त घरमा ठिकै थियो तर दश महिना पुग्दानपुग्दै बाबुको देहान्त भयो । घरमुलीको अभावमा घरमा शून्यता छायो, समस्याहरू वर्षिन थाले । बाबुका बारेमा सुनाउँछिन्, ‘‘मेरो बुबा समाजसेवी भन्ने कुरा त सबैलाई थाहा थियो । घरमा खोतलखातल पार्दा भेटिएका कागजपत्रको आधारमा उहाँ पक्कै विद्वान हुनु पर्छ जस्तो पनि लाग्यो । साहित्यकार ठाकुरलाल मानन्धरसँग नजिकको सम्वन्ध रहेछ भन्ने कुरा उहाँका हस्ताक्षरका रचना समेत हाम्रोमा भेट्यो र उहाँका समकालिनहरुसँग सोध्दा हो रहेछ ।’’ उनले अगाडि थपिन्, ‘‘मेरी हजुरआमा त विदूषी नै हुनुहुन्थ्यो । उहाँको नाम पूर्णमाया मानन्धर थियो र उहाँको माइत पनि झोछें नै थियो । माइतमा सम्पन्न र प्रभावशाली घरमा हुर्कनु भएको थियो । तराईतिर प्रसस्त मौजा भएको मात्रै होइन, हात्ती पाल्न समेत सक्ने परिवार रहेछ । घरमा नै गुरु राखेर राम्रै शिक्षादीक्षा पाउनु भएकी उहाँले तिब्बती भाषामा रहेका हस्तलिखित ग्रन्थहरू पढ्नु हुन्थ्यो, भाइलाई हिन्दीमा आफै चिठ्ठी लेख्नु हुन्थ्यो । नेपालभाषा, नेपाली, हिन्दी र तिब्बती भाषा बाहेक पाली भाषा पनि जान्नु हुन्थ्यो कि जस्तो लाग्छ । उहिल्यै कविता पनि लेख्नु हुन्थ्यो, केही कविता भेटिएका पनि छन् ।’’ 

सबैभन्दा पछिल्लो सन्तान उनी, उनले मात्रै औपचारिक शिक्षा पाइन् घरमा । परिवारमा एसएलसी गर्ने पहिलो सदस्य पनि उनी नै भइन् । 

सिक्दै र सिकाउँदै

समाज त परम्परागत नै थियो । जसरी अन्य छोरीहरूको विवाह गरेर लोग्नेको घर पठाइएको थियो, सुलोचनाको विवाह पनि १६ वर्षको उमेरमा छिनिई सकेको थियो । छोरीको राय लिनु पर्ने आवश्यकता नै ठानिंदैनथ्यो, त्यो समाजमा । विवाह पक्कापक्की भइसकेर जन्मकुन्डली लगी पूजा पनि गर्न थालिसकिएको थियो रे । यस्तो अवस्थामा जन्मकुन्डली फिर्ता ल्याउनु र कुरा तोड्नु चानचुने कुरा थिएन ।  तर घरको यो निर्णयविरुद्ध उनले विद्रोह गरिन् र अगाडि बढ्दै गइन् । उनी भने विवाह गर्दै नगर्नेमा अडिग रहिन् । ‘बिहे नै गराउने हो भने लाससँग गराउन’ू भनी आफ्नो निर्णय नै सुनाइन् पनि । त्यसपछि बल्ल निर्णय बदलियो । सबै समाज एकातिर, उनी एक्लै परेको क्षण उनी आजपर्यन्त सम्झिन्छिन् । 

