समाज » अन्तर्वार्ता


 

बलात्कृत हुँदैमा जीवन समाप्त हुँदैन : सुम्निमा तुलाधर


October 8, 2013, Tuesday

एउटै क्षेत्रमा लगातार २६ वर्ष सक्रीय रहनु कम्ती कुरा होइन । अधिकारकर्मी सुम्निमा तुलाधर बालबािलकादेखि किशोर किशोरीको हक अधिकार, संरक्षण, वृत्तिविकास, शिक्षाजस्ता क्षेत्रमा विशेष रुपले सक्रिय हुनुहुन्छ । बालमजदुर सरोकार केन्द्र (सिविन–नेपाल) को स्थापना कालदेखि नै संलग्न उहा“ हाल कार्यकारी संयोजक हुनुहुन्छ । वर्तमान अवस्थामा बालबालिका तथा अन्य कुरामा काम गर्नु सहज भएपनि बालअधिकारको अवधारणा स्थापना नै नभएको अवस्थामा यस क्षेत्रमा लागेर बालबालिकासम्बन्धी अधिकारका लागि मन्त्रालय स्थापनादेखि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनका लागि वकालत गर्दै अगाडि बढ्नु तत्कालिन अवस्थामा सहज थिएन । 

निर्दलीय र निरंकुश पंचायती व्यवस्थाको अन्त्यका लागि २०४६ सालमा भएको जनआन्दोलनमा साहित्यकार तथा कलाकारहरुको प्रत्यक्ष सहभागिता रहेको ‘चैत्र ३’ गते बाल साहित्यकारका रुपमा सुम्निमा तुलाधर पनि सहभागी हुनुहुन्थ्यो । प्रहरी दमनका क्रममा अरु साहित्यकार तथा कलाकारहरुलाई जस्तै हिरासतमा उहा“लाई पनि लिइएको थियो । गिरफ्तारमा परेकामध्ये सबैभन्दा कम उमेरकी सुम्निमाले प्रहरीलाई जवाफ दिने क्रममा पनि हाकाहाकी बोलेर  सबैलाई अचम्मित तुल्याउनु भएको थियो । अधिकारकर्मीको छनक किशोरी अवस्थामैं देखिएको व्यक्तित्व सिविनमा राम्रैस“ग उजागर भएको पाइन्छ । बालबालिका तथा किशोरकिशोरीका विविध पक्षलाई लिएर कार्यकारी संयोजक तुलाधरस“ग अमिका राजथलाद्वारा गरिएको कुराकानीः

 

२६ वर्ष बालबालिकाको क्षेत्रमा काम गर्दाको अनुभव कस्तो रह्यो ?

यो यात्रा धेरै उत्साहप्रद छ । बालबालिकाको अधिकारको विषयवस्तु कसैको नजरमा थिएन, जब सिविनले बालअधिकारको  कुरा उठाएको थियो । बालबालिकालाई दयाको पात्रको  रुपमा लिइन्थ्यो । उनीहरुको पनि अन्य मानिससरह अधिकार हुनुपर्छ भन्दा मान्छेहरु पत्याउँदैनथे । सिविनको स्थापना हुँदा बालअधिकारका सम्बन्धमा संयुक्त राष्ट्रसंघीयको महासन्धि (सिआरसी) पनि पारित भएको थिएन । यद्यपि, बाल विकासका शिक्षा, स्वास्थ्यका कार्यक्रमहरु त थिए तर जोखिम परिस्थितिका श्रम क्षेत्रमा शोषित, बेचविखन, यौनशोषण, सडक बालबालिका, विद्यालयभित्र हुने बालदुव्र्यवहारका विषयमा कुनै पनि अनुसन्धान तथा अधिकारपक्षीय हिसावमा काम भएको थिएन । बालबालिकाको नीति पनि थिएन भने अहिले धेरै परिवर्तन भएको छ । र यो परिवर्तन बालबालिकाले आफ्नो जीवनमा भोगिरहेका छन् । अहिले बालबालिकालाई हेर्ने सरकारी निकाय केन्द्रिय बालकल्याण समिति, बालअधिकार अधिकृत छन् । सीमान्तकृत क्षेत्रका बालबालिकाहरुमा पुग्ने निकायहरु, संघसंस्था र सामाजिक कार्यकर्ता पनि तयार भएका छन् ।

बालबालिकालाई कल्याणकारी दृष्टिकोणबाट हेर्ने तत्कालीन अवस्थामा अधिकारको दृष्टिकोणबाट अगाडि बढ्न केही समस्या थियो ? अहिले तपाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

