साहित्य » अन्तर्वार्ता


 

बुद्धबारे भ्रमैभ्रम छन्


October 25, 2013, Friday

बसन्त महर्जन केही वर्षअघिसम्म सक्रिय पत्रकार थिए । पत्रकारिताकै क्रममा इतिहास, संस्कृति तथा पुरातत्वको क्षेत्रमा एकोहोरिए उनी । अहिलेसम्म उनका बौद्ध धर्मसम्बन्धी चार वटा पुस्तक प्रकाशित छन् । बुद्ध, बौद्ध धर्म, बौद्ध पुरातत्व जस्ता विषयमा अध्ययन अनुसन्धानमा संलग्न महर्जनसँग शुक्रवारका लागि पदम गौतमले गरेको कुराकानी : 

किन गौतम बुद्धबारे नै अनुसन्धान र लेखनमा लाग्नुभयो ?

मेरो अध्ययन अनुसन्धान तथा लेखन गौतम बुद्धमा मात्रै सीमित छैन । तर आजभोलि प्रकाशनहरू बुद्ध र बुद्ध धर्मबारे नै बढी मात्रामा भइरहेको चाहिं हो । नियात्रा मेरो अर्को विषय हो । यसमा पनि मैले इतिहास, संस्कृति तथा पुरातत्वको दृष्टिकोणले लेख्ने गर्दछु । 

बुद्धबारे नेपालमा भ्रम कस्ता कस्ता छन् ?

नेपालमा बौद्धहरूमा त भ्रम छैन तर अन्य धर्मावलम्बीहरूमा बुद्ध भन्नाले लुम्बिनीमा ई.पू. ५६३ मा जन्मेका गौतम बुद्धलाई मात्र बुझ्ने र बुझाउने गरिन्छ, जुन भ्रम हो । गौतम बुद्धभन्दा अगाडि अन्य २७ जना बुद्ध भइसकेका थिए । ध्यानी बुद्धहरू पनि छन् । तर सबै बुद्धको एउटै गुण हुन्छ । अर्को भ्रम भनेको बुद्धलाई ईश्वर, कसैको अवतार, देवता भन्ठान्नु हो । बुद्ध भनेको मात्र बुद्ध हो, यो देवता र मानिसहरूका पनि शास्ता (मार्गदर्शक) हुन्छन् । बुद्ध एउटा अवस्थालाई जनाउने शब्द हो र विभिन्न व्यक्तिगत नाम हुन्छन् । बोधिचर्या गर्दै बुद्धत्व प्राप्त गर्ने बुद्ध हुन्छन् र बुद्धत्वपछि उसको अर्को जन्म वा अवतार हुँदैन । बुद्ध बारेमा धेरै थरिका भ्रमहरू छन्, जुन चर्चाको छुट्टै विषय हुन्छ ।  

हामीले बुद्ध र उनको महत्व चिन्न नसकेको हो ?

निसन्देह हो । कुनै बेला नेपालले बुद्ध र बौद्धधर्मलाई आँखाको कसिंगरका रुपमा लिएको थियो भने अहिले बुद्ध, बौद्ध धर्म र बौद्ध सम्पदालाई पर्यटन उद्योगको एउटा पाटोको रुपमा मात्रै हेरेको देखिन्छ तर यो पर्यटन उद्योगभन्दा निकै माथिल्लो कुरा हो । 

भारतले भविष्यमा बुद्ध आफ्नो बनाउला कि अझ ऊ नांगिँदै जाला, अन्तर्राष्ट्रिय जगतमा ?