बच्चा बेलादेखि नै अन्याय सहन नसक्ने उनको स्वभाव थियो । तर आफैमाथि अन्याय हुन लागेको थियो । एसएलसी सिध्याएर क्याम्पस गएकी थिइन्, क्याम्पसमा हुने साहित्य लगायतका गतिविधिमा संलग्न हुन्थिन् । त्यही बेला नेपाल–चीन मैत्री संघद्वारा संचालित चिनियाँ भाषा कक्षामा पनि संलग्न भइन् । भाषा संगसंगै चिनियाँ समाजबारे केही बुझ्न पाइन् । चीनमा धनी–गरीबबीच खाडल नभएको, महिला–पुरुष बराबर भएको, महिलाहरूमाथि अत्याचार नभएको जस्ता कुराहरूले उनी आकृष्ट हुँदै गइन् । त्यहाँ सहयोग गर्नेहरू पनि थिए । ती सहयोगीहरू भूमिगत राजनीतिमा संलग्न थिए । यही भएर सुलोचना तथा उनका साथीहरू भूमिगत पार्टीको नजिक पुग्न थाले । ती सहयोगीमध्ये प्रमुख डा. महेशमान श्रेष्ठ आफ्नो पढाइको लागि चीन गएपछि सबैको पार्टीसँगको सम्पर्क टुट्यो । त्यस बेला साथीहरूको नेतृत्व सुलोचना र साथी अष्टलक्ष्मी शाक्यले नै गरेका थिए । कतिपय साथीहरूले ‘बुर्जुवा शिक्षाको बहिष्कार’ अभियान अनुसार पढाइ पनि छाडिसकेको र पार्टीको सम्पर्कमा पनि नभएको बडो कठिन स्थिति थियो । यद्यपि उनीहरूले साथीहरूलाई पार्टीसँगको सम्पर्क टुटेको आभास हुन दिएनन्, बरु सक्दो समेट्न खोजे । तर आफूहरू नै कागको कुहिरो बनिसकेको अवस्था थियो ।

राजनीतिका लागि शिक्षण

काठमाडौंको नेवार समाज नै भए पनि टेकु नजिकको एउटा पिछडिएको समुदायमा उनको ध्यान गयो । त्यहाँ उनी शिक्षिका भएर गइन् र बच्चाहरूलाई पढाउन थालिन् । ती बच्चाहरूलाई पढाउनु निकै कठिन थियो तर पनि उनले हरेस खाइनन् । बच्चाहरू स्कुलमा नै आउँदैनथे । उनी बच्चाहरूलाई बटुलेर ल्याउँथिन् र बडो मायालु पाराले पढाउँथिन् । बाहिरी समाजबाट हेपिएका ती नानीहरूलाई यसरी माया गरिनु आफैमा नौलो थियो र चाँडै नै वातावरण बदलिन थाल्यो । एक पल्ट प्रोफेसर निरन्जन राजभण्डारी हेर्न पुगेछन् । ‘‘यस्तो ठाउँमा तिमीले काम गरिरहेको ? हप्तामा एक दिन म पनि आएर काम गरिदिन्छु’’ भनेर प्रोत्साहन दिएर गएछन् । तर त्यहाँ भन्नु मात्रको स्कूल थियो, भौतिक संरचना केही थिएन । त्यति बेला आफूले पढाएका बच्चाहरू अहिले ठूल्ठूला पदहरूमा पुगिसकेको कुराले उनलाई खुशी तुल्याउँछ । कतिले बेलाबेला भेट्ने, कुराकानी गर्ने गरे पनि  कतिपयलाई भने आफ्नो विगत नकोट्याइदेओस् भन्ने जस्तो पनि लागेको उनको अनुभव छ । 

छोरीले यस्तो ठाउँमा काम गरिरहेको भन्ने जानकारी घरमा थिएन । ठिक त्यसै बेला जेलविद्रोह गरेर निस्कनेहरूसँगै समेटेर आफूहरूलाई पनि गिरफ्तार गर्ने तयारी भइरहेको थाहा भयो । समात्न नै त आएनन् तर कडा निगरानीमा भने रहनु प¥यो । त्यो २०३५ सालको कुरा थियो, देशमा खासै केही भइरहेको थिएन । उकुसमुकुसको वातावरण थियो । स्कूलमा पनि हतोत्साहित गर्नेहरूको पनि कमी थिएन । कोही त हठात् प्रेमप्रस्ताव राख्न आउथे । घरबाट विवाहको प्रस्तावहरू आइ नै रहेका थिए । उनलाई अझ गाउँमा गएर पढाउन जाने सोच आयो र सरुवा लिई काठमाडौंकै बलम्बुमा गइन् । साथी पूर्णशोभा चित्रकारले पनि त्यतैतिर अर्को स्कूलमा सरुवा पाइन्, सँगै हिडे । स्कूलमा नयाँ शिक्षिकालाई धेरैले माया गरे । तर राजनीतिक रूपमा केही फाइदा भइरहेको थिएन । गर्छु वा मर्छु भनेर अगाडि बढेकाहरूलाई यो सहज वातावरण थिएन । 

