संस्कृति » लेख/फीचर/समीक्षा


 

नेपालका लागि इस्वी संवत्


बसन्त महर्जन
October 30, 2013, Wednesday

नेपालमा दैनिक प्रयोजनका लागि कुन संवत् उपयुक्त होला ? यस प्रश्नको उत्तरमा नेपालसंवत् र विक्रमसंवतका पक्षधरबीच लामो समयदेखि विवाद चल्दै आएको छ । कुनै पनि संवतको प्रयोगका लागि भनेर यति लामो विवाद चलेको सम्भवतः संसारमा कहीँ पनि पाइँदैन । यस विवादका सम्बन्धमा हजारौँ लेखरचना र दर्जनौँ पुस्तक प्रकाशित छन् । नेपालसंवतको पुनस्र्थापनाका लागि आन्दोलन नै चल्यो र हाल यस संवतका प्रवर्त्तक शंखधरले राष्ट्रिय विभूति र संवतले राष्ट्रिय संवतको मान्यता पाएका छन् । विक्रमसंवत् र इस्वीसंवत् गरी दुई संवतको प्रयोगले नै अलमलिरहेको अवस्थामा नेपालसंवत् पनि थपिएको छ ।हालै "किराँत यले संवत"लाई पनि राष्ट्रिय संवतको रूपमा मान्यता दिइनुपर्ने माग अगाडि सारिएको छ । संवतहरूको भीडमा अर्को विवाद थपिन पुगेको छ र "काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर" भन्ने लोकोक्ति चरितार्थ भइराखेको छ ।   

 धेरैलाई लागेको हुनसक्छ, विक्रमसंवत् नेपालमा परापूर्वकालदेखि चल्दै आएको संवत् हो । तर, यथार्थ त्यस्तो होइन । लामो समयदेखि चल्दै आएको नेपालसंवतलाई विस्थापित गरी विक्रमसंवतलाई स्थापित गरिएको पनि होइन । तत्कालीन नेपाल राज्य वा विखण्डित कान्तिपुर, भक्तपुर र पाटन तीन राज्यमाथि अधिकार जमाइसकेपछि गोरखाका राजा पृथ्वीनारायण शाहले गोरखामा प्रचलित शाके संवतलाई नयाँ नेपालमा प्रचलनमा ल्याएका थिए । त्यसको निकै समयपछि मात्र चन्द्रशमशेरको वेलामा विक्रमसंवतलाई प्रचलनमा ल्याइएको हो, तर किन र के कारणले भन्ने कुरा खुल्दैन ।

 यसबीचमा पनि काठमाडौंका नेवारहरूले आफ्नो दैनिक प्रयोजनबाट नेपालसंवत् छुटाएका थिएनन् । पछि राष्ट्रिय जागरणस्वरूप नेपालसंवत् नै राष्ट्रिय संवतका रूपमा मान्यता पाउनुपर्ने आवाज उठ्यो । तर, यो आवाजलाई दबाउन "साम्प्रदायिक भावना" जस्ता लाञ्छना लगाइयो र यसको नामै फेरेर "नेवारी संवत्" भन्न पनि बाँकी राखिएन । अझ रमाइलो कुरा त के रह्यो भन्दा, राज्यको स्वामित्वमा रहेको राष्ट्रिय दैनिक गोरखापत्रमा त केही समय विक्रमसंवत्लाई नै नेपालसंवत् भनी ढाकछोप गर्नेतिर पनि लाग्यो ।  

ऐतिहासिक लेख्यसामग्री अध्ययन गर्ने हो भने नेपालमा विभिन्न संवतको प्रयोग भएको पाइन्छ । तिनमा मानदेवसंवत् र नेपालसंवत् मात्रै नेपालको आफ्नै संवत् रहेको देखिन्छ । ००७ सालको राजनीतिक परिवर्तनपछि केहीले "त्रिभुवन संवत्" भनी नयाँ संवत् चलाउन खोजेका थिए, तर सकेनन् । नेपालसंवतलाई राष्ट्रिय मान्यता दिइएपछि "किराँत यले संवत्लाई पनि राष्ट्रिय मान्यता दिई दैनिक व्यवहारमा यसको प्रयोग गर्नुपर्ने माग आएको छ । "किराँत यले संवत् " पक्षधरहरूको दाबीअनुसार यो ऐतिहासिक संवत् हो । तर, यो हालसम्म प्रचलनमा आएको नदेखिनु तर ऐतिहासिक भनी दावी गरिनु आफैमा अनौठो र ऐतिहासिकताको अर्थलाई नै पुनः परिभाष्तित गर्न खोजिएको जस्तो देखिन्छ । यो संवत् कुन मितिदेखि सुरु गर्नुपर्ला भन्ने निक्र्याल पनि हुन सकेको छैन । कसैले एकबाटै सुरु गर्नुपर्ला भनिराखेका छन् भने कसैले गोपालराजवंशावलीका आधारमा राजा यलम्बरबाट गणना गर्दा उपयुक्त हुन्छ भनिराखेका छन् । यसैगरी कसैले राजा स्थुंकोको समयदेखि यसलाई यसको उत्थान मानी गणना गर्नुपर्ला भनी हचुवा पाराले तर्क गरिराखेका छन् । अर्थात् यसको स्थापनाकार्य नै बाँकी रहेछ ।

 संवतको प्रयोजन भनेको दैनिक व्यवहारमा सजिलोका लागि हो । नेपालको दैनिक व्यवहार वर्तमान विश्वसँग सामञ्जस्य राखिएन भने अरूलाई त केही हुनेवाला छैन, घाटा आफैलाई हो । सबै कुरा आफ्नै परम्परा र इतिहाससम्मत गर्न खोज्ने चिनियाँहरूले त इस्वीसंवत् चलाउन थालिसकेको अवस्थामा नेपाल त्यो प्रवाहबाट पन्छिन सक्ने अवस्था छैन । नेपालले चलनचल्तीमा रहेको भनेर अन्तर्राष्ट्रियस्तरमा विक्रमसंवतलाई चलाउने अवस्था पनि छैन । नेपालभित्रै पनि जनस्तरमा विक्रमसंवतका चल्ती घट्दो र इस्वीसंवतकै चल्ती बढ्दो छ । यस अवस्थामा नेपाललाई कुन संवत् उपयुक्त होला रु संवतहरूको किचलो भइराखेको र अझ बढ्ने सम्भावना रहेको अवस्थामा यस विषयमा छलफल त हुनैपर्छ ।

 इतिहास, संस्कृतिलगायत हरेक कुरामा समानता राख्ने भनिएको भारतमा आफ्नै विक्रमसंवतलगायत दर्जनौँ संवत् छँदाछँदै सरकारी कामकाजमा इस्वीसंवतको प्रयोग हुन्छ । नेपालजस्तो मुलुकले धेरै बढी संवत् थेग्नसक्ने अवस्था छैन र व्यावहारिक पनि हुँदैन । यस अवस्थामा राष्ट्रकै नाममा रहेको, सीमित क्षेत्रमै भए पनि प्रचलनमा आएको र ऐतिहासिकता पनि भएको नेपालसंवतलाई सम्पदा वा निधिकै रूपमा मान्यता दिँदै स्वदेश र विदेश सबै क्षेत्रमा एउटै मात्र इस्वीसंवतलाई प्रचलनमा ल्याउनु उपयुक्त हुने देखिन्छ । (साभार : नयाँ पत्रिका)

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्