यो एक स्तरको प्रश्न हो जुन नेपाल र भारत दुवैतिर उठ्ने गर्दछ । अर्को स्तर पनि छ, जसका लागि यस्ता प्रश्नहरूले कुनै अर्थ राख्दैन, नेपाल र भारत दुबैतर्फ । गौतम बुद्ध लुम्बिनीमा जन्मेको कुरामा कहिल्यै दुई मत भएन र सन् १८९६ पछि लुम्बिनी नेपालको भूमिभित्र पर्छ भन्ने कुरा पनि पत्ता लाग्यो । तर कतिपयमा लुम्बिनी र कपिलवस्तु एउटै हो भन्ने गलत बुझाई रहँदा भ्रम सिर्जना भएको हो । तत्कालिन कपिलवस्तु अहिले नेपाल र भारत दुवै भूमिमा विभाजित रहेको कुरालाई सहज रुपमा स्विकार्न नसक्नेहरू दुवै देशमा छन् र मूल समस्या यहीं हो । भारतले नक्कली लुम्बिनी वा नक्कली कपिलवस्तु बनायो भन्दै हाम्रा नेपालीहरू विरोध गर्छन् तर कुरा त्यो होइन । आफ्नो भूमिमा भएको प्राचीन बौद्ध विहार र स्तुपको पुरातात्विक अवशेषको संरक्षण गरेको मात्रै हो । गौतम बुद्धका अधिकांश गतिविधि वर्तमान भारतीय भूमिमा हुन पुग्यो र त्यसपछि पनि भारतीय भूमि बौद्ध धर्मको केन्द्र नै रह्यो । अहिल्यै पनि भारतले आफ्ना बौद्ध सम्पदाहरू विश्वलाई देखाउनमा प्राथमिकता दिन्छ तर नेपालले बुद्ध, बौद्ध धर्म तथा बौद्ध सम्पदालाई चिन्न नै चाहेन अनि चिनाउने क्षमता पनि राख्न सकेन । 

यस्ता किताब लेख्न त सहयोग धेरै आउँछ भनिन्छ नि ?

स्वदेशी तथा विदेशी सहयोगमा काम गर्नेहरू छन् भन्ने कुरा मलाई पनि थाहा छ तर त्यो बेग्लै संसार हो । नितान्त व्यक्तिगत श्रोत साधनमा निर्भर भई अध्ययन तथा लेखन गर्छु तर पनि लाखौं बजेटमा गरिने कामभन्दा कम नहुनुलाई मैले आफ्नो सफलता ठानेको छु । 

किताब र बौद्धिक क्षेत्रमा कार्टेलिङ र माफियागिरी चलिरहेको छ रे नि ?

अवश्य हो । यो समस्यालाई चिर्न सक्नु पर्दछ । 

तपाईका किताब खासै चर्चित छैनन् नि ? 

आफ्नो पृष्ठभूमि पत्रकारिता नै भएका कारण किताब मात्रै नभएर हरेक कुरा चर्चित हुनु र नहुनुको अन्तरवस्तुबारे राम्रोसँग अवगत छु । मेरा पुस्तकहरू चर्चित नभएका हुन सक्छन् तर बिक्छन् । पढ्न चाहने व्यक्तिले खोजी खोजी पुस्तक किनेर पढ्दै आएका छन् ।

समाजमा कस्ता किताब बढी बिक्छन् भन्ने लाग्छ ?

समाजमा हरेक किताबको आ–आफ्नै बजार रहेको पाइन्छ । म गैर आख्यान क्षेत्रमा छु र यसअन्तर्गतका इतिहास, संस्कृति, दर्शन जस्ता किताबले पनि बजारमा राम्रै  स्थान पाएको देख्छु । तर, पत्रपत्रिकाहरूमा विशेषतः कथा, कविता र उपन्यासकै बढी चर्चा किन हुन्छन् भन्ने कुरा ताज्जुबको विषय हो । 

किताब लेखेर बाँच्न सकिन्छ त ?

किताब लेखेर बाँच्न सक्ने अवस्था देख्छु, र त यही पथमा लागिरहेको छु । 

समाजमा पठन संस्कार अलिअलि बढेका कारण फाइदा लिनुभएको छ कि छैन ?

पठन संस्कार बढेका कारण यसमा लगानी गर्न हिच्किचाउनु परेको छैन । 

(साभार : शुक्रवार साप्ताहिक २५ अक्टोवर, २०१३)

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्