शिक्षकबाट मजदूर

एक जना शिक्षक कसरी मजदूर हुन सक्छ र ? यस्तो कल्पना पनि कसले गर्ला र ? तर सुलोचनाले यस्तो कल्पना मात्रै होइन, आफै त्यसमा सरीक भएर मजदूर नै बनिन् । उनमा चिनियाँ साहित्य, मुख्यतः मजदूर आन्दोलनको प्रभाव थियो । यसै बेला बालाजुस्थित नेबिको विस्कुट कारखानामा नयाँ मेसिन आएको र नयाँ मजदूरहरूको माग भएको थाहा भयो । अन्तवार्ताका दिन एक जना साथीको घरमा गई त्यहाँबाट फाटेको लुगा र सारी लगाइन् र अन्तर्वार्तामा आफु सिलाइबुनाइको काम गर्दै रहेको र राम्रो कमाइका लागि मजदूर हुन आएको जवाफ दिइन् । लिखित जाँचको समयमा अरु परीक्षार्थीलाई हिसाव सिकाउने काम उनले गरिन् तर आफूले भने बिगारेर आइन् । यसरी भयो उनको मजदूरी जीवन यात्रा । उनले मजदूरको तालिम र शिक्षणलाई संगसंगै लगेकी थिइन् तर पछि पूरा समय काम गर्नु पर्ने भएपछि राजीनाम गर्न गइन् । मन पर्ने गुरुआमा राजीनामा गर्न आएको थाहा पाएर बच्चाहरू रोएका थिए र आँखा नदेख्ने भइसकेको बूढाबाले भनेको कुरा उनी अझै पनि सम्झन्छिन्– ‘‘बच्चाहरूलाई रुवाएर स्कूल छोडेको राम्रो हुँदैन ।’’ 

सुलोचनाले कारखानामा काम गर्नें क्रममा मजदूरहरूलाई चेतना बाँड्ने र संगठित गर्दै हिड्न थालिन् । नेपालको इतिहासमा २०३६ सालमा पहिलो पल्ट मजदूर र विद्यार्थी मिलेर संयुक्त आन्दोलन गरेका थिए । यसको नेतृत्व गर्नेहरूमा एक सुलोचना पनि थिइन् । आन्दोलनले ठूलै रूप लिएको थियो । एकातर्फ आन्दोलनलाई व्यवस्थित रूपमा अगाडि बढाउन पर्ने अवस्था थियो भने अर्कोतिर घरमा कचकच । रातबिरात घर फर्केको जस्ता कुराहरूले घरमा तनाव हुन्थ्यो । यही भएर उनले घर नै छाडनु प¥यो । आन्दोलनमा होमिएका साथीहरूको सहयोग भने थियो । त्यो बेलासम्म खासै कुनै पार्टीसँग सम्पर्क थिएन । आन्दोलनलाई सघाउन आउनेहरूमा तत्कालीन नेकपा मालेसम्वद्धहरू पनि भएका कारण सोही पार्टीसँग नजिकिन पुगिन् । कुनै एउटा ठूलो राष्ट्रिय पार्टीसँग मिलेर काम गर्नुपर्ने आवश्यकताबोध भइसकेको थियो । त्यसैले त्यहाँ प्रत्यक्ष रूपमा सघाउन आउने पार्टी सम्पर्कमा रहेका रघु पन्तको माध्यमबाट नेकपा माले नामको पार्टीमा प्रवेश गरिन् ।  

भूमिगत जीवनमा जीवन साथीसँगको भेट

२०३७ साल जेठमा मजदूर आन्दोलन गर्ने पार्टीको निर्णय भयो । सुलोचनाले जानकारी दिएकी त थिइन्, आन्दोलन थालिहाल्ने बेला भएको छैन, अपरिपक्व नै छ, पर्खनु पर्छ तर उनी अल्पमतमा परिन् । त्यहाँ मजदूर नेता भनेपनि मजदूर नै त कोही पनि थिएनन्, साँच्चैको मजदूर त सुलोचना मात्रै थिइन् । पार्टीले वस्तुस्थिति बुझ्न सकेन र पार्टीको आदेशअनुसार आन्दोलन थालियो । आन्दोलन चर्कियो पनि । 