बालबालिका समाजको अभिन्न अंग हुन् । बालअधिकार हुन्छ र त्यो प्रत्याभूति गर्ने राज्य, वयस्क, परिवारको दायित्व हो भन्ने गौरीजी (संस्थापक अध्यक्ष गौरी प्रधान)ले  सोच ल्याउनुभएको थियो । राजनीति पार्टी प्रतिबन्धित भएको अवस्थामा यो कुरा गर्दा समाजलाई पच्दैन कि भन्ने त लागेको थियो । देशमा प्रजातन्त्र आएको छैन, बालअधिकारको कुरा कहाँ सुहाउँछ, समय सापेक्ष भएन भन्ने कुरा आयो । निरंकुश पंचायती सरकारले बालअधिकारका कुरालाई सरकार विरोधी काम हो भन्ने अवधारणा लिएको हुनुपर्छ । सिविनलाई सामाजिक संस्थाको रुपमा दर्ता हुन गाह्रो थियो । जनमानसमा बालबालिकालाई हेर्ने कल्याणकारी सोच नै थियो । बालबालिका भनेको सबैले माया गर्नुपर्छ, यो भगवान्को अवतार हुन् भन्ने अनेक विश्लेषण गरिन्छ । 

तर साँच्चै बालबालिका शोषित, पीडामा, बेचिएका छन् भने माया बाँडेर मात्र यो समस्या समाधान हुँदैन । यही कुरा नीतिनिर्माण तहमा पु¥याउन धेरै चुनौती थियो । यसका बावजुद बालबालिकाका पक्षमा आवाज उठाउँदै ग¥यौं ।  गाउँगाउँमा अभियान ग-यौं, बालबालिकाको घर, अभिभावक, शिक्षक, महिला आन्दोलन, प्रहरी समक्ष पुग्यौं । बालअधिकारको सवाललाई ग्रामिण तहबाट नीति निर्माण तहसम्म छलफलको विषय बनायौं । विवादलाई सुल्झाउने प्रक्रियामा लाग्यौं । यो अभियानलाई कहिल्यै पनि नकारात्मक रुपमा अगाडि बढाएनौं । ठूला आन्दोलनबाट अमूल्य सहयोग प्राप्त ग-यौं । बालबालिकाको सबै विषयवस्तुलाई समाजको सामीप्यतामा लानुपर्छ । बालबालिकाको अधिकार भनेको यो क्षेत्रमा काम गर्ने संस्था, मन्त्रालय मात्र जिम्मा नभएर सबैको सरोकार बन्नुपर्छ भनेर नारा नै बालअधिकार सबैको सरोकार भन्ने नारा ल्यायौं । महिला, ट्रेड, विद्यार्थी आन्दोलन सबैको साथ र एक्येवद्धता पाउँदा ठुलो चुनौती पार गरी बालबालिकाको क्षेत्रमा अडिग रहेर काम गर्न सफल भयौं ।

पञ्चायती व्यवस्था हुँदा काम गर्दा परेका अप्ठ्यारालाई कसरी सम्झनुहुन्छ ?  

कार्पेटमा काम गर्ने बालश्रमिकको बारेमा सिविनले अभियान अगाडि ल्यायो र राष्ट्रिय स्तरमा गरिएको अनुसन्धानले ५० प्रतिशतभन्दा बढी बालबालिकाहरु कार्पेटमा कार्यरत छन् भन्ने रिपोर्ट आयो । कार्पेट उद्योगमा ल्याउने बहानामा ल्याइसकेपछि बालिकालाई भारतको कोठीसम्म बेचिदिनेदेखि लिएर त्यहाँ उद्योगभित्र नै ठुला व्यक्तिद्धारा यौनशोषण भएको, बालिकाहरु ‘अर्ली पे्रगिनेन्सी’ भएका थुप्रै समस्या थिए । त्यसपछि कार्पेट उद्योगलाई डुवाउने प्रयास भयो भन्ने सरकारबाट विरोध भयो । काठमाडौं मोडल अस्पतालसँग मिलेर हेल्थ क्याम्प ग¥यौं । टे«ड युनियनकर्तासँग श्रमअधिकारको कुरा राख्यौं । सबै पक्षसँग हामीले काम गर्ने भएर हामीसँग ठोस सूचना पनि थियो । हामी वार्ताको माध्यमबाट द्वन्द्वको कन्सेप्टलाई रुपान्तरण गर्न सफल भयौं । सरकारले कार्पेटमा काम गर्ने व्यापारी पक्ष, वातावरण र सामाजिक संस्थामा काम गर्नेसँग राखेर एउटा निकायको गठन भयो, जहाँ सर्वपक्षीय निकायको गठन भयो । कार्पेट उद्योगमा १४ वर्षमुनिका बालबालिकाहरुको श्रम घट्दै गयो । अहिले बालश्रमको छुटै कानुन छ । अहिले ठूला संस्थामा हामीले बालश्रमिकहरु पाउँदैनौं ।

सिविनको स्थापना नै बालमजदुरको सरोकारमा केन्द्रित थियो । यही उद्देश्यका साथ काम पनि भएको छ ? यो क्षेत्रमा बालिकाहरु संरक्षित भएर काम गर्ने वातावरण कस्तो छ ? 