आन्दोलन दबाउन राज्यशक्ति लाग्नु स्वाभाविक थियो । सुलोचनालगायत अरु चार पाँचजनाको गिरफ्तार गर्ने खुब कोशिस भयो । तर विभिन्न खालको चतु¥याइँका कारण गिरफ्तार भएनन् । त्यसपछि ‘अन द स्पट’ गोली हान्ने  योजना बनेको थाहा भयो । यसपछि वाध्य भएर उनी पूर्ण भूमिगत भइन् । उनले मजदूर हुनका लागि जुन घरबाट झुत्रो र मैलो लुगा लगाएर निस्केकी थिइन्, भूमिगत जीवन पनि त्यही घरमा बिताउन प¥यो किनभने आफ्नै घरमा बस्न सक्ने अवस्था भएन । 

एक दिन, के हुँदो होला हेरौं भनेर घरबाट निस्केर बजार घुम्न निस्किइन्, साथीकी बहिनीसँग । न्यूरोड तिर घुम्दै थिए । शंका लाग्यो, कसैले पीछा गरिहेको छ भन्ने । साँच्चै हो रहेछ । चारैतिरबाट घेराउ गर्न भ्याइसकेछन् । तर त्यत्ति नै बेला एउटा गल्लीभित्र छिर्न भ्याए । त्यही परिवेशमा हुर्केको न प¥यो, गल्लीहरू छिचोल्दै छिचोल्दै एक साथीको घरमा पसी भेष बदलेर सुरक्षित स्थानमा पुग्न सफल भइन् उनी । उनी समातिएको समाचार पनि प्रकाशित हुन्थ्यो तर जीवनमा कहिल्यै जेलमा नपरेको र जस्तोसुकै अवस्थामा पनि उम्कन सफलता मिलेको उनी बताउँछिन् । 

एक मजदूरको श्रीमती बिरामी परेर भक्तपुर अस्पतालमा भर्ना गरिएको रहेछ । पार्टीले अस्पतालमा तिनै विरामीको हेरविचार गर्न खटाए । एउटा राजनीतिक कार्यकर्ता अस्पतालमा कुरुवाको रूपमा होला भनेर राज्यले भेउ नै पाउन सकेनछ । 

अस्पतालमा कसैसँग उनले सोधिन्, ‘‘यहाँ सबैभन्दा राम्रो डाक्टर को हो ?’’

‘‘डा. सरल । ’’ 

पछि बुझ्दा ‘सरल’ होइन, डा. सरोज धिताल रहेछन् । 

डाक्टर धितालसँग विरामी बारे पछि प्रत्यक्ष रूपमा कुराकानी हुन थाल्यो । विरामीको कुरुवा परिवार वा आफन्त पो बस्न आउँथे तर साथीको श्रीमतिको सेवामा आइरहेकोमा डाक्टर अचम्ममा परे । विरामीका बारेमा थुपै्र कुरा सोध्ने, सुधार गर्न सल्लाह दिने आदिले गर्दा सुलोचना देखेर डाक्टरलाई लाग्यो– समाजमा यस्तो मान्छे पनि हुँदो रहेछ ।  

अस्पतालबाट फर्केपछि सुलोचनाले पार्टीमा माग गरिन्– काम मात्रै गरेर पुगेन, राजनीतिक दर्शनको पनि अध्ययन गर्नु प¥यो । जहाँ हेरे पनि पुरुषहरूको मात्रै वर्चश्व हुनुको कारण अध्ययन नै भनेर सुलोचनाले पनि राजनीतिक दर्शनहरूको अध्ययनमा जोड दिइन् । गम्भीर दर्शनहरू बुझ्न धेरै कोशिस गरिन् । त्यसपछि पार्टीमा प्रस्ताव राखिन्, दर्शनसम्बन्धी ज्ञानका लागि कोही मार्गनिर्देशक चाहियो । सो माग बमोजिम एक विद्वानलाई खटाइ दिए । राजनीतिक दर्शन सिकाउन आएको अरु नभएर उही भक्तपुर अस्पतालमा भेटेको डाक्टर नै परेछन् । यो पनि एउटा संयोग हो ।  

त्यति बेला पार्टीबाट एउटा महिला पत्रिका ‘महिला मुक्ति’ निस्कन्थ्यो । पत्रिकामा छाप्नका लागि आएको ‘जेल परेकी बहिनी’ शीर्षकको एउटा कविताले सुलोचनाको मन छोयो । कविता छद्मनाममा लेखिएको थियो । र, पछि थाहा भयो, कविता लेख्ने कवि उही डाक्टर  नै रहेछ । पछि कविता सुनाउने क्रममा एउटा प्रेमका विषयवस्तुमा कविता सुनाए तर त्यो रोमान्टिक र भावुकताको प्रेम नभएर जिम्मेवारी तथा उद्देश्यमूलक थियो । त्यो कविता पनि मन प¥यो । सुलोचना आफै कविता, कथा, कहानी जस्ता साहित्य भनेपछि हुरुक्क हुने, त्यसरी सुन्न मन नपराउने कुरा नै भएन । अर्को कुरा पनि अनुभूति भयो, कहिँ डाक्टर साहेबले आफूलाई मन पराउन पो थालेको त हैन ? विवाह नगर्ने भनी घरमा विद्रोह गरे पनि अब विवाहको समय भइसकेको थियो । विवाह गर्ने उमेर र एक असल जीवनसाथी भइदिए हुने भन्ने सोच आइसकेको बेला थियो । साथीहरूबाट अप्रत्यक्ष रूपमा सोध्न लगाउँदा थाहा भयो, डाक्टर साहेबले पनि मन पराएकै रहेछ । परम्परागत ब्राम्हण परिवारले अन्तर्जातीय विवाहलाई स्वीकार्न सक्ने अवस्था थिएन र विवाह भएको तीन वर्षपछि मात्र घरमा छिर्न पाइन् । 

डा. सरोज दिउँसो देखिने गरी डाक्टरी पोशाक लगाएर विरामी जाँच गर्ने तर बेलुकी साँझ भने पार्टी काममा सघाउँथे । सुलोचनाको मजदूर क्षेत्रमा पनि गएर सघाउने गर्थे । 

विहे भएको केही समयपछि नै दुई जीउकी सुलोचनालाई छाडेर गाउँ गए डाक्टर, पार्टीको काम गर्न । घर न घाट जस्तो भयो, सुलोचनालाई । माइतमै बस्न सक्ने अवस्था पनि थिएन । विवाह भएको त सबैलाई थाहा थियो तर यही हो श्रीमान भनेर देखाउन सक्ने अवस्था थिएन । बच्चा अरुलाई हेर्न दिएर काममा लाग्ने नीति थियो पार्टीको । सुलोचना भने त्यस नीतिमा सहमत थिइनन् । कि बच्चा पाउँदै नपाउनु, पाएपछि आफै हुर्काउनु भन्ने सोचमा थिइन् । बच्चा भएपछि सुलोचना पार्टी काममा निस्क्रीय हुन थालिन् । उनी पनि गाउँमा डाक्टर भेट्ने गरी काम गर्न गइन् । डाक्टर भएर सेतो लुगा लगाएर विरामीको जाँच गर्दै हिड्नु सट्टा गाउँमा जनतासँग भिज्दै हिड्थे । तराईमा हुँदा स्थानिय भेषभूषा नै लगाएर भूमिगत भएर बस्नु पथ्र्यो । पछि फेरि चिकित्सा सेवा नै गर्न सपरिवार काठमाडौं नै फर्के । 

सुलोचना भन्छिन्– ‘‘डाक्टरले मलाई धेरै नै सहयोग गर्नु भएको छ, राजनैतिक जीवनमा होस् या अन्य क्षेत्रमा ।’’ 