अझ पनि बालिकाहरु बढी शोषित छन् । अझै पनि बालिका विवाहको प्रतिशत बढी छ । ४० प्रतिशत बालिकाहरुको विवाह १८ वर्ष मुनि भएको पाइन्छ । श्रमक्षेत्रमा बालिकाहरु बालकभन्दा बढी काम गर्ने गरेको तथ्यांक छ । जोखिम परिस्थितिका बालिकाहरु सामाजिक, रुढिवादी अन्धविश्वासको चपेटामा छन् । सहरी क्षेत्रमा पनि बालिकाहरु नछुने भए किचनमा छिर्न नदिनेजस्ता सामाजिक, आर्थिक विषयवस्तुले बालिकाहरुलाई पुरुषसरहको दौडमा सहभागी हुन नदिने प्रबृत्ति छ । समाजमा जबसम्म महिलाहरु आर्थिक रुपले सशक्त हुन सक्दैनन्, बालिकाहरुको पनि अवस्था त्यही रहन्छ । त्यसैले महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणमा पनि ध्यान दिनु जरुरी छ । 

राष्ट्रिय योजना आयोगले  किशोरकिशोरीको समग्र विकासका लागि राष्ट्रिय कार्ययोजना ल्याए जस्तै बालबालिकासम्बन्धि कार्ययोजनाले बालिकाहरुको बारेमा केही बोलेको छ ?

बालबालिकासम्बन्धि कार्ययोजना बनेको १० वर्ष हुन लाग्यो । योजना बनाउँदा पाँचै विकास क्षेत्रका बालबालिकासँग छलफल भएको थियो । योजनालाई व्यवहारमा उतार्न सशक्त संरचना बन्नुपर्ने हो, तर भएन । कार्ययोजनामा बालिकाको पक्षमा  थुप्रै गतिविधि थिए । तर त्यसलाई कार्यान्वयन गर्ने बजेट नै नछुट्याउँदा कार्यान्वयन भएको छैन, यस्तो नहुनु भनेको राज्यस्तरबाट प्रतिबद्धता नभएर नै हो ।

सहभागिताकै मामिलामा बालबालिकाको अवस्था कस्तो पाउनुभयो ?

राष्ट्रिय स्तरमा पनि महिलाको सहभागिताको लागि अहिले लडिरहेका छौं । बालिकाहरुको पनि बालकको भन्दा पछाडि नै परेको छ । सामाजिक, मानिसको व्यावहारिक परिवर्तन ल्याउन धेरै समय लाग्छ । बालिकाहरुको अर्थपूर्ण सहभागिताको लागि कतै जान हिंडडुलमा पावन्दी छ । आवतजावतको स्वतन्त्रतालाई संकुचित बनाएको छ । बालिकाहरुको सुरक्षित वातावण बन्न सकेको छैन । यसमा अभिभावकलाई मात्र दोष दिन मिल्दैन । पठाए कसैले बालिकालाई नराम्रो दृष्टिकोणले हर्ने डर छ, बालिका तथा किशोरीको सुरक्षाको व्यवस्था छैन । बालिकालाई सहभागी बनाउन वयस्क र सरकारले अझ बढी काम गर्नुपर्छ । बालिकाको समान सहभागिताको लागि स्रोत साधन जुटाउनैपर्छ । बालिका सशक्तिकरणको लागि हामीले १९९३ देखि सिविन बालिका भन्ने कार्यक्रम चलाउँदै आएकाछौं । परिवर्तन हासिल गर्नका लागि जहाँ बालिकाको समस्या छ त्यहाँ पुग्नुपर्छ । बालिकाहरुले किशोरी समूह गठन गर्छ । उनीहरुले आफनो समुदायमा बालिका शिक्षा, अधिकार, शोषण विरुद्ध आफै जागरुक भएर अभियान चलाउँछन् । उनीहरुले चलाएको अभियानले हासिल भएको परिवर्तन दिगो हुन्छ । बालिका विरुद्ध हिंसाको कमी गर्ने, प्रहरीमा रिपोर्ट दिने, बालिकालाई शिक्षा दिने काम आफैले गरेका हुन्छन् ।

बालिका तथा किशोरीहरू आफ्नै परिवार तथा नातेदारबाट बलात्कृत भएका घटनाहरू सार्वजनिक भएको छन् । यो अवस्थालाई यहाँले कुन रुपमा लिनुभएको छ, यो क्रम रोक्न कुन निकायबाट के गर्नुपर्छ ?