साहित्य

रत्नराज्य लक्ष्मी क्याम्पसमा पढ्दा कवि पूर्ण वैद्यसँग संगत भएको थियो । साथीहरू पनि साहित्यमा रुची राख्ने । यही बेला कविता कोर्न थालिसकेकी थिइन् उनले । क्याम्ससमा आयोजित हाँस्यव्यङ्ग्य आफू आमा र साथी अष्टलक्ष्मी शाक्य छोरी भएर अभिनय पनि गरे । किशोरावस्थादेखि युवावस्थामा हिँडिरहँदा थुप्रै कथा कविताहरूको सिर्जना पनि भयो । ती कविताहरू कहाँ गए त ? राजनीतिक गतिविधिका कारण आफूमाथि निगरानी बढेको थाहा पाएर आफूले लेखेका कविताहरू लगायत अन्य कागजात सुरक्षाका लागि साथी अष्टलक्ष्मीको घरमा पु¥याइएको थियो । सम्पन्न घरमा हतपति सुरक्षाकर्मीको आँखा जाँदैन भन्ने सोच थियो । तर अष्टलक्ष्मीको काकाको छोरा गोपाल शाक्यको खोजी गर्ने क्रममा त्यहाँ पनि खानतलासी गर्ने भएछ । अष्टलक्ष्मीका बहिनीहरूबाट आफ्नी दिदीको सुरक्षाका लागि कागजातहरू नष्ट गर्ने क्रममा इनारमा खसालेका थिए, त्यसमा सुलोचनाका कविताहरू पनि प¥यो । 

सुलोचना अझै पनि कविताहरू कोर्छिन् । आजभोलि ‘रात’ शीर्षकमा कविताका श्रृंखलाहरू कोर्दै छिन् । साना साना कविताहरुको संग्रह ‘अनुभूतिका थोपाहरू’ ले पुस्तक र भीसिडीको रुप लिइसकेको छ । लेख, निबन्धको संग्रह ‘इतिहासका ज्युँदा पानाहरु’, श्रद्धा संस्मरण ‘तेजोऽसि’, नियात्रा ‘अर्को गोलाद्र्धका मनहरु’ प्रकाशित छन् । यसरी नै नेपालभाषामा ‘झ्यारखाना’ कथासंग्रह र अबुया लुमन्ति’ प्रकाशित छन् । ‘अनुभूतिका थोपाहरु’ को भिसीडि संस्करणले २००४ मा जर्मनीमा ‘जेब्रा पोइट्री फिल्म फेस्टीवल’मा मनोनित भएको थियो र २००५ मा पुरस्कृत पनि भयो । 

छात्रवृत्तिको ऋण चुक्ता

श्रीमान चीनमा थप अध्ययनका लागि पुग्दा केही समयपछि सुलोचना त्यहाँ पुगिन् । उनले पनि छात्रवृत्ति पाइन् पढ्न । चिनियाँ भाषा र साहित्यको अध्ययन गरिन् । अध्ययन अवधि पाँच वर्षको थियो । सुरुमा अलि गा¥हो भएपनि पछि अभ्यस्त हुँदै गइन् । 

नेपालमा फर्केपछि थाहा भयो, विश्वभाषामा चिनियाँ भाषाको पढाइ त हुन्छ तर त्यहाँ नेपाली शिक्षक थिएन । चिनियाँ भाषा शिक्षणका लागि चीनबाट नै मगाइन्थ्यो र बडो मुस्किलले व्यवस्था हुन्थ्यो । यस्तो अवस्थामा क्याम्पसले सुलोचनालाई पाउनु ठूलो कुरा थियो । नेपालमा आएर यसरी भाषा शिक्षक हुनु पर्ने अवस्था थाहा पाएको भए भाषा प्रशिक्षणकै पनि तालिम लिएर आइन्थ्यो । तर पनि क्याम्पसमा प्रवेश गरिन् र शिक्षकका अभावपूर्ति गरिन् । उनले क्याम्पसमा चिनियाँ भाषालाई व्यवस्थित रूपमा अगाडि बढाउन थुपै्र कामहरू पनि गरिन् र दरिलो बनाइन् । 

विश्वभाषामा आफूले पढाएका विद्यार्थीहरूले नै अब पढाउन थालेका छन् । उनी भन्छिन्– चीनमा छात्रवृत्ति लिएर पढेकी थिएँ, नेपालमा आएर चिनियाँभाषा क्षेत्रमा योगदान दिएर मैले उक्त ऋणबाट मुक्त भएँ । 

पिएचडी छाडेर प्राज्ञ 

बाल्यकालदेखि नै शिक्षामा औधी रुची राख्ने सुलोचना सिक्ने कामबाट कहिल्यै विमुख भइनन् । बुर्जुवा शिक्षाको बहिस्कारसँग कहिल्यै सहमत हुन सकिनन् । आफू पनि पिएचडी गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालयमा दर्ता गरी अनुसन्धान कार्य पनि थाल्दै थिइन् । दश वर्षसम्म सिध्याउन सकिन । ‘‘व्यस्तताले गर्दा पछि पुनः दर्ता गरी सिध्याउँछु भनेर लाग्दा नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यमा मनोनित भइन् । फेरि स्थगित भयो, पिएचडी । तर अहिले लाग्छ, मेरो निम्ति यो त्यति नभईनहुने कुरा होइन, डिग्रीभन्दा काम नै ठुलो हो’’ भन्छिन् । 

प्रज्ञाप्रतिष्ठान भन्ने त्यस्तो निकाय हो जहाँ राज्यको सम्पूर्ण शक्ति र श्रोतको लगानी विभेदपूर्ण थियो । एउट भाषाको मात्र काम हुन्थ्यो । नेपालका अन्य सम्पूर्ण भाषाभाषीका हक अधिकार त्यहाँ बन्चित थियो । गणतन्त्रको स्थापनासँगै यहाँ पनि समावेशी गर्ने हिसावले अन्य भाषाभाषीहरूलाई पनि स्थान दिने नीति ल्यायो । उक्त नीतिअनुसार मातृभाषा र मातृभाषा साहित्य विभागको पनि गठन भयो । मातृभाषा साहित्य विभाग सम्हाल्ने जिम्मा सुलोचनाले नै पाइन् । आफू मातृभाषामा पनि लेख्ने भएको र मातृभाषामा लेख्दाको समस्याको पीडा आफैले भोगेका कारण उक्त विभागलाई बुझ्न समय लागेन । देशमा कति धेरै मातृभाषा छन्, तिनीहरूका आ–आफ्नै समस्या छन् । यी जम्मैसँग आत्मसात गर्दै विभागलाई अगाडि बढाइन् । 

यहाँ मान्छेहरूलाई बुझाउन सा¥है गारो पनि भयो । भन्छिन– ‘‘कहिलेकाहीं एक्लो भएको अनुभव पनि भएको छ । मातृभाषा कविताको ऐतिहासिक महोत्सव भयो, बेला राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा । आफ्नो मातृभाषामा कविता वाचन गर्न आउने स्रष्टाले आफ्नो मनको कुरा बोल्ने क्रममा ‘हिजोसम्म आफूहरू दोस्रो दर्जाको नागरिक भएको अनुभव भइरहेको, आज साँच्चै परिवर्तन आएको र समान नागरिकमा दरिएको अनुभव भइरहेको’ सुनाए । यो भनेको राष्ट्रमा आएको परिवर्तनसँगै नागरिकहरूमा एकता भाव सँगै राष्ट्र भाषामा सबै एक हो भन्ने अनुभूतिको प्रमाण हो ।   

मातृभाषा साहित्य विभागको स्थापनापछि विगतमा हुन नसकेका धेरै कामहरू भएका छन् । ती भनेका ऐतिहासिक कामहरू नै हुन् – फर्केर हेर्दा– ती कामहरूसँग आफै पनि खुशी र सन्तुष्ट भएको कुरा बताउँछिन्, सुलोचना । उनी भन्छिन्– ‘‘यो समय सुहाउँदो काम पनि हो । भाषाजातिका भेदभावका कारण दुखेको देशमा मल्हम पट्टी लगाउने काम पनि भएजस्तो लाग्छ ।’’

धेरैले सोध्ने गरेका छन्, ‘‘विभागमा अब के हुन्छ ?’’ किनभने सुलोचनाको कार्यावधी अब केही महिनापछि सकिंदै छ । यसको सजिलो जवाफ हो, मातृभाषा विभाग त रहन्छ नै । उनी आफै के गर्छिन् त ? जवाफ दिन्छिन्– ‘‘मातृभाषाको पीडा मलाई थाहा छ । यहाँ आएर थप कुराहरू थाहा पाएकी छु । भोलिका दिनमा म भलै मातृभाषा साहित्य विभागमा नहोउँला तर मातृभाषाहरूका लागि बाहिर बसेरै पनि काम गर्दै रहनेछु । अर्को कुरा देश र समाजको हितको काममा नै सँधै रहन्छु । 

(साभार : हसना म्यागेजिन)

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्