बालिकाविरुद्ध हुने यौनदुव्र्यवहारमा समाज चुप बस्छ । इज्जत जोगाउन यथार्थ कुरा भन्दैनन् । बालिकाहरुले पनि  डर हुन्छ भनेर भन्दैनन्, भनेमा आफै लज्जित हुने अवस्था सामाजिक संरचनाका कारण पीडकलाई प्रशय दिने वातावरण छ । यो संरचनामा समाज, परिवार नै जिम्मेवार पक्ष हो । बालिकाविरुद्ध हुने हिंसा शक्ति, पैसा, सम्बन्ध नै शक्तिको केन्द्र हुन जान्छ । यसलाई तोड्न जरुरी छ । फास्ट ट्रयाक कोर्टको अभियान चलाए पनि हुन सकेको छैन । 

पढेलेखेकाले पनि महिला हिंसा महिला आफैले निम्त्याउँछन् भन्ने दोष थोपरिन्छ । छोटो लुगा लगाउने, बढी मेकअप गरेर हिंसा निम्तियो भन्नु पीडकहरुलाई संरक्षण दिने सामाजिक प्रवृत्ति मात्र हो । केटाले पनि गन्जी र हाफ पाइन्टमात्र लगाउँदा केटीले यत्तिकै बलात्कार गर्न त जाँदैन । यौनको चाह महिलालाई पनि पुरुष बरावर नै हुन्छ, तर त्यो गरिँदैन । समाजको शक्तिको स्वरुप पुरुषले महिलालाई तर्साउन सक्छ भन्ने सोचको कारणले बालिका–किशोरी पीडित छन् । हामी बालिकालाई ‘मेरो जिउ, मेरो अधिकार’ भन्ने कुरा सिकाउँछौ, कमर्सियल सेक्स वर्करले पनि नाइँ भने अरुले छुन पाउँदैन, उसको अधिकारको विषय हो । त्यो विषयवस्तुमा हाम्रो समाज जानकार छैन । बालिकाहरु आफ्नो अधिकार बुझ्ने गरी सशक्त हुनुप¥यो । 

घटना विशेषलाई सम्झन सक्नुहुन्छ ?

विश्वास पात्र बनाएर नातेदारद्वारा नै बलात्कार गरिन्छ । अपराधीलाई राजनीतिक संरक्षण दिनाले पीडित, अभिभावक र बालिकाको पक्षमा बोल्ने संघसंस्थालाई डर, धम्की दिएको पाइन्छ । वर्षमा १५० जति यौन दुव्र्यवहारका घटनाहरु सिविनको बाल हेल्पलाइनमा दर्ता हुने गर्छ । एक बालिकाको लागि ४ वर्ष भयो केस लडेको । बालिकाबाट एसएलसी दिने बेला भयो । यतिन्जेल ऊ गाउँमा बसेको भए उसको संरक्षण कसले गथ्र्यो । पीडकबाट पैसाको लोभ दिने, आमा एकल हुनुहुन्छ दुःख गरेर अर्को २ बच्चालाई पाल्नुपर्छ भने उनले कसरी मुद्दा खेप्ने ? हामी प्रहरीको संरक्षण माग्छौ तर त्यसले १० वर्षसम्म सुरक्षा दिन्छ कि दिँदैन ? जोखिम परिस्थितिकालाई कानुनी दायरामा मुद्दा लड्न अर्को बर्डन थपिन्छ । सामाजिक पुर्नस्थापनको जिम्मा सरकारले लिनुपर्छ । एनजीओले पनि गर्छन् तर हाम्रो रेस्ट्रिक्सन हुन्छ । बलात्कृत हुँदैमा जीवन समाप्त हुँदैन । बलाात्कृत हुँदा अस्मिता, जीवन नै बर्वाद भयो भन्ने किसिमको सामाजिक अवधारणा पाइन्छ, यो अवधारणामा त्याग्नुपर्छ,  त्योभन्दा माथि आएर सोच्नुप¥यो ।

अरु केही ?

बालिकासँग काम गर्दा संवेदनशील भएर काम गर्नुपर्छ । बालकहरु पनि यौन शोषणमा परेका हुन्छन् । फरक शारीरिक संरचना, बौद्धिक सोचका कारणले त्यस्तै प्रकारको कार्यक्रम हुनुपर्छ । उनीहरु बाहिर जाँदा बलात्कृत हुन्छन् भन्ने सोच हटाउनुप-यो, किशोर–किशोरीलाई सशक्त बनाउनु प-यो, शिक्षा, सीपजस्ता कुराले । शिक्षाले अधिकारका, संरक्षित हुने उपाय सिकाउँछ भने प्रतिस्पर्धी वातावरणलाई पनि बढावा दिइरहेको हुन्छ । यसले समाजमा धेरै परिवर्तन ल्याउँछ ।